समाज

मलङ्गवामा जारी कर्फ्यु हट्यो, भदौ २७ गतेसम्म निषेधाज्ञा लागु

सर्लाहीको मलङ्गवामा जारी कर्फ्यु हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले शनिवारदेखि लागु गरेको कर्फ्यु हटाउँदै थप तीन दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

कष्ण अष्टमीको मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच शुक्रवारदेखि उत्पन्न तनाव बढ्न नदिन जिल्ला प्रशासन कार्यालयले शनिवार साँझदेखि बिहान ८ बजेसम्म लागु हुनेगरी कर्फ्यु जारी गरेको थियो।

कर्फ्यु हटाइएपनि दुईपक्षबीच झडप हुनसक्ने सम्भावना भएकाले आज बिहान ८ बजेदेखि भदौ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको जिल्ला सुरक्षा समिति सर्लाहीका प्रमुख इन्द्रदेव यादवले बताए।

सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार मलङ्गवा नगरक्षेत्र, पूर्वमा भीम नदी, पश्चिममा मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट वा पेट्रोलपम्मसम्मको क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ।  

शुक्रबार साँझ कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जनका क्रममा मलङ्गवाको पुरानो बसपार्क क्षेत्रमा दुई पक्षबीच झडप भएको थियो। सोही विषयलाई लिएर शनिवार दिउँसो पनि झडप भएको थियो।  

प्रकाशित: २४ भाद्र २०८० ०५:३२ आइतबार

सर्लाही मलङ्गवामा जारी कर्फ्यु जिल्ला प्रशासन कार्यालय सर्लाही मूर्ति बिसर्जन