समाज

कम्प्युटरमा गेम खेलेर बस्छन् विद्यार्थी

बागलुङ- जिल्लाको दक्षिण भेगमा इन्टरनेट सेवा विस्तार नहुँदा विद्यार्थीलाई समस्या भएको छ। बढ्दो प्रतिस्पर्धी बजारसँग भिड्ने जनशक्ति उत्पादनका लागि आधुनिक र प्रविधियुक्त पढाई आवश्यक भए पनि त्यस क्षेत्रका विद्यालयहरुले कम्प्युटर विषयको पढाई सञ्चालन गर्न सकेका छैनन्। जिल्लाको जैमिनी नगरपालिका—७ र ८ साविकको जैदी छिस्तीमा ईन्टरनेट पहुँच विस्तार नहुँदा विद्यालयमा जडान गरिएका कम्प्युटरहरु प्रयोग बिहीन बन्दै गएका छन्। सूचना प्रविधिमा विद्यार्थीलाई दख्खल राख्ने बनाउने भन्दै ल्याईएका कम्प्युटरमा विद्यार्थी गेम खेलेर बसेका देखिन्छन् । इन्टरनेटले काम नगर्दा पढाई प्रभावित भएको बसन्त मावि छिस्तीका प्रधानाध्यापक होमनाथ पौडेलले बताए।

 ‘विद्यार्थीलाई कम्प्युटरको ज्ञान दिने भनेर विद्यालयमा कम्प्युटर त जोडियो,’ पौडेलले भने,‘ईन्टरनेट नै नचलेपछि पढाई प्रभावकारी भएको छैन। कम्प्युटरको अधिकांस काम इन्टरनेटसंग सम्बन्धीत भएकाले गाह्रो भईरहेको छ ।’ कम्प्युटर विषयको पिरियडमा विद्यार्थीहरु गेम खेलेर बस्ने गरेको उनले बताए । ‘कम्प्युटर यसरी खोल्ने हो, यसरी बन्द गर्ने हो भनेर मात्र कति दिन कक्षा चल्छ र?,’ उनले भने,‘सिकाउने मुख्य आवश्यकताको बस्तु नै नभएपछि विद्यार्थीहरु गेम खेलेर समय बिताउँछन् ।’ नेपाल टेलिकमले सहज रुपमा इन्टरनेट सेवा प्रवाह नगर्दा जैमिनी—७ र ८ का आधा दर्जन माध्यमिक र आधारभूत विद्यालयमा जडान गरिएका कम्प्युटरहरु त्यसै थन्किएका छन् ।

संस्कृत माध्यमिक विद्यालय बेलबगर स्रोत केन्द्र अन्तर्गत पर्ने छ माध्यमिक र ती आधारभूत विद्यालयमा प्रति विद्यालय २२ थानका दरले कम्प्युटर जडान गरिएको छ । ‘मेरो कार्यक्षेत्रमा पर्ने नौ वटा विद्यालयमा विद्यालयमा कम्प्युट जडान गरिएको छ,’ संस्कृत माध्यमिक विद्यालय बेलबगर स्रोतकेन्द्रका स्रोतव्यक्ति प्रेमप्रसाद शर्माले भने,‘त्यसमध्ये सात विद्यालयमा त इन्टरनेटले काम गर्दैन ।’ अर्जेवाका दुई विद्यालय बाहेक जैदी र छिस्तीमा इन्टरनेटले काम नगर्ने उनले बताए । ‘अर्जेवामा मात्र ईन्टरनेट टिप्छ, जैदी, छिस्तीमा काम गर्दैन,’ उनले भने,‘कम्प्युटर विषयको पढाई प्रभावित भएको छ । परीक्षा कसरी सञ्चालन गर्ने भन्ने अन्यौल छ ।’ विद्यार्थीको चौतर्फी विकासका लागि विद्यालयमा जडान गरिएका कम्प्युटरहरु त्यसै थन्किएर बस्ने अवस्थामा पुगेपछि त्यस क्षेत्रका सरोकारवालाले छिटो इन्टरनेट सेवा विस्तार गर्न नेपाल टेलिकमसंग माग गरेका छन् ।

जैदी छिस्तीका विद्यालयका शिक्षक, राजनीतिक दल, स्रोतव्यक्ति, व्यवासायी र पेशागत संस्थाका प्रतिनिधिहरुको टोली नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङमा डेलिकेसन गएर इन्टरनेटको पहुँच विस्तार गर्न माग गरेको नेपाल शिक्षक संघ बागलुङका अध्यक्ष उमाकान्त शर्माले बताए । ‘एउटा पेशागत संस्थाको नेतृत्व गरिरहेको र त्यस क्षेत्रको स्थानीय भएकोले मेरो नेतृत्वमा जैदी छिस्तीमा छिटो इन्टरनेट विस्तार गर्न माग गर्दै डेलिकेसन गएका छौं,’ शर्माले भने,‘कार्यालय प्रमुख ज्यूबाट चाँडै समस्या समाधान हुने बचन पाएका छौं ।’ टोलीले नेपाल टेलिकम दुरसञ्चार कार्यालय बागलुङ प्रमुख केशव शर्मालाई ज्ञापनपत्र समेत बुझाएको छ । कार्यालय प्रमुख शर्माले दशैं लगत्तै त्यस क्षेत्रमा इन्टरनेट विस्तार गरिने बताए ।

 ‘भौगोलिक रुपमा विकट भएकाले पनि त्यस्तो समस्या भएको हो,’ शर्माले भने,‘दशैं लगत्तै जैदी छिस्तीलाई समेट्ने गरी हामी सेवा बिस्तार गर्छौं ।’ प्राविधिक अध्ययन गरेर सबै ठाउँलाई पायक पर्ने गरी सेवा बिस्तार गर्ने उनले सुनाए। ‘प्राविधिक अध्ययन गर्ने टोली पठाए त्यहाँका अध्ययन भएपछि सबैलाई उपयुक्त हुने ठाउँमा भवन  निर्माण गर्छौं,’ उनले भने,‘त्यसले इन्टरनेट मात्र होईन टेलिकमका अन्य सेवाहरु पनि उपभोक्ताले सहज रुपमा पाउन सहयोग गर्नेछ ।’ कक्षा ६ र ७ मा शिक्षण सिकाई प्रविधिमैत्री बनाउन सरकारले नै कम्प्युटर शिक्षाको व्यवस्था गरेको जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद मिश्रले बताए ।

‘विद्यार्थीहरुलाई प्रविधिमैत्री सिकाई सिकाउनुपर्छ भनेर सरकारले लगानी गरेर कक्षा ६ र ७ मा कम्प्युट विषयको पढाई शुरु भएको हो,’ उनले भने,‘जिल्ला ३८ विद्यालयमा कम्प्युटर सम्बन्धी राम्रो पढाई भैरहको छ । इन्टरनेट पहुँच नभएको ठाउँमा पनि बेसिक विषयमा पढाई भैरहेका छन् ।’

जिल्लाको जैमिनी नगरपालिका—७ जैदीको संस्कृत माविमा जडान गरिएको कम्प्युटर । तस्विरःनागरिक

 

 

प्रकाशित: २४ भाद्र २०७४ ०८:५९ शनिबार

कम्प्युटरमा गेम खेलेर बस्छन् विद्यार्थी