समाज

भ्रष्टाचारविरुद्ध मिडिया ऐक्यवद्धता

काठमाडौं- मुलुकका प्रतिष्ठित छापा तथा विद्युतीय सञ्चारमाध्यमको छाता संगठन नेपाल मिडिया सोसाइटीले भ्रष्टाचारविरोधी विशेष अभियान सञ्चालन गर्ने घोषणा गरेको छ ।
सोसाइटीले बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी जनताको रगतपसिनाका रूपमा असुल गरिएको करमाथि मुठ्ठीभर शासकले ब्रह्मलुट गर्ने प्रवृत्ति मौलाएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध सबै तह र तप्काका नेपालीले उठ्नुपर्ने अवस्था देखिएको बताएको छ ।

नेपाली मिडियाले नीतिगत, संस्थागत, संगठितलगायत सबै प्रकारका भ्रष्टाचार अन्त्यका लागि विशेष प्रकारको अभियान चलाउने अठोट गरेको छ ।’

‘देशलाई भ्रष्टाचारमुक्त गर्न राजनीतिक शुद्धता र पारदर्शिताका लागि सबै पेसागत र तहतप्काका समुदायलाई समेत ऐक्यबद्धता र खबरदारीका लागि हाम्रो विनम्र अनुरोध छ,’ सोसाइटीका अध्यक्ष पुष्करलाल श्रेष्ठ र महासचिव शुभशंकर कँडेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘तसर्थ नेपाली मिडियाले फेरि पनि नीतिगत, संस्थागत, संगठितलगायत सबै प्रकारका भ्रष्टाचार अन्त्यका लागि विशेष प्रकारको अभियान चलाउने अठोट गरेको छ ।’
संविधानसभाबाट संविधान घोषणा भएपछि राजनीतिक दलको काँधमा देशलाई आर्थिक समृद्धि र राजनीतिक स्थिरताको बाटोमा डो¥याउनुपर्ने ऐतिहासिक दायित्व आए पनि प्रमुख दलले नेपाली समाजमा दीर्घकालीन रोगका रूपमा झाँगिइरहेको भ्रष्टाचार र अनियमितता झन् बढाइरहेको घटनाले जनतालाई निराश बनाउँदै लगेको सोसाइटीको भनाइ छ ।
सोसाइटीका अनुसार नेपाल आयल निगमका लागि जग्गा खरिद प्रकरण, कर फस्र्योटका नाममा कर छलीका खेलमा राजनीतिक दलका नेता, उच्च पदस्थ कर्मचारी र मन्त्रिपरिषद्का सदस्य संलग्न भएका घटना, भ्रष्टाचार नियन्त्रण गर्न बनाइएका संस्थामा संस्थाकै बदनाम हुने गरी राजनीतिक स्वार्थ प्रेरित ढंगबाट गरिएको नियुक्ति र बहिर्गमनको महाभियोग प्रकरणजस्ता अनियमितताका घटनाले देशलाई गम्भीर दुर्घटनातर्फ लगेको छ । विज्ञप्तिमा उल्लेख छ, ‘सबैभन्दा डरलाग्दो पक्ष यस्ता अधिकांश घटना र ‘स्क्यान्डल’ मा प्रमुख दलको संलग्नता र मौनता देखिनु हो ।’
‘मिडियामा समाचार आइसकेपछि सरकार वा सम्बन्धित निकायले तुरुन्तै चासो दिएर छानबिन गर्नुपथ्र्यो तर, सार्वजनिक लेखा समितिले छानबिन गर्न निर्देशन दिँदा पनि कुनै निकायको सक्रियता नदेखिनु गम्भीर विषय हो,’ सोसाइटीका पूर्वअध्यक्ष कैलाश सिरोहियाले भने, ‘त्यही भएर अहिले हामी आफैंले अपिल गरेका हौं । आगामी दिनमा परिस्थिति कसरी अगाडि बढ्छ, त्यसमा निर्भर रहन्छ ।’
नीतिगत र संस्थागत भ्रष्टाचारका अनेक शृंखला निरन्तर नेपाली मिडियाले प्रस्तुत गरेर सरकार र प्रमुख दललाई आवश्यक कानुनी कारबाही तथा भ्रष्टाचार निरुत्साहित गर्न गरिएका आग्रहलाई पूर्वाग्रहका रूपमा लिएर मिडियामाथि नै अनेकौं कोणबाट दबाब दिने, धाकधम्की देखाएर मिडियाको स्वतन्त्रतालाई कुण्ठित पार्ने दुस्प्रयास जारी रहेको सोसाइटीले जनाएको छ ।
‘लोकतान्त्रिक समाजका लागि सत्ताको दुरुपयोग गरेर मिडियाको मुख बन्द गर्ने कुचेष्टा जतिसुकै निन्दा गरे पनि नपुग्ने घटना हुन् । यस्ता सबै खालका क्रियाकलाप तत्काल बन्द गर्न र नेपाली मिडियाले भ्रष्टाचार र अनियमितताका शृंखलाबारे प्रस्तुत गरेका तथ्यका आधारमा समेत भ्रष्टाचारी र बिचौलियालाई कारबाही प्रक्रिया अघि बढाउन सरकार र राजनीतिक दललाई आग्रह गर्छौं,’ सोसाइटीले भनेको छ, ‘भ्रष्टाचारलाई निरुत्साहित नगर्ने हो भने अहिलेसम्म नेपालीले गरेको त्याग र बलिदानको उपलब्धि खोक्रो शब्दावलीबाहेक केही नहुने निश्चित छ ।’
सोसाइटीका महासचिव कँडेलले पछिल्ला घटनामा मिडियामाथि मनोवैज्ञानिक दबाब दिने र भ्रष्टाचारविरोधी समाचार नआओस् भन्ने उद्देश्य देखिएको बताए । ‘यो खतरनाक छ, त्यही भएर आजैदखि सबै मिडियाको अजेन्डा भ्रष्टाचारविरोधी समाचारलाई प्राथमिकता दिने रहेको छ,’ उनले भने, ‘जनआन्दोलनमा हातेमालो गरेका संघसंगठन अब एकजुट हुने बेला आएको छ ।’
सोसाइटीका सचिव मदन लम्सालले मिडियाले अनियमितताका विषय उजागर गर्दा पनि सरकार मुकदर्शक भएको बताए । ‘मिडिया आफ्नो धर्मबाट विचलित हुनु हुँदैन,’ उनले भने, ‘भ्रष्टाचारविरुद्धको अभियानमा सबै एकजुट भएर अगाडि बढ्नुपर्छ ।’

प्रकाशित: २२ भाद्र २०७४ ०२:३५ बिहीबार

#अायलनिगम #जग्गाखरिद #खोटाला #गोपालखड्का #विलासीगाडी