समाज

कारागारभित्र कैदी बन्दीमाथि अमानवीय व्यवहार !

सधैँ पार्टी प्यालेस र बार एसोसिएसनमा तीज विशेष कार्यक्रम गरी मनाउँदै आएका मोरङका महिला कानुन व्यवसायीले फरक ढंगबाट तीज विशेष मनाए।

उनीहरुले यस पटक फरक तरिकाले तीज विशेष मनाउने क्रममा मोरङ कारागारमा रहेका महिला कैदीबन्दीहरुसँग बसेर मनाए। उच्च अदालत विराटनगर बार एसोसिएसन महिला समितिले कारागारभित्रै औपचारिक कार्यक्रम गरेर तीज विशेष कार्यक्रम गरेका थिए। औपचारिक कार्यक्रम सकिए लगत्तै मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रप्रसाद यादवले महिला कैदीबन्दीहरुलाई जेलभित्र भएका समस्या सुनाउन आग्रह गरे।

उनले, ‘यहाँ विभिन्न निकायबाट व्यक्तिहरू आउनु भएको छ। केही मनमा लागेका छन् भने भन्नु।’

कार्यक्रममा उच्च अदालत विराटनगरका निमित्त कायममुकायम मुख्य न्यायाधीश दिनेश यादव, न्यायाधीश किरणकुमारी गुप्ता, मोरङ जिल्ला अदालतका न्यायाधीश रोमनाथ अधिकारी, उच्च सरकारी वकिल कार्यालय विराटनगरका प्रमुख एवं सह न्यायाधिवक्ता कोषहरि निरौला लगायत कानुन व्यवसायीको उपस्थिति थियो।

महिला कैदी बन्दी मध्ये २/३ जनाले मात्रै भित्र भोग्दै आउनु परेका समस्या सुनाएका थिए। अन्य केही बोल्न खोज्दै गर्दा जेल प्रशासन र सुरक्षाकर्मीले, ‘अब भयो उहाँहरुले भित्रका समस्या सुनाइसक्नु भयो कुरा यस्तै नै हो,’ भन्दै अरुलाई बोल्नबाट वञ्चित गरेका थिए। उनी आफ्नो व्यक्तिगत र कारागारभित्र भोग्दै आएको पीडा सुनाए पनि ठोक कुरा नभनी प्रजिअ यादवले ‘तपाईंहरुको कुरा नोटिस भयो’ मात्रै भनेर बाहिरिएका थिए।

भित्र भोग्दै आएका समस्या तथा पीडा सुनाए पनि उनीहरुमा डर त्रास थियो। पीडा सुनाए पनि नसुनाए पनि कुनै न कुनै समय भित्र कुटाइ लगायतका पीडा भोग्न बाध्य हुइन्छ भन्ने नै थियो। उनीहरु सबैको साझा पीडा वा समस्या नियमित कुटाइ खानु, राम्रो सुत्न नपाइनु, शुद्ध पिउने पानी खान नपाउनु जस्ता अनेकौँ समस्या सुनाए।

उनीहरुले सुनाएका यी समस्या बाहेक अन्य समस्या र पीडा बाहिर निकाल्छन् वा भन्छन् भन्ने डरले जेल प्रशासन र सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीका प्रमुखले अन्य महिलालाई बोल्न दिएनन्।

धरानकी ३५ वर्षीय गंगाकुमारी खड्काले आफ्नो ५ वर्षीय छोरालाई देखाउँदै भनिन्, ‘मैले पो अपराध गरेको हुँला तर मेरो छोराले त होइन नि। उसले जन्मँदै जेल जीवन बिताउन सुरु गरेको मात्रै नभई यहाँभित्र ठुलो पीडा सहेर बस्न बाध्य भएको छ।’ मेरो श्रीमान् पनि जेलमै हुनुहुन्छ उनले भनिन्। 

छोराले कुनै पनि अपराध गरेको छैन। किन उसलाई जेलभित्र राखेर सानैदेखि पीडा दिनुहुन्छ ? रुँदै खड्काले भनिन, ‘मेरो छोरालाई जसरी भए पनि जेलभित्रको पीडादायी अवस्थाबाट बाहिर निकाली दिनुहोस्। उसको पढ्ने समय भइसक्यो। छोरोको जिम्मा लिने मेरा आफन्त कोही पनि छैनन्। घरमा श्रीमानकी जेठी श्रीमती छिन्। उनलाई छोरा लैजान भन्दा उल्टै तथानाम गालीगलौज गरिन्।’

छोरा सानो भएकाले के खान हुने वा नहुने थाहा छैन। कारागारभित्र छोरालाई पिट्छन्, नजिकै बसेर चुरोट खैनी खान्छन्, चुरोटका ठुटाहरु त्यहीँ फ्याँक्ने गरेको बताउँदै, खड्काले भनिन्, ‘फ्याँकिएको चुरोटका ठुटाहरु टिपेर खाने, फाल्ने डर पनि उस्तै छ। कारागारभित्र खैनी चुरोट लैजान पाइँदैन। तर कारागारभित्र चौकीदार, नाइके, भाइ नाइके र आसेपासेलाई लैजान र खान छुट छ। अरूले पनि पाउँछन् तर महँगो मूल्यमा। छोरालाई बाहिर राखेर पढ्ने व्यवस्था मिलाइदिन अनुरोध गर्दछु।’

यहाँ राम्रोसँग सुत्न र शुद्ध पिउने पानी पिउन नपाइने उनले बताइन्। सवारी ज्यान मुद्दामा कारागारमा रहेकी शान्ति कुमारी मुखियाले कारागारभित्र बाँच्नलाई निकै गाह्रो भएको बताइन्।

आफ्नो घरमा साना बालबच्चा बाहेक अरू कोही नभएको बताउँदै, मुखियाले भनिन्, ‘साना मेरा बच्चा छन्। उनीहरुको पालनपोषण गर्ने मै मात्रै हुँ। घरमा कोही पनि छैन। साना बच्चाहरु कसरी बसेका होलान्। यहाँ बस्न निकै गाह्रो छ। सबै जना देख्नेले पनि मेरो सिटी सफारीले ठक्कर दिएर मारेको होइन भन्दाभन्दै पनि जेल हाले।’

उनले पनि जेलभित्र वातावरण राम्रो नभएको बताइन्। सधैँ पीडामा बस्नु पर्छ। न त राम्रोसँग सुत्न पाइन्छ, न त राम्रो पानी नै खान पाइन्छ उनले भनिन्।

त्यस्तै, कोशी प्रदेशसभाकी पूर्व सदस्य गुलेफुन खातुनले कारागारमा सुत्न नपाउने र खानेपानीको सुविधा पनि नभएको बताएकी थिइन्। हुने खानेका लागि कारागार राम्रो भएको बताएकी खातुनले भनिन्, ‘हुने खानेहरुका लागि राम्रो छ कारागार नहुनेहरुका पीडादायी अवस्था छ। सबैभन्दा बढी समस्या खानेपानीको छ। एउटा मात्रै धारा छ। चापाकल छ, तर बिग्रेको बनाउन सकेको छैन। राति सुत्नका लागि समस्या छ। सुत्न ३ जनासम्म कोचिनु पर्छ।’

अन्य धेरैको पनि साझा समस्या रातभरि सुत्न नपाउनु, शुद्ध पिउने पानी नपाउनु र भित्र हुने पीडा भोग्न बाध्य हुनु नै रहेको बताएका थिए। राति १२ बजेपछि अनुगमन गरेमा कारागारभित्रको दुःख पीडा र यातना प्रष्ट हुन्छ। भित्र र बाहिर चाबी लगाइन्छ। हामीभित्र छिर्न र सुत्न पाउँदैनौँ। रातभर खुला आकाशमुनि भुईँमा सुत्नुपर्ने अवस्था रहेको बताए।

महिला ५० र पुरुष २ सय ७५ गरी ३ सय क्षमता रहेको कारागारमा १ हजार ५५ जना कैदी बन्दी छन्। ती मध्ये ९ सय ४८ पुरुष र १ सय २ महिला छन्। ५ जना नाबालक पनि कारागारमा छन्।

कारागारभित्र ठुलो बेथिति रहेको एक जना सुरक्षाकर्मीले बताए। कारागारभित्र कैदी बन्दीमाथि हुने अमानवीय व्यवहार रोक्न कसले पहल गर्ने हो ? उनले भने, ‘चौकीदारको समूहको धम्की, डर र त्रासकाबीच बस्न बाध्य भएका छन्। कसले कहाँ कसरी आफ्नो पीडा पोख्ने ?। डर र त्रासका बिच केहीले बोल्ने हिम्मत गरे। उनीहरुले बेलुका भोग्नु पर्ने पीडा कसलाई थाहा होला ?’

सबै सेवा सुविधाका साथ बसेका चौकीदारको समूहले कैदी बन्दीसँग रकम असुली गर्ने, रकम बुझाउन नसक्नेले कुटाइ खानुका साथ खान र सुत्न नदिने लगायतका पीडा भोग्दै आएका छन्। 

कैदी बन्दीसँग चौकीदार समूहले रुपैयाँ उठाउने गरेका छन्। त्यो उठाएको रकम कस–कसलाई दिन्छन् या आफैँले मात्रै लिन्छ यकिन छैन, एक सुरक्षाकर्मीले भने। यस्तो प्रकारको विकृति पुरुष कारागारमा रहेको यसअघि बाहिर आएको थियो।

कारागारभित्र चुरोट र खैनी लैजान प्रतिबन्ध छ। तर, कारागारभित्र चौकीदार, नाइके, भाइ नाइके र उनीहरुका आसेपासेलाई लैजान तथा खान छुट भएको कैदी बन्दीहरुले बताएका छन्। त्यहाँभित्र खानेले महँगो मूल्य तिर्नुपर्ने हुन्छ। त्यसको विरोध गरेमा चौकीदारको समूहबाट कैदी बन्दीमाथि आक्रमण गर्ने र यातना दिने काम हुन्छ।

कारागारका निमित्त जेलर एवं नायव सुब्बा तुलसी पौडेलले चौकीदार र उनको समूहसँग बसेर छलफल गरिएको बताए।

‘हामीसँगको छलफलमा यातना दिएको र कुटपिट गरिएको छैन भन्छन्। सक्दो सहयोग गरिरहेको बताउँछन्,’ पौडेलले भने, ‘कसरी कुरा आयो भनेर थप बुझ्दैछौं। हाम्रो वकिल बाहिर भएकाले आइपुगेपछि अरू प्रक्रिया अघि बढाउने विषयमा कुरा गर्छौँ। कारागारभित्रका कुनै पनि कैदी बन्दीका बारेमा निर्णय लिँदा कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।’

कारागारको सुरक्षार्थ रहेका सशस्त्रका डिएसपीमाथि छानबिन समिति 

मोरङ कारागारको सुरक्षा प्रमुखका रुपमा रहेका सशस्त्र प्रहरीका डिएसपी दिलबहादुर रायमाझीमाथि छानबिन थालेको छ। कारागारभित्र सशस्त्र प्रहरीको भूमिका शङ्कास्पद रहेको कुरा बाहिरिएपछि सशस्त्र प्रहरी कोशी प्रदेशले एसपी विक्रम होमागाईंको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ।

सशस्त्र प्रहरीका कोशी प्रदेश प्रमुख डिआइजी अञ्जनीकुमार पोखरेलका अनुसार एसपीको नेतृत्वमा कारागारका डिएसपी रायमाझीमाथि छानबिन थालिएका हो। सोमबारदेखि काम थालेको समितिले कारागारभित्र सशस्त्र प्रहरीको भूमिका र रायामाझीको भूमिका लगायतका विषयमा छानबिन गर्ने र त्यसको प्रतिवेदन ५ दिनभित्र बुझाउनु पर्नेछ।

प्रकाशित: २५ भाद्र २०८० १५:२६ सोमबार