समाज

कुवेतमा अलपत्र नेपालीको गुनासो, ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ’

तस्बिर सौजन्य : कुलबहादुर राई

वैदेशिक रोजगारीका लागि कुवेत पुगेर अलपत्र परेका अधिकांश नेपाली युवाले कुवेतस्थित नेपाली दूतावास रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा रहेको गुनासो गरेका छन्।

‘यहाँस्थित नेपाली दूतावास जिम्मेवार कुरा गर्दैन। दूतावास पनि रोजगार दिने भनेको कम्पनी र म्यानपावर कम्पनीको पक्षमा छ जस्तो लाग्छ,’ पीडितहरूको गुनासो छ।

कुवेतस्थित नेपाली दूतावासमा जानकारी गराउँदा उसले रोजगारदाता कम्पनीको कन्ट्रयाक्ट टुटेर समस्या भएकाले नेपाल फर्किन सुझाव दिएको तर समस्यामा पार्ने कम्पनीसँग वार्ताका लागि कुनै पहल नगरेको गुनासो एक पीडितको नागरिकन्यूजसँग पोखे। काम नपाएर अलपत्र परेका उनले आफूहरूलाई सातवटा शिविरमा राखिएको जानकारी दिए।

करिब एक हजार नेपाली युवा कुवेतमा अलपत्र परेका हुन। ११ महिनाअघि कुवेतस्थित ‘द ब्लु सी ट्रेडिङ को डब्लुएलएल’ कम्पनीमा क्लिनर पदमा काम गर्न गएका युवा अलपत्र परेका हुन्।

पीडितहरूले काठमाडौँस्थित वैभव ओभरसिज प्रालि, ओमेगा ओभरसिज, जलजला ओभरसिज, न्यु एस बी ओभरसिज, गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रालिमार्फत आफूहरू कुवेत पुगेको बताए।

देशमा रोजगारी छैन। कामको खोजीमा कुवेत आइयो। तर यहाँ आएर फसियो। न घर फर्कन सकिन्छ, न यहाँ काम नै पाइन्छ,’ १ लाख ६० हजार रुपैयाँ म्यानपावर कम्पनीलाई बुझाएर कुवेत पुगेका कुलबहादुर राईले भने, ‘कमाउन विदेश आएको थिएँ तर घर फर्किन पनि पैसा छैन।’ 

उनी काठमाडौँ तीनकुनेस्थित वैभव म्यानपावर कम्पनीलाई पैसा बुझाएर कुवेत पुगेका हुन्। आफूलाई कुवेत पठाउने कम्पनीमा फोन गर्दा पनि काम नपाएको उनले बताए। उनले भने, ‘वैभव म्यानपावरलाई फोन गर्दा काम पाइन्छ भन्छ तर यहाँ कामविहीन भएको डेढ–दुई महिनाभन्दा बढी भइसक्यो।

कम्पनीले खाना खानसमेत पैसा दिँदैन। सक्ने कतिपय घरबाट पैसा मगाएर फर्किए। एक हजारजति हामी यहाँ अलपत्र छौँ।’ उनले कुवेतमा कामविहीन भएर समस्यामा परेका करिब एक सय जना नेपाली आफ्नै प्रयासमा घर फर्किसकेको जानकारी पनि दिए।

प्रकाशित: २२ भाद्र २०८० १०:०० शुक्रबार

कुवेतमा अलपत्र नेपालीको गुनासो ‘दूतावास पनि रोजगार दिने र म्यानपावर कम्पनीको पक्षमा छ।’