समाज

सुन तस्करीको अनुसन्धानमा ‘एमएलए’ बाधक

राजस्व अनुसन्धान विभागले बरामद गरेको ६० किलो सुन तस्करीको सञ्जाल विस्तार वि–च्याट र ह्वाट्सएपमार्फत भएको पाइयो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान सुरु गरेयता नै उनीहरूले प्रयोग गर्ने मोबाइललगायत प्राविधिक डिभाइसहरूको परीक्षण गर्ने क्रममा सामाजिक सञ्जालले उपयोगमा ल्याएको वि–च्याट र ह्वाट्सएपमार्फत सञ्जाल विस्तार भएको पाइएको हो।

प्रहरी स्रोतका अनुसार सुन तस्करीमा विदेशी नागरिकको संलग्नता र राजनीतिक व्यक्तिहरूको ‘कनेक्सन’ पुष्टि गर्न प्रहरीलाई पारस्परिक कानुनी सहायता सन्धि (एमएलए) बाधक भइरहेको छ।

डिजिटल एपमार्फत भएका कुराकानी र सम्पर्कलाई प्रमाणको रूपमा प्रस्तुत गर्न एप सञ्चालनमा ल्याएका देशहरूले पारस्परिक कानुनी सहायता सन्धि देखाउँदै कानुनी अड्चन रहेको जनाएर विवरण नदिएपछि प्रहरीलाई अनुसन्धानमा अप्ठेरो परेको हो।

अनुसन्धानका क्रममा अहिले सिआइबीका एसएसपी दिनेश आचार्य हङकङमा छन्। त्यहाँको प्रहरीले मौखिक रूपमा सहयोग गरेको भए पनि कानुनी अड्चन देखाएर लिखित रूपमा कुनै पनि विवरण नदिएपछि सिआइबीलाई प्रमाण जुटाउन कठिन भएको स्रोतले जनाएको छ।

नेपाल प्रहरीले दुबई, कतार, साउदी अरेबिया, मलेसिया, भारत र चीन जस्ता मुलुकसँग पारस्परिक कानुनी सहयता सन्धि (एमएलए) गर्न प्रस्ताव गरेको थियो। तर सरकारले ध्यान दिएन। यसैकारण अहिले अनुसन्धानमा सोचेजस्तो परिणाम आउन नसक्ने अनुमान गर्न थालिएको छ।

प्रकाशित: २२ भाद्र २०८० ०९:२६ शुक्रबार

राजस्व अनुसन्धान विभाग ६० किलो सुन तस्करी