समाज

प्रहरीको हतियार लुटपाट गर्ने गिरोह पक्राउ

शुक्रबार राति १२ बजेतिर सुनसरीको बर्जु गाउँपालिकामा खटिएका सादा पोशाकका प्रहरीको हतियार लुट्ने ७ जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ।

बर्जु–१ शुक्रबारेमा सादा पोशाकका प्रहरीलाई आक्रमण गरी हतियार र गोली लुट्ने गिरोहका नाइकेसहित ७ जना पक्राउ परेकामध्ये एक जना बालक छन्। बालकसहित ७ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको हो।

राति डिउटीमै रहेका प्रहरीमाथि आक्रमण गरी पक्राउ परेका समूहले हतियार र गोली लुटेका थिए। मोरङ प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो।

लुटपाट गर्ने समूहका नाइके मोरङको बुढीगंगा गाउँपालिका–४ का ४० वर्षीय रिजवान मियाँ, २५ वर्षीय सिजाम आलम (सिजाम मोबाइल सेन्टर सञ्चालक), बुढीगंगा–५ का २१ वर्षीय मो.नजरूल मियाँ छन्। त्यस्तै, सुनसरी दुहबी नगरपालिका–४ का ३२ वर्षीय नसुदिन मियाँ, दुहबी–१ का ३० वर्षीय मो.अलिम मुर्तुजा, भारत घर भई हाल दुहबी–६ का ४० वर्षीय मो.आलमका साथै एक जना बालक पक्राउ परेका छन्।

मोरङ र सुनसरीमा शृङ्खलाबद्ध लुटपाट र प्रहरीको हतियार लुट्ने समूह शुक्रबार राति पौन १२ बजेतिर पक्राउ परेका हुन्। बुढीगंगा–५ कोयलपुरको नहरमा शंकास्पद रुपमा हिँड्दै गर्दा उनीहरुलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए।

पक्राउ परेका लुटेरा समूहले मोरङ र सुनसरीमा पछिल्ला समय शृङ्खलाबद्ध रुपमा लुटपाट गर्दै आएको खुलेको छ। उनीहरुले राति ११ बजेपछि बिहान ४ सम्म घटना घटाउने, एकान्त स्थानमा बाटो ढुकेर सवारीसाधन रोक्ने, पेस्तोल, रड, लाठीलगायतका हतियार देखाएर नगद, गरगहना, मोबाइलहरु लुट्ने गरेको पाइएको छ। उनीहरुले दुई जिल्लामा स्थान परिवर्तन गरी लुटपाट गर्नुका साथै पीडितहरुलाई कुटपिटसमेत गर्ने गरेको डिएसपी दाहालले बताए।

लुटेरा समूहका नाइके रिजवान २०६४ देखि ०७९ सम्म मोरङ र सुनसरीमा भएका विभिन्न १० वटा अपराधमा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताउँदै, डिएसपी दाहालले भने, ‘रिजवानविरुद्ध डाँका, चोरी, हातहतियार खरखजना, ज्यान मार्ने उद्योगलगायतका मुद्दा अदालतमा दर्ता छन्। २०६४ को डाँका र २०६५ को डाँका ज्यान मुद्दाका फरार प्रतिवादीसमेत हुन्।’

पक्राउ परेको गिरोहबाट ठुलो चाइनिज पेस्तोल, कटुवा पेस्तोल, रड, चक्कुलगायतका हातहतियार बरामद भएको छ। ठुलो चाइनिज पेस्तोल प्रहरीबाट लुटिएको हो। लुटिएको पेस्तोल रिजवानको घरको छाना लुकाएर राखेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ। उनीहरुका साथबाट नेपाली र भारतीय नम्बरका २ वटा मोटरसाइकल, १ लाख ७५ हजार बढी नेपाली रुपैयाँ, ११ हजार ६ सय भारतीय रुपैयाँ, डलर, सुनको जस्तो देखिने झुम्का र तिलहरी, चाँदीको जस्तो देखिने पाउजु र सिक्रीलगायतका विभिन्न सामान बरामद भएको डिएसपी दाहालले बताए।

रातको समयमा सुनसरी र मोरङका सडकमा हातहतियार देखाएर डर, त्रास सिर्जना गरी लुटपाट भएको उजुरी आउन थालेपछि विशेष टोली बनाएर ‘अप्रेसन’ थालेको बताउँदै, डिएसपी दाहालले भने, ‘दुवै जिल्लाका प्रहरी टोलीले संयुक्त रुपमा विभिन्न स्थानमा गएर लुटेरा समूहको खोजी र सूचना लिने काम गर्दै आएका थिए। बर्जु–१ र विराटनगर–५ एरियामा लुटपाटका घटना बढी हुने सूचना आएको थियो।’

लुटपाट बढी हुने स्थानमा प्रहरीले विशेष निगरानी राख्दै आएको थियो। त्यस क्रममा शुक्रबार राति पौने १२ बजेतिर सुनसरीको इलाका प्रहरी कार्यालय दुहबीका विमन परियार र प्रेम चौधरी सादा पोशाकमा गएका थिए।

बर्जु–१ र विराटनगर–५ नजिकैको स्थानमा लुटेरा समूहसँग जम्का भेट हुनसाथ लुटेरा समूहले दुई जनामाथि आक्रमण गरी घाइते बनाए। सादा पोशाकमा रहेका प्रहरी घाइते भएपछि ठुलो चाइनिज पेस्तोल, एउटा म्यागेजिन र सात राउण्ड गोली लुटेर भागेको डिएसपी दाहालले बताए।

पक्राउ परेका विरुद्ध डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मुद्दा चलाइने प्रहरीले जनाएको छ।

प्रकाशित: २४ भाद्र २०८० १३:२३ आइतबार