नेपालमा वायु प्रदूषणले हुने रोगको कारण प्रतिवर्ष ४२ हजार एक सयको मृत्यु हुने गरेको हेल्थ इफेक्ट इन्स्टिट्युसन स्टेटस अफ ग्लोबल एयर २०२२ ले जनाएको छ।
विश्वभर वायु प्रदूषणको असरको कारण विभिन्न नसर्ने रोगको भार बढ्दै गएको बेलामा नेपालमा पनि यस्ता रोगहरूको भार बढ्दै जानुले आगामी पुस्ताको स्वास्थ्य थप जोखिममा रहेको उनीहरूले औंल्याएका छन्।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार काठमाडौं विश्वको प्रदूषण हुने पहिलो नम्बरका देशमध्येमा ९६औ नम्बरमा पर्छ। काठमाडांै उपत्यकाभन्दा बढी मधेस प्रदेश र लुम्बिनी प्रदेशमा बढी वायु प्रदूषण हुने गरेको छ।
विश्वमा वायु प्रदूषणका कारण हरेक वर्ष ७० लाख जनाको मृत्यु हुने जनाउँदै संयुक्त राष्ट्रसंघीय विकास नियोग क्लिन एयरका विज्ञ भूषण तुलाधारले भारतको उत्तर प्रदेश राज्यको प्रदूषणको प्रभाव मधेस प्रदेशमा आउनु, हिउँदमा खेतबारीको पराल जलाउने, आगो बाल्ने प्रचलन बढी हुँदा त्यसको प्रभाव नेपालमा परेको बताए।
औद्योगिक क्षेत्रहरू बढी मधेसमै हुनुले अन्य प्रदेशको तुलनामा यहाँ बढी मात्रामा प्रदूषण रहेको तुलाधारले बताए। उनका अनुसार हावामा हुने प्रदूषणको कणमा कार्बनडाइअक्साइड तथा हानिकारक ग्यास र कार्सिनोजेनिक तत्व मिश्रित हुने र प्रदूषणमा रहेका ससाना कणहरू श्वासप्रश्वासको माध्यमबाट फोक्सो हुँदै रगतको माध्यमबाट शरीरका सबै अंगमा पुग्छ र सबै अंगमा विभिन्न खालका रोग लाग्छ। प्रदूषित हावामा पिएम-२.५ आकारको कण हुने र यो सजिलैसँग श्वासप्रश्वासको माध्यमबाट फोक्सो हुँदै विभिन्न भागमा पुग्छ। तर प्रदूषणमा पिएम-१० धुलोको कण छ भने नाकबाट भित्र पस्न सक्दैन।
विश्वभर वायु प्रदूषणको असरको कारण विभिन्न नसर्ने रोगको भार बढ्दै गएको बेलामा नेपालमा पनि यस्ता रोगहरूको भार बढ्दै जानुले आगामी पुस्ताको स्वास्थ्य थप जोखिममा रहेको उनीहरूले औंल्याएका छन्।
विज्ञका अनुसार वायु प्रदूषणको असरको कारण बढ्दै गएका नसर्ने रोगको कारण नेपालीको औसत ४.६ वर्ष आयु घटेको छ। मधेस प्रदेशमा वायु प्रदूषणको कारण ७ वर्ष आयु घटेको, काठमाडौ उपत्यकामा ३.५ वर्ष घटेको छ।
सन् २०१९ को तथ्याकं अनुसार काठमाडौ उपत्यकामा प्रतिवर्ष पाँच हजार ८० जनाको वायु प्रदूषणजन्य रोगको कारण मृत्यु हुन्छ। विश्वमा प्रदूषणको कारण ५० प्रतिशत फोक्सोको क्यान्सर धुमपान प्रयोग नगरेकाहरूमा भइरहेको तथ्यांक छ। ‘पहिला ६० वर्षपछि देखिने फोक्सोको क्यान्सर अहिले ३० वर्षपछि नै भइरहेको छ,’ वातवरणविज्ञ तुलाधरले भने।
संयुक्त राष्ट्रसंघीय विकास नियोग क्लिन एयरकी अर्की विज्ञ अवान्तिका प्रियादर्शनाका अनुसार वायु प्रदूषणको कारण अन्य रोगहरू बढ्दै गएका छन्। उनको अनुसार वायु प्रदूषणले मस्तिष्कमा असर गरी डिमेन्सिया, मस्तिष्कघात, पार्किन्सन, कमजोर मानसिक स्वास्थ्य, अटिजम, न्युरोडिजेनरेसन,अल्जाइमर रोग बढ्दै गएको छ।
त्यसैगरी, मुटुजन्य रोगहरूमा स्केमिक हृदय रोग,उच्च रक्तचाप, कल्जेस्टिभ हार्ट, कार्डियक अरेस्ट, एरिथमिया, कार्डियक अरेस्टलगायतका रोगहरू छन्। प्रदूषणको कारण फोक्सोको क्यान्सर, श्वासप्रश्वासजन्य रोगहरू, सिओपिडी र आस्थामा रोगहरू बढ्दै गएको छ।
गर्भवती, नवजात शिशु, महिला, प्रदुषित वातवरणमा लामो समय बसेका,व्यस्त सहरमा बस्ने मानिसहरू, ट्राफिक प्रहरी, आगोमा खाना पकाउने महिला तथा आमासँग बस्ने बालवालिकाहरूमा प्रदूषणको असर बढी पर्ने अध्ययनले औल्याएको छ।
अध्ययनअनुसार प्रदूषणको कारण महिलाहरूमा रक्तअल्पता, बाँझोपना, गर्भपतन, गर्भकालीन मधुमेह, कम तौल भएको शिशुको जन्म या मृत जन्म, समयभन्दा पहिला नै रजनोवृत्ति, मनोरोग, पोस्टपार्टम डिपे्रसन लगायतका समस्याहरू हुन सक्छन्।
वायु प्रदूषणको बढी असर तराई र पहाडका विपन्न जनतामा परेको वातावरण बचाऊका अभियन्ता तथा चिकित्सक डा. अनुप सुवेदीले बताए।
उनले भने, ‘नीति निर्मातालाई चासो छैन, मधेसका विपन्न, सहरका विपन्न र ट्राफिक प्रहरी बढी प्रभावित हुन्छन्,’ उनले भने।
गर्भवती, नवजात शिशु, महिला, प्रदुषित वातवरणमा लामो समय बसेका,व्यस्त सहरमा बस्ने मानिसहरू, ट्राफिक प्रहरी, आगोमा खाना पकाउने महिला तथा आमासँग बस्ने बालवालिकाहरूमा प्रदूषणको असर बढी पर्ने अध्ययनले औल्याएको छ।
लामो समय प्रदूषित वातवरणमा रहेका बालबालिकाहरूको मानसिक असर पर्ने, आइक्यू क्षमता कमजोर हुने, स्मरण शक्ति कमजोर हुने तथा सम्पूर्ण शिक्षा क्षमतामा प्रभाव पार्ने प्रियदर्शनाले बताइन्। उनी भन्छिन्, ‘हामीले वास्ता गरेका हुँदैनौ, तर बालबालिकाको विद्यालय प्रदूषित क्षेत्रमा छ भने पढ्न सकिरहेका हुँदैनन्,’ यी विषयमा विकसित राष्ट्रहरूमा अध्ययन अनुसन्धान भइसकेको भए पनि नेपालमा अहिलेसम्म नभइसकेको उनले बताइन्।
देशका प्रमुख सहरसहित अन्य भेगमा रहेको परम्परागत इन्धन परम्परा, वायु प्रदूषण, सवारीसाधनबाट निस्कने धुवाँ, सडकमा पुराना गाडीहरू चल्नु,जथाभावी आगो तथा फोहोर बाल्ने प्रचलन कायमै हुने, ५० प्रतिशत भान्सा अहिले पनि दाउरा, गुइँठा जस्ता इन्धनको प्रयोग हुनुले नेपालमा वायु प्रदूषण अहिले पनि बढ्दै गएको र यसको प्रभाव पनि जनस्वास्थ्यमा बढ्दै गएको विज्ञहरूले औंल्याएका छन्।
नेपालमा सरकारले वायु प्रदूषणको लागि विभिन्न समयमा योजना तथा नीति बनाउँदै आए पनि कार्यान्वयनको तहमा बेवास्ता हुँदा अहिले पनि प्रदूषण नियन्त्रण हुन नसकेको विज्ञ तुलाधार बताउँछन्।
‘अहिले पनि सहरमा ३० प्रतिशत पुराना गाडीले कार्बनजन्य धुवाँ फालिरहेका छन्, तर सरकारले कडा कदम उठाउन सकिरहेको छैन,’ उनले भने। हरेक व्यक्ति नागरिक र सरकारले चाहेमा प्रदूषण नियन्त्रण गर्न सम्भव भए पनि हामी सबैको बेवास्ताकोे कारण नेपालीको स्वास्थ्य जोखिममा पर्दै गएकोमा उनले चिन्ता व्यक्त गरे।
विद्युतीय सवारीसाधनको प्रयोग, भान्छामा आधुनिक इन्धनको प्रयोग, विद्युतीय चुल्हो या एलपी ग्यासको प्रयोग गर्ने, पुराना गाडीमा प्रतिबन्ध, इट्टाभट्टामा वैकल्पिक इन्धनको प्रयोग, जथाभावी कृषिजन्य पराल नजलाउने, फोहोर जलाउन प्रतिबन्ध लगाउने गरेमा प्रदूषण कम गर्न सकिने तुलाधरको सुझाव छ।
गर्भवती, सुत्केरी आमा, नवजात शिशु, वृद्ध र बिरामी व्यक्ति वरिपरी धुमपान नगर्ने, गर्भवती महिला, सुत्केरी महिला, बालबालिका, वृद्ध र बिरामीलाई वायु प्रदूषणको जोखिमबाट बचाउने, स्तनपान गराउने आमा र शिशुलाई न्यानो राख्नको लागि गुइँठा, दाउरा र कोइला प्रयोग नगर्ने जस्ता उपाय अपनाउन विज्ञको सुझाव छ।
नेपालमा सरकारले वायु प्रदूषणको लागि विभिन्न समयमा योजना तथा नीति बनाउँदै आए पनि कार्यान्वयनको तहमा बेवास्ता हुँदा अहिले पनि प्रदूषण नियन्त्रण हुन नसकेको विज्ञ तुलाधार बताउँछन्।
यसका साथै जाडो मौसममा बिहानै घरबाहिर ननिस्कने, निस्कने परेमा मास्कको प्रयोग गर्ने, सकेसम्म बिहान हिँड्नुको सट्टा घाम लागेपछि मात्र हिँड्ने गरेमा उच्च प्रदूषणवाट बच्न सकिने तुलाधको सुझाव छ।
प्रकाशित: २० भाद्र २०८० ०२:०८ बुधबार