समाज

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु

कैलाली –  सेती अञ्चल यातायात व्यवस्था कार्यालयले बुधबारबाट विद्युतीय प्रविधिको स्मार्ट कार्ड (लाइसेन्स) वितरण गर्न थालेको छ। 

कार्यालयका प्रमुख कृष्ण भुसालले धनगढी उपमहानगरपालिका–४ का राजेन्द्र आमात्यलाई पहिलो स्मार्ट लाइसेन्स प्रदान गर्दै यो नयाँ प्रविधिबाट लाइसेन्स वितरणमा एकरुपता ल्याउनुका साथै यातायातलाई अझ बढी सुरक्षित, व्यवस्थित र भरपर्दो र विश्वसनीय बनाउन सहज हुने जानकारी दिए। 

उनले यस प्रकारको लाइसेन्सबाट गलत मान्छेले लाइसेन्स पाउने तथा गलत तरिकाले दुरुपयोग गर्ने सम्भावना कम हुने बताए। पोलिकार्बोनेटबाट बनेको क्रेडिट कार्ड साइजको यो विद्युतीय कार्ड टिकाउ र बोक्न सजिलो हुनाका साथै आगो र पानीबाट बिग्रिने समस्या नरहने उनले बताए ।

हाल शुरुवाती चरणमा नवीकरण गर्नेलाई यो लाइसेन्स वितरण गरिने भए पनि केही सातामा नयाँ लाइसेन्स लिने सेवाग्राहीलाई पनि वितरण गरिने कार्यालयका प्रमुख भुसालले जानकारी दिए। यसको अवधि ५ वर्षको हुनेछ भने बनाउँदा ५०० राजश्व तिर्नुपर्ने व्यवस्था छ । रासस 

प्रकाशित: २२ भाद्र २०७४ ०९:०३ बिहीबार

कैलालीमा स्मार्ट लाइसेन्स वितरण शुरु