समाज

राहतको माग गर्दै बाढीपीडितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ

रौतहट— राहतको माग गर्दै रौतहटका केही गाउँका बाढी पीडितहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन्। दुई साता पहिले आएको विनाशकारी बाढीबाट क्षति भए पनि सरकार र अन्य  पक्षबाट राहत नपाएको भन्दै राजदेवी नगरपालिकाको हजमिनिया र पथरा गाउँका बाढीपिडितले प्रदर्शन गरेका हुन्।

गत साउन २९ गते आएको विनाशकारी बाढीले घर भत्काएको, खाद्यान्न सामग्रीहरु नष्ट भएको, लत्ताकपडा सबै बाढीले बगाए पनि हजमिनिया र पथरा गाउँमा राहत वितरण नभएको गुनासो गर्दै बाढीपीडितले जिल्ला प्रशासन घेराउ गरेका हुन्।

बाढी पिडितलाई खाद्यान्न देऊ, खानेपानी देऊ, बाच्नको लागि उपयुक्त राहत देऊ, बाढीमा भत्केका घरलाई पुनःनिर्माण गर जस्ता नाराहरु लगाउँदै जिल्ला प्रशासन कार्यालय अगाडि करिव डेढ घण्टासम्म प्रदर्शन गरेका थिए।

प्रदर्शनकारीलाई जिल्ला प्रशासन कार्यालयले राहत बाँड्ने आश्वसन दिएपछि उनीहरु फर्किएका थिए।    

रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले पीडितलाई राहत सामग्री पठाइए पनि केही स्थानमा नपुग्दा समस्या उत्पन्न भएकोमा चाँडै उक्त स्थानहरुमा राहत पठाउने जानकारी दिए।

बाढीले रौतहटको ८० प्रतिशत भूभाग डुबान गरेको थियो। फुसका घर बगाएको थियो भने कतिपय पक्की घरसमेत भत्काएको थियो।

प्रकाशित: १५ भाद्र २०७४ १४:४४ बिहीबार

राहतको माग गर्दै बाढीपीडितद्वारा जिल्ला प्रशासन कार्यालय घेराउ