समाज

आज निजामती सेवा दिवस मनाइँदै

काठमाडौं- आज १४औँ निजामती सेवा दिवस देशभर विविध मनाइँदैछ । ‘निजामती सेवाको प्रतिबद्धता, पारदर्शिता र चुस्तता’ भन्ने मूलनारामा साथ दिवस देशभरि मनाउने गरिएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। 

दिवसकै अवसरमा आज स्वास्थ्य मन्त्रालयमा रक्तदान कार्यक्रम गरिँदैछ । बाढीपहिरोले यस वर्ष ठूलो धनजनको क्षति पुर्याएकाले यो वर्ष हर्सोल्लासका साथ दिवस नमनाइएको उनले जानकारी दिए। 

मन्त्रालयले एक हप्तादेखि वृक्षारोपण, सरसफाइजस्ता कार्यक्रम गर्दै आइरहेको छ। दिवस मनाउनका लागि मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ। 

नेपालमा २०६० सालदेखि निजामती दिवस मनाउँदै आइरहेको हो। नेपालमा करिब ८३ हजार निजामती कर्मचारी रहेका छन्। दिवसका अवसरमा आज देशभरका निजामती कर्मचारीलाई सार्वजनिक बिदा दिइएको छ। 

दिवसकै अवसरमा १० जनालाई उत्कृष्ट निजामती सेवा र ३० जनालाई निजामती सेवा पुरस्कार दिइएको छ। रासस 

प्रकाशित: २२ भाद्र २०७४ ०६:१९ बिहीबार

निजामती सेवा दिवस मनाइँदै