समाज

बाँके निकुञ्ज आउने पर्यटकको रोजाईमा ‘चुरे हाईक’

बाँके राष्ट्रिय निकुञ्जमा ‘चुरे हाईक’ गर्न निस्केका आन्तरिक पर्यटक। तस्बिर: गाभर भ्याली

बर्खायाम भएपनि बाँके, चिसापानीका होमस्टे ब्यवसायी कृष्ण चौधरीलाई पर्यटक घुमाउन भ्याई–नभ्याई छ। बाँके राष्ट्रिय निकुञ्जको ‘चुरे हाईक’ गर्नका लागि बिदा मिलाएर पर्यटकहरु गाभर भ्याली पुग्छन्। गाभर भ्याली होमस्टेबाट उनीहरुलाई चुरे पहाडको चुचुरोसम्म पुर्याएर ‘हाईक’ गराईन्छ। पहाडको चुचुरोमा पुगेपछि पर्यटकहरुले आनन्दको अनुभुति गर्छन्।

‘बिदाको दिन पारेर पाहुनाहरु प्रायः चुरे हाईक गर्न आउनुहुन्छ, उहाँहरुलाई हामी समूह बनाएर चुरे पहाडको चुचुरोसम्म लैजान्छौं,’ होमस्टे महासंघ नेपालका महासचिव एवम् गाभर भ्याली होमस्टे व्यवस्थापन समितिका अध्यक्ष चौधरीले नागरिकसँग भने, ‘बर्खाको सिजन भएपनि हामीलाई कुनै समस्या छैन, चुरे हाईक बाँके राष्ट्रिय निकुञ्ज प्रख्यात भईसकेको छ।’

मुलुकभर रहेका प्रायः राष्ट्रिय निकुञ्जमा पर्यटकको चहल पहल त्यति हुदैन। तर, बाँके राष्ट्रिय निकुञ्जको भौगोलिकतामा विविधता रहेकाले निकुञ्जभित्र बाह्रै महिना पर्यटकलाई घुमाउन सकिने पर्यटन ब्यवसायी चौधरी बताउँछन्। उनले थपे, ‘बर्खायामको सिजनमा प्रायःजसो निकुञ्जमा पर्यटकको चहल पहल नै हुदैन, बर्खायाम अफ सिजन मानिन्छ, तर हाम्रो यहाँ जुनसुकै सिजनमा पनि घुम्न आउने पर्यटकको कमी हुदैन, यहाँ आउने पर्यटकहरु घुम्न नपाएर त्यसै फर्किनु पर्दैन, बर्खायाममा हामी पर्यटकलाई चुरे हाईक गराउँछौं, अरु बेला जंगल सफारी गराउँछौं।’

चुरे हाईक गर्न आउने पर्यटकहरु प्रकृतिसँग असाध्यै रमाउने गरेको उनले सुनाए।  ‘उकालो–ओरालो हिड्ने, विभिन्न वन्यजन्तु र वनस्पति देख्न पाईने, मौसम र प्रकृतिबाट आनन्द लिन पाउने हुँदा हाम्रा पाहुनाले छुट्टै किसिमको आनन्दको अनुभुति गर्नुहुन्छ।’

चुरे हाईक गर्न पर्यटकहरु गत साउन महिनादेखी आउन सुरु गरेका हुन्। आगामी शनिबारका लागि चुरे हाईक गर्न १५ जनाको टोलीले अग्रिम नाम दर्ता गराईसकेको रभ्याली होमस्टे व्यवस्थापन समितिले जनाएको छ। उनीहरुका लागि विशेष प्याकेजको ब्यवस्था गरिएको छ।

‘हामी उहाँहरुलाई बिहान ७ बजे नास्ता खुवाएर चुरे हाईकमा लैजान्छौं, उहाँहरुलाई चुरे पहाडमै खाना खुवाउँछौं, नेचर गाईड शुल्क र निकुञ्ज प्रवेश शुल्क समेत गरेर १० जनाभन्दा बढी संख्यामा आउने समुहसँग प्रतिब्यक्ति एक हजार रुपैयाँ मात्रै लिन्छौं,’ चौधरीले भने ‘उहाँहरुलाई हामी बिहान ७ बजे चुरे लैजान्छौं र दिउँसो २ बजे फर्काएर ल्याउँछौं।’ उनका अनुसार गत साउन महिनायता थुप्रै संख्यामा पर्यटकहरु आएर चुरे हाईक गरिसकेको बताए। चुरे हाईकका लागि साउनदेखी कात्तिक महिनासम्म उपयुक्त मानिने पर्यटन व्यवसायी बताउँछन्।

२०६७ साल असार २८ गते स्थापना भएको निकुञ्जको क्षेत्रफल ५ सय ५० वर्ग किलोमिटर रहेको छ। यस्तै निकुञ्जको मध्यवर्ती क्षेत्रको क्षेत्रफल भने ३ सय ४३ वर्ग किमी छ। नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धता अनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले बाँके, दाङ र सल्यानलाई क्षेत्र समेटेर नेपालको दशौं राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो।

निकुञ्जको पूर्वी सिमाना शिवखोला, पश्चिम कोहलपुर सुर्खेत राजमार्ग, उत्तर चुरे पर्वत र दक्षिण पूर्व–पश्चिम राजमार्ग रहेको छ। पाटेबाघ र हात्तीको महत्वपूर्ण वासस्थानका रूपमा रहेको निकुञ्जमा जैविक विविधताको दृष्टिले ८ वटा इकोसिष्टम, २ सय ६४ प्रजातिका वनस्पति, ३४ प्रजातिका स्तनधारी जीवजन्तु, ३ सय भन्दाबढी प्रकारका चरा, २४ प्रजातिका सरीसृप, ५५ प्रजातिका माछा, ९ प्रजातिका उभयचर जीव पाइन्छन्। सन् २०२२ को गणना अनुसार उक्त निकुञ्जमा पाटेबाघको संख्या २५ पुगेको छ। जबकी सन् २०१३ मा पाटेबाघको संख्या ४ मात्रै रहेको थियो।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्यामकुमार शाहले प्रकृतिसँग रमाउने पर्यटकका लागि यस निकुञ्ज ‘घुम्न लायक’ रहेको बताए। मुलुकभित्र रहेका एक सय वटा पर्यटकीय गन्तब्यहरु मध्ये बाँके राष्ट्रिय निकुञ्ज ५७ औं स्थानमा रहेको उनले सुनाए। ‘हामीले निकुञ्जभित्र पुर्वाधार निर्माणसँगै पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गरिरहेका छौं,’ शाहले भने ‘पर्यटकहरु निकुञ्जमा घुम्न आईसकेपछि उहाँहरुले रमाईलो अनुभुती पक्कै गर्नुहुन्छ।’

प्रमुख संरक्षण अधिकृत शाहका अनुसार निकुञ्ज कार्यालयले ४ सय हेक्टर घाँसे मैदान निर्माण गरेको छ। यस्तै करिव २ सय किलोमिटर वनपथ र ८० वटा पोखरी बनाएको छ। निकुञ्जमा घुम्न आउने पर्यटकका लागि जंगल वाक (पैदल), जीप सफारी, हात्ती सफारी, चरा अवलोकन, हाइकिङ, होमस्टे, र्याफ्टिङ सुविधा रहेको कार्यालयले जनाएको छ। निकुञ्जमा संरक्षित स्तनधारी वन्यजन्तुमा सालक, हुँडार, चौका, जंगली हात्ती, पाटेबाघ तथा संरक्षित पंक्षीमा राजधनेश, कालो गरुड र संरक्षित घस्रने वन्यजन्तुमा अजिङ्गर र सुन गोहोरो प्रशस्त मात्रामा पाईन्छ।

बाँके राष्ट्रिय निकुञ्जमा पछिल्लो समयमा भएको विकासबाट जिल्लाका पर्यटन व्यवसायी उत्साहित देखिन्छन्। पर्यटन प्रर्वद्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ मुलुककै कान्छो भएपनि बाँके राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटकका लागि धेरै पुर्वाधार बनिसकेको बताउँछन्।

‘पहिलेको तुलनामा अहिले निकुञ्जमा धेरै विकास भइसकेको छ, यसले बाँकेका पर्यटन व्यवसायीलाई उत्साहित बनाएको छ, पर्यटन ब्यवसायीले अब निकुञ्ज क्षेत्रमा आफ्नो लगानी बढाउन सक्छन्, तर निकुञ्ज प्रशासन समन्वय गरेर अगाडी बढ्नुपर्छ,’ उनले भने।

निकुञ्जभित्र अहिले धेरै सुविधा तयार भइसकेको हुनाले पर्यटकहरु घुम्नका लागि अन्य ठाउँमा जानु नपर्ने अध्यक्ष श्रेष्ठले सुनाए।

होमस्टे व्यवसायी चौधरी पनि बाँके राष्ट्रिय निकुञ्ज घुम्न लायक बनिसकेको बताउँछन्। ‘पुर्वाधारका हिसाबले यो निकुञ्ज अब्बल भइसकेको छ, विगतमा पुर्वाधार बनेको थिएन, अहिले पुर्वाधार बनिसकेको छ, अबको काम नै पर्यटकलाई घुमाउने हो,’ चौधरीले थपे।

प्रकाशित: २५ भाद्र २०८० ०८:३४ सोमबार

चुरे हाईक