समाज

‘सद्भाव र सहिष्णुता खलबल्याउने प्रायोजित प्रयास’

नेपाली सेनाले मुलुकभित्र उत्पन्न प्रायोजित चुनौतीसामु चुप लागेर नबस्ने संकेत गरेको छ। प्रधानसेनापति प्रभुराम शर्माले मुलुकमा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता खलबल्याउन भएका प्रयासप्रति लक्षित गर्दै यस्तो संकेत गरेका हुन्। शर्माले प्रधानसेनापतिको जिम्मेवारी सम्हालेको दोस्रो वर्ष पुगेको अवसरमा दिएको सन्देशमा प्रायोजित चुनौती सामना गर्न नेपाली सेना सदैव सजग रहनुपर्ने उल्लेख छ। नेपाली सेनाका सबै तहलाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘तथ्यरहित, पूर्वाग्रही, बेमौसमी र असामयिक तर्क उठाई स्थिर माहोललाई खलबल्याउने कुनै पनि स्वार्थप्रेरित समूह तथा क्षणिक वा दूरगामी असर पार्न सक्ने योजनाबद्ध प्रायोजित अभिलाषाप्रति सदैव सजग र सतर्क रहँदै नेपाल र नेपाली जनताको बृहत्तर हितमा समर्पित रहनु पर्छ।’

मुलुकमा जातीय, क्षेत्रीय सदभाव बिथोलिन सक्ने भन्दै सेनाको गुप्तचर निकायले विशेष प्रतिवेदन प्रधानसेनापतिलाई बुझाएको छ। सैन्य गुप्तचर महानिर्देशनालय अन्तगर्तको ‘डिपार्टमेन्ट अफ मिलिटरी इन्टेलिजेन्स (डिएमआई)’ ले उक्त प्रतिवेदन दिएकै बेला प्रधानसेनापति शर्माको यस्तो अभिव्यक्ति आएको हो।  

सेनाले गुप्तरूपमा अनुसन्धानका लागि विशेष सुराकी प्रयोग गर्दै आएको छ। सेनाले देशभरबाट गोप्य रूपमा संकलन गरेका सूचनासहितको प्रतिवेदन राष्ट्रिय सुरक्षा परिषद्मा पेस गर्छ। केही समयअघि नेपाली सेनाले कोसी प्रदेशबाट बिस्तारै मुलुकभर जातीय र धार्मिक हिंसा फैलिन सक्ने सूचना प्राप्त गरेको थियो। यसको जानकारी सेनाले सरकारलाई पनि गराएको स्रोतले जनाएको छ। प्रधानसेनापति शर्माले सकल दर्जालाई सम्बोधन गर्ने क्रममा नेपाली सेनाको संख्या घटाउने र संरचना बदल्ने विषयमा व्यक्त अभिव्यक्तिप्रति पनि कडा टिप्पणी गरेका छन्। ‘सैन्य संगठन आजको भोलि तयार गर्न सकिने विषय नभई लामो अध्ययन, तयारी, अभ्यास र अनुभवले निखारिँदै सबल र सुदृढ हुँदै जाने संगठित र अनुशासित समूह हो। सुदृढ र सुसज्जित सेनाको निर्माण कार्य निरन्तरको प्रक्रिया भएकाले दिनानुदिन विकास हुँदै जाने नयाँ प्रविधि, सिर्जना हुने नयाँ परिवेश तथा थपिँदै जाने बहुआयामिक चुनौतीहरूले गर्दा यो कार्य सदैव चलिरहने कुरा हो’, उनले भनेका छन्।  

करिब एक लाखको हाराहारीमा रहेको नेपाली सेनाको संख्या र संरचना कटौती गर्नुपर्ने विषयमा सदनदेखि सामाजिक सञ्जालसम्म बहस चलिरहेका बेला प्रधानसेनापतिले अप्रत्यक्ष रूपमा सेनाको संख्या र संरचना कटौती गर्ने कुरा मान्य हुन नसक्ने संकेत गरेका हुन्। राष्ट्रियसभामा एमाले सांसद विमला राई पौड्याल र प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लले नेपाली सेनाको संख्या कटौती गर्नुपर्ने धारणा राखेपछि यसको पक्ष विपक्षमा बहस सुरु भएको हो। सेनाको संख्या कटौती गर्नुपर्ने स्पष्ट कारण भने दुवै सांसदले दिन सकेका थिएनन्, छैनन्। सैनिक मामिलाका जानकारले सेनाकाधे संख्या कटौती गर्नुपर्ने अभिव्यक्तिलाई रुचाएका छैनन्। नेपालको संविधान र सैनिक ऐनसमेतको अध्ययन नगरी सेनाको कटौतीको धारणा सांसदबाट आएको भन्दै आलोचना भएको थियो। नेपाली सेनाका अवकाशप्राप्त उपरथि ताराबहादुर कार्कीले प्रधानसेनापतिको सम्बोधन सही र समसामयिक भएको टिप्पणी गरे। उनले सेनाको संख्या घटाउने भन्ने विषय कुनै निजी कम्पनीका श्रमिकलाई हटाउनेजस्तो नभएको बताए। ‘प्रधानसेनापतिको सम्बोधन र निर्देशन समसामयिक र सान्दर्भिक छ। उहाँको आज (आइतबार) को सम्बोधन र निर्देशन मुलुक र सेनालाई कमजोर बनाउने चलखेललाई निरुत्साहित गर्ने र त्यसको सशक्त प्रतिवाद गर्ने भन्ने हिसाबले आएको छ’, कार्कीले भने।

प्रकाशित: २५ भाद्र २०८० ००:५७ सोमबार

‘सद्भाव र सहिष्णुता खलबल्याउने प्रायोजित प्रयास’