समाज

पहिले ससुरालाई मार्न लगाए भनेर म्यासेज गरेँ, अहिले श्रीमती र छोरा पनि गायब

कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–१ लुसाका ५५ वर्षीय धनी राम जैसीको तीन वर्षअघि भदौ २८ गते मृत्यु भयो। घरबाट स्थानीय जिते बजारतर्फ जाँदै गरेका उनी भीरबाट खसेका थिए। आफन्त र प्रहरीले यो घटनालाई दुर्घटना सम्झेको थियो।  

तर हालै जैसीको मृत्युको कारण दुर्घटना नभएर भीरबाट धकेलेर मारेको भन्ने खुल्यो। त्यो पनि उनकै छोरी ज्वाइँ दानबहादुर शाहीले श्रीमतीलाई गरेको म्यासेजमा धनी रामको भीरबाट खसेर नभई आफूले मानिस प्रयोग गनेर भीरबाट खसालेर मारेको लेखे।

मृतक धनी रामकी छोरी गीता दानबहादुरकी कान्छी श्रीमती हुन्। दैलेखको भगवतीमाई गाउँपालिका–५ कट्टीका दानबहादुर सदरमुकाम मान्मामा बस्दै आएका छन्। गीतासँगको अवैध सम्बन्धबाट छोराको जन्म भएको छ। छोरा जन्मिए पनि उनले गीतालाई श्रीमतीका रुपमा स्वीकार गरेनन्। यसले दुई पक्षबिच विवाद बढ्दै गयो। बरु गीता र छोरामाथि उनले मानसिक र शारीरिक हिंसा गर्दै आएका थिए। गीताले जिल्ला अदालतमा अंशबन्डाको मुद्दा दिएपछि भने विवादले झन् ठूलो रुप लियो।

अदालतमा मुद्दा दिएपछि दानबहादुरले गीतालाई म्यासेन्जरमार्फत मुद्दा फिर्ता नलिए बुवा (ससुरा)लाई जस्तै केटाहरु प्रयोग गरेर आमा–छोराको हत्या गर्ने धम्की दिन थाले। म्यासेन्जरमा वकिल, न्यायाधीशलाई आफूले किनेको, पैसा भएमा सबै थोक हुने भन्दै गीता र छोराको पनि त्यहीँ अवस्था बनाइदिने लेखिएको छ।  

‘तँ र तेरो छोरालाई पनि मान्छे लगाएर मारिदिन्छु, ठकुरीको छोरा हुँ पछि हट्दैन,’ गीतालाई पठाएको म्यासेजमा उनले भनेका छन्, ‘तिमीहरूलाई मारेपछि कसरी अंश लिन्छौँ म पनि हेर्छु।’

दानबहादुर नेकपा एमाले कालिकोटका कार्यालय सचिव हुन्। केही दिनअघि श्रीमानले म्यासेन्जरमार्फत लिएको धम्कीसहित उजुरी लिएर गीता प्रहरी कार्यालय पुगिन्। प्रहरीले उनको उजुरी दर्ता गर्न मानेन। म्यासेन्जरमार्फत ससुरालाई आफूले मान्छे लगाएर मारेको बताएपछि गीताका दाजु गौरी जैसीले भदौ ९ गते कर्तव्य ज्यान मुद्दा प्रहरीमा दर्ता गराए। प्रहरीले उनलाई १० गते पक्राउ प¥यो।

प्रहरीले दानबहादुरलाई पक्राउ गरेसँगै उनकी कान्छी श्रीमती र छोरा भने कोठाबाटै हराएका छन्। गीता र उनका छोरा बिहीबार रातिबाट बेपत्ता भएका छन्। गीताका आफन्तले दानबहादुरले नै आमा–छोरालाई ‘गायब’ बनाएको आरोप लगाएका छन्। ‘अंश मुद्दा दर्ता भएपछि आमा–छोरालाई गायब बनाइदिन्छु भन्दै म्यासेज गरेको थियो,’ गीताका आफन्तले भने, ‘उसलाई प्रहरीले पक्राउ गरेसँगै आमा–छोरा कोठाबाटै बेपत्ता भएका छन्।’  

बेपत्ताका आफन्त दानबहादुरले नै श्रीमती र छोरालाई गायब बनाएको भन्दै आन्दोलित भएका छन्। उनीहरुले शुक्रवार दिनभर प्रहरी कार्यालयमा धर्ना दिए। ‘बहिनी र भान्जा बस्ने कोठा हेर्दा घटना शङ्कास्पद देखिन्छ,’ गीताका दाजु गौरीले भने, ‘म्यासेन्जरमा बुवालाई जस्तै मान्छे लगाएर सिध्याइ दिन्छु भनेर धम्की दिएको थियो, घटनास्थलको प्रकृति मिल्दोजुल्दो छ।’

प्रहरीले पनि गीता बस्ने कोठाको अवस्था हेर्दा शङ्कास्पद देखिएको बताएको छ। ‘यत्रतत्र सामाग्रीहरू छरिएका छन्, कपाल लुछेको जस्तो देखिन्छ, हराएकी महिलाका मोबाइललगायतका सामाग्रीहरू त्यहीँ छन्,’ प्रहरी निरीक्षक यज्ञराज जोशीले भने, ‘पहिले हराएकी महिला र उनको छोराको खोजीका लागि प्रहरी परिचालन गरेका छौँ।’ प्रहरीका अनुसार दानबहादुरले म्यारेन्जरमार्फत पठाएका म्यासेजहरू परीक्षणका लागि केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको जनाएको छ।

प्रकाशित: २२ भाद्र २०८० १०:२२ शुक्रबार

पहिले ससुरालाई मार्न लगाए भनेर म्यासेज गरेँ अहिले श्रीमती र छोरा पनि गायब