समाज

मानव बेचबिखनविरुद्ध एकजुट हुन आग्रह

नेपाल रिपब्लिक मिडिया सम्मानित

बुधबार राजधानीमा आयोजित मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सत्रौं राष्ट्रिय दिवसमा सम्मानित नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवाली। तस्बिर: उपेन्द्र/नागरिक

मानव बेचबिखन तथा ओसारपसारमा संगठित रूपमा गिरोह सक्रिय रहेकाले यसको निर्मूलनमा पनि सबै पक्षा संगठित भएर लाग्नुपर्ने सरोकारवालाले बताएका छन्। सामाजिक न्याय तथा आर्थिक सशक्तीकरणको माध्यमबाटै मानव बेचबिखनविरुद्धको अभियानमा सफलता मिल्ने भन्दै राज्यले यसतर्फ ध्यान पुर्‍याउनुपर्ने उनीहरूको भनाइ छ।

‘संगठित रूपमा मौलाउँदै गएको यो अपराधसँग सबै मिलेर लड्नु आजको आवश्यकता हो,’ महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भने, ‘आजको दिनले हामी सबैलाई मानव बेचबिखनको विरुद्धमा लड्ने ऊर्जा र उत्प्रेरणा मिलोस्।’

‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण: मानव बेचबिखन निर्मूलन’ भन्ने नाराका साथ बुधबार राजधानीमा आयोजित मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सत्रौं राष्ट्रिय दिवसमा मन्त्री आचार्यले उक्त धारणा राखेका हुन्।

मानव बेचबिखन तथा ओसारपसारमा संगठित रूपमा गिरोह सक्रिय रहेकाले यसको निर्मूलनमा पनि सबै पक्षा संगठित भएर लाग्नुपर्ने सरोकारवालाले बताएका छन्।

कार्यक्रममा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले शिक्षा नै यो विकृतिविरुद्ध लड्ने पहिलो हतियार रहेको बताइन्। ‘हाम्रा नानीहरूले निःशुल्क र गुणस्तरीय शिक्षा पाउनुपर्‍यो,’ उनले भनिन्, ‘यही शिक्षाको सहाराले उनीहरू जोगिने छन्।’

चेलीबेटीहरू घर, समाज र देशका इज्जत भएकाले उनीहरूको रक्षाको लागि समाजले प्रभावकारी भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले मानव बेचविखनमुक्त समाजका लागि तिने तहका सरकारबीच सहकार्य र समन्वयको आवश्यकता रहेको बताइन्। त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य लिली थापाले मानव बेचबिखन प्रभावितका लागि सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताइन्।

कार्यक्रममा राष्ट्रिय योजना आयोगकी सदस्य अनिता शाह ढुंगानाले मानव बेचबिखन बहुराष्ट्रिय संगठित अपराध भएकाले बहुआयमिक क्षेत्रसँग सरोकार राख्ने बताइन्। अपराधमा पर्नसक्ने लक्षित वर्गको उत्थानका लागि प्रभावकारी कार्यमा जोड दिनुपर्ने उनको भनाइ छ।

यसैबीच, मानव बेचबिखन तथा ओसारपसारविरूद्वको अभियानमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई उक्त कार्यक्रममा सम्मानित गरिएको छ। छापा माध्यमबाट मानव ओसारपसार तथा बेचबिखनविरुद्धको अभियानमा प्रभावकारी योगदान पुर्‍याएकोमा नेपाल रिपब्लिक मिडियालाई सम्मान गरिएको छ।

नेपाल रिपब्लिक मिडियाका तर्फबाट निर्देशक शोभा ज्ञवालीले सम्मानपत्र ग्रहण गरेकी थिइन्। ज्ञवालीलाई प्रमुख अतिथि मन्त्री सुरेन्द्रराज आचार्यले सम्मान गरेका थिए।

यसैबीच, मानव बेचबिखन तथा ओसारपसारविरूद्वको अभियानमा विभिन्न क्षेत्रबाट योगदान पुर्‍याउनेलाई उक्त कार्यक्रममा सम्मानित गरिएको छ। 

त्यसैगरी, मानव बेचविखन र ओसारपासरमा प्रभावकारी भूमिका निभएर अनुसन्धानमा सहयोग पुर्‍याएको भन्दै प्रहरी हवल्दार दलहादुर घिसिङलाई सम्मानित गरियो। कार्यक्रममा रेजिना गौतम, सितादेवी डोटेल पनि सम्मानित भए। त्यसैगरी शक्ति समूहकी उर्मिला श्रेष्ठ, रेडियो मुक्ति र महिला आत्मनिर्भर केन्द्र सिन्धुपाल्चोकलाई पनि सम्मान गरिएको छ। 

प्रकाशित: २१ भाद्र २०८० ०२:२५ बिहीबार

नेपाल रिपब्लिक मिडिया सम्मानित मानव बेचबिखनविरुद्ध एकजुट हुन आग्रह राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुली