समाज

बाढी पीडित भन्छन्: ठाउँ नै छैन, घर कहाँ बनाउनु ?

बाढी पीडितले जस्ता पाता पाएपछि जोहो गरेर सुरक्षित स्थानमा राख्न लैजाँदै । तस्बिर: अमर

इटहरी-इटहरी वडा नं. ३ की ७० बर्षीया धनमाया खातीको घर बाढीले क्षती पुर्‍याएपछि यतिबेला बस्तीभन्दा पश्चिमतर्फको सडकमा त्रिपाल मुनी दिनरात कटाउने गरेकी छन् । शारीरिक रुपमा कमजोर उनलाई पानी पर्दा भुईंमा चिसो हुने र घाम लागेको बेला गर्मी हुँदा समस्या छ ।

साउन २७ गते राति बढी खोला नदीले पश्चिमतर्फको मानववस्तनीमा पस्दा थुप्रै परिवारको उठिबास लागेको हो ।

‘बाढीले गर्दा घर भएको छेउमै खोला बग्न थालेको छ, घरको नाम निसाना नै छैन,’ धनमायाकी बुहारी सीताले भनिन, ‘अब कहाँ बस्ने कुनै टुंगो छैन् ।’ उनको घरसँगै अन्य सामान पनि बाढीले बगाएको थियो ।

४० बर्षीया सीतालाई पुरानै स्थानमा घर बनाउँदा बाढीले लैजाने चिन्ता छदैंछ । ‘अब पुरानो घर भएको स्थानमा नयाँ बनाउँदा पनि फेरि बाढीले लैजाला, अर्को स्थानमा जग्गा छैन,’ उनले भनिन, ‘जग्गा छैन् । घर कहाँ बनाउनु ?’ सीताको परिवारले शनिबार नयाँ घर बनाउनका निम्ति जस्तापाता पाएको छ । ‘जस्तापाता त पाइयो घर पो कहाँ बनाउने ?,’ उनले भनिन्।

सीताको परिवार बाढीले बगाएको स्थानमा घर नबनाउन पाए हुन्थ्यो भन्ने सोचमा छ । तर, अन्तिममा कुनै उपाय नभएपछि त्यही वस्ने अवस्था आउने निश्चित छ ।

‘बाढीले पुरानो घर भएको स्थानमा ठूलो भौडी बनाएको छ,’ बाढी पीडित वडा नं. ३ कै दिलविक्रम नेम्वाङ्ले भने, ‘दीर्घकालिन बस्ने केही उपाय छैन्। कसैले पनि तत्काल पुरानै ठाउँमा बस्नु भन्दै हुनुहन्छ ।’ उनका अनुसार, बाढीले कटान नहुने ठाउँमा सरकारी निकायले व्यवस्था गरेमा उत्तम हुने थियो । ‘पुरानो बाढीले बगाएको ठाउँमा गएर घर बनाउँदा पनि फेरि बिस्थापित हुनैंपर्छ,’ उनले भने ।

बाढीबाट बिस्थापित १२ बर्षीय दिपक विकले पुरानै स्थानमा घर बनाउनु भनेको मर्नका लागि काल खोज्न जानु जस्तै भएको बताए । ‘बाढीले घर बगाएको स्थानमा फेरि गएर घर बनाउनु भनेको मन काल खोज्न जानु जस्तै हो,’ उनले भने ।

इटहरी वडा नं. ३ को सुनौलो टोलका बाढी पीडितमध्ये अहिले २५ घरपरिवार सडकमै पाल टागेर बस्दैं आएका छन् । यसरी बाल टागेर बस्दा पीडितले कष्टकर जीवन बिताउनु परेको छ ।

यसरी बिस्थापित २५ घर परिवारलाईं शनिबार प्रयास नेपाल संस्थाले जस्तापातासँगै खाद्यन्न सामग्री प्रदान गरियो । संस्थाकी अध्यक्ष मणी जोशी र भारतमा बस्ने भाइसली थकरले बिस्थापित परिवारलाईं तीन लाखभन्दा बढीको सामान उपलब्ध गराएका हुन् । बाढी पीडितलाईं सामान उपलब्ध गराउन नेपाली काँग्रेसका महासमिति सदस्य राजीव ढुंगाना, काँग्रेस नेता रोहित प्रसाईं र विद्यार्थी नेता विकास केसीले समन्वय गरेका हुन् । नयाँ घर बनाउनका निम्ति वडा नं. ३ का वडाअध्यक्ष बालकृष्ण विष्टले भने बास र काटी कब्जा उपलब्ध गराउने भएका छन्।

बाढी पीडितलाई घर बनाउन सामान उपलब्ध गराएपनि बुढी खोलामा पानी पर्नासाथ खोला बढ्छ, खोलाले पश्चिमतर्फ कटान गर्ने हुँदा त्यस वस्तीका बासीन्दा पुरानै स्थानमा घर बनाउन चाहेका छैनन् । खोलाले कटान नियन्त्रण नगरेसम्म बाढी आउँदा जतिसुकै बेला खतरा हुने गर्छ।

वडा नं. ३ को तल्लो र माथिल्लो सुनौलो टोल गरि एक सय सात घर विस्थापित भएका थिए । विस्थापितमध्ये २५ घर परिवार सडकमै पाल टागेर बसेका छन् । अरु केही सीमित परिवार कोठा भाडा लिएर बसेका छन् भने अरु बाँकी आफ्नै पुरानो घरलाई मर्मत गरेर बसेका छन्।

इटहरी उपमहानगरपालिकाका चारवटा वडामा वडा नं. ३ सँगै, ४, ९ र १० मा बाढीले क्षती पुर्‍याउँदा छ सय घरपरिवारलाई असर गरेको छ।

 

 

प्रकाशित: १७ भाद्र २०७४ ११:०१ शनिबार

बाढी पीडित भन्छन् ठाउँ नै छैन घर कहाँ बनाउनु