समाज

सुर्खेतमा स्यालले टोकेर १८ घाइते

सुर्खेत –  पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन्। गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँप खोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो। 

बुधबार साँझ नौजना र विहीबार दिउँसोसम्म नौजनालाई टोकेको स्वास्थ्य चौकी सहारेका प्रमुख किरण वलीले जानकारी दिए। घाइतेलाई रेबिजविरुद्ध दिइने खोप स्थानीयस्तरमा दिइएको प्रमुख वलीले बताए। स्यालले टोक्दा लगाउने इम्युनोग्लोमिन भ्याक्सिन काठमाडौँको टेकु अस्पतालमा मात्रै पाइने भएकाले उपचारमा समस्या भएको वलीले बताए। 

घाइतेलाई काठमाडौँ पठाएर उपचार गर्ने विषयमा गुर्भाकोट नगरपालिकाले निर्णय गरेको छ । विहीबार बिहान नगरपालिकाको बैठकले यस्तो निर्णय गरेको गुर्भाकोट नगरपालिकाका प्रमुख हस्त पुनले बताए। 

विगतका वर्षहरुमा पनि यही समयमा गुर्भाकोटमा स्यालले टोक्दा दर्जनभन्दा बढी स्थानीयवासी घाइते भएका थिए। रासस 

प्रकाशित: २२ भाद्र २०७४ ०९:४१ बिहीबार

सुर्खेतमा स्यालले टोकेर १८ घाइते