समाज

राधाकृष्ण रथयात्रामा हजारौं सहभागी (तस्बिरहरु)

तस्बिर: चुमन बस्नेत/नागरिक

कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा बिहीबार सम्पन्न भएको छ। ऐतिहासिक ५५ औं राधाकृष्ण रथयात्रा भव्य रुपमा सम्पन्न भएको हो।

राधाकृष्ण मन्दिर विराटनगर–१ बाट निकालिएको रथ मेनरोड, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, बरगाछी हुँदै पुनः मन्दिर पुगेर सम्पन्न भयो। रथले नगरको करिब ८ किलोमिटरको यात्रा तय गर्छ।

पछिल्लो समय सुनसरी, झापालगायतका स्थानमा पनि रथयात्रा निकाल्न थालेपछि विराटनगरको रथयात्रामा भक्तजनको उपस्थिति कम हुँदै आएको हो। मधेश प्रदेश, कोशी प्रदेशलगायत सीमावर्ती भारतबाट समेत भक्तजनको भीड लागेको थियो। विराटनगरमा गर्मी भए पनि यात्रामा सहभागी भक्तजनको संख्या उत्साह पूर्ण रह्यो।

कोरोनाका कारण ५२ र ५३ औं रथयात्रा खट यात्रामा सीमित भएको थियो। एउटा गाडीमा राखेर नगर परिक्रममा गराइएको हो। भगवान श्रीकृष्णप्रति आस्था राख्ने केही व्यक्तिहरूले १९८८ सालदेखि ‘खटयात्रा’ रूपमा शोभायात्रा सुरू गरेको इतिहास छ। यो २०२२ सालमा वयलगाडा (गोरुगाडा)बाट निकालिन थालिएको थियो। २०२५ सालमा विराटनगरका स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतले रथ निर्माण गरेपछि यो रथयात्रामा विकसित भएको हो।

हिन्दू धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेकाले कृष्णको स्मरण गराउने यो रथयात्रामा लाखौं सर्वसाधारण कामकाज छोडेर आउँछन्। रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ। हरेक वर्ष रथलाई नयाँ ढंगले सिँगार्ने गरिन्छ। पेगोडा शैलीको रथको लम्बाइ २२ फिट, चौडाइ १४ र उचाइ १८ फिट छ। रथको अग्रभाग जुवाबाट ७५ फिट लम्बाइको २ वटा डोरी राखिएको छ।

रथयात्राका क्रममा कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रथयात्राको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको थियो। चोरीलगायत अप्रिय घटना हुन नदिन सादा पोशाका प्रहरी परिचालन गरिएको मोरङ प्रहरीले जनाएको छ।

रथ यात्रामा सहभागी भएर शंकास्पद गतिविधिमा संलग्न देखिएका ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका मध्ये भारतीय ४५ र नेपाली ६ जना रहेका छन्। जसमा पुरुष ३८ र महिला १३ जना छन्। मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन दाहालका अनुसार विगतमा चोरी, लुटपाट तथा हुल हुज्जत लगायतका गतिविधिमा संलग्न रहेकाहरु रथ यात्राको भीडमा पसेर शंकास्पाद गतिविधि गरिरहेको अवस्था उनीहरुलाई पक्राउ गरिएको हो।

  

प्रकाशित: २१ भाद्र २०८० १३:३० बिहीबार

राधाकृष्ण रथयात्रा