समाज

कर अधिकृत सापकोटाले रकमको स्रोत खुलाउन सकेनन्, अख्तियारको जिम्मा लगाइयो

नेपालगन्ज विमानस्थलबाट पक्राउ परेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरका कर अधिकृत खगेन्द्र सापकोटालई अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको छ।

आफूसँग रहेको रकमको स्रोत खुलाउन नसकेपछि आवश्यक कारबाहीका लागि उनलाई अख्तियारमा बुझाइएको हो।

श्री एयरलायन्सको उडानबाट नेपालगन्जदेखि काठमाडौँ जाँदै गरेको अवस्थामा सोमवार बिहान उनको झोलामा रहेको २६ लाख नगदसहित प्रहरीले पक्राउ गरेको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता नारायण डाँगीका अनुसार नगदसहित पक्राउ परेका सापकोटालाई जिल्ला प्रहरी कार्यालय पुर्याएर स्रोत खुलाउन समय दिइएको थियो। तर, उनले आफूसँग रहेको रकमको स्रोत खुलाउन सकेनन्।  

‘बरामद गरेको रुपैयाँको स्रोत खुलाउनुस् भनेर हामीले भन्यांै। तर, उहाँले खुलाउन सक्नु भएन,’ डाँगीले नागरिकसँग भने।

रकमको स्रोत खुलाउन नसकेपछि कर अधिकृत सापकोटालाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगन्जमा बुझाइएको डाँगीले जानकारी दिए।

प्रहरीका अनुसार सोमवार बिहान काठमाडौं जाने क्रममा उनले विमानस्थलको स्क्यानिङ मेसिनमा झोला चेक गराउने क्रममा मेसिनले पत्ता लगाएको थियो। सापकोटासँगै रहेका आन्तरिक राजश्व कार्यालय तुलसीपुरकै कर अधिकृत दीपक पौडल भने फरार रहेको प्रहरीले जनाएको छ।  

प्रकाशित: २५ भाद्र २०८० ०६:४८ सोमबार

नेपालगन्ज विमानस्थल आन्तरिक राजश्व कार्यालय तुलसीपुर कर अधिकृत खगेन्द्र सापकोटा