समाज

नियम मिच्दा पेप्सिकोला दुर्घटना

पेप्सीकोलामा आइतबार बिहान भएको सवारी दुर्घटनाको सिसिटिभी फुटेज अहिले सामाजिक सञ्जालमा ‘व्याप्त’ छ। दुर्घटनाको फुटेज हेरेपछि कसैले चाकलको, कसैले पैदलयात्रीको त कसैले विपरीत दिशातर्फ मोडिएको मोटरसाइकलको गल्ती औंल्याएका छन्।  

सडकविज्ञ भने उक्त दुर्घटना कुनै एक कारण मात्र नभएर त्यहाँ देखिएका सबै पक्षबाट भएको अनुशासन उलंघनको नतिजा रहेको बताउँछन्। ‘पहिलो कुरा पैदलयात्रुबाट जेब्राक्रसिङ प्रयोग नगरी सडक काटिएको देखियो,’ सडकविज्ञ आशिष गजुरेल भन्छन्, ‘अर्को कारण भनेको तीव्र गतिमा आएको बस।’ त्यसमा पनि मोटरसाइकलले अचानक दिशा बदल्दा पनि दुर्घटननाको कारण बन्न पुग्यो।’

‘झट्ट हेर्दा पैदलयात्रुलाई जोगाउन मोटरसाइकल मोडिएको जस्तो देखिन्छ,’ गजुरेल भन्छन्, ‘तर त्यो मोडिएको दिशा गलत हुँदा दुर्घटना टर्न सकेन।’ फुटेजमा देखिएकामध्ये तीनै पक्षले ट्राफिक नियम उलंघन गरेको उनको ठम्याइ छ।  

भाइरल फुटेजमा देखिएको दृश्यमा चारजनाले बीच सडक पार गरिरहेको देखिन्छ। तीनमध्ये अगाडिकी महिलाले पिठ्यँुमा बच्चा बोकेको देखिन्छ। उनीहरूले सडक पार गर्दै गर्दा उनीहरूको अगाडीबाटै छलिएर एक मोटरसाइकलले अचानक टर्न लिएको देखिन्छ। त्यही समयमा तीव्र गतिमा आएको बसले मोटरसाइकल र सडक पार गर्दे गरेकालाई छल्दै सडकको पल्लो किनारमा हुत्तिन्छ। त्यहाँ बलेरोलगायतका सवारीलाई ठक्कर दिन्छ। सडक पार गर्दै गरेका र अचानक मोडिएको मोटरसाइलक चालक त जोगिए। तर सडकका किनारमा रहेका निर्दोष भने दुर्घटनाको सिकार बने।  

‘गल्ती गाडीको देखिन्छ यसको गति निकै बढी थियो,’ घटनास्थलमा भेटिएका नवीन खड्गी भन्छन्, ‘यसमा मैले त गाडीको गल्ती देखे।’ उनले गाडीको गल्ती देखेपछि अर्को एकले भने पैदलयात्रुलाई पनि दोष देखाए। ‘जथाभावी बाटो काट्दा यो दुर्घटना भएको हो,’ समीर प्रधानले भने, ‘नत्र यो दुर्घटना टथ्र्याे।’ अचानक मोडेको बाइकवाला आत्तिएको हुनसक्ने उनको अनुमान छ।  

आइतबार बिहानै पेप्सीकोला छाप्रोनजिक यसरी चारवटा सवारीसाधन एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भयो भने १४ जना घाइते बने।जडिबुटीबाट पेप्सीकोला जाँदै गरेको बा ३ ख ४८४८ नम्बरको बसले विपरीत दिशामा रहेका बा ६ च ५३४२ नम्बरको बोलेरो जिप, वाग्मती प्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र वाग्मती प्रदेश ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।  

समग्रमा पेप्सीकोलाको घटनाबाट पाठ सिक्नुपर्ने गजुरेलेको भनाइ छ। दुर्घटनाबाट पाठ सिक्दै यसको न्यूनीकरणमा जानु अपरिहार्य रहेको उनी सुनाउँछन्। प्रहरीले चेतनामूलक कार्यक्रम र उलंघन गर्नेलाई कडा कारबाहीसँगै बढाउनुपर्ने देखिएको उनको बुझाइ छ।

त्यो संगै जेव्राक्रसिङमा पनि विशेषा ध्यान दिनुपर्ने उनको बुझाई छ। ‘पहिलो कुरा धेरै ठाउँमा जेब्रा क्रस छैन,’ उनी भन्छन्, ‘भएको ठाउँबाट पनि क्रस गरेको पाइँदैन।’ सजिलोका लागि जहँबाट पनि बाटो काट्ने प्रवृत्तिले यस्ता दुर्घटना बारम्बार निम्ताउने उनले सुनाए। यसबाहेक पछिल्लो समयमा प्रविधमैत्री बनेर दुर्घटनाको न्यूनीकरणमा लाग्नुपर्ने गजुरेल बताउँछन्। ‘सबै ठाउँमा ट्राफिक उभिन सम्भव छैन,’ उनी भन्छन्, ‘तर सडक सुरक्षासम्बन्धी चेतना र डर सर्वसाधारणको मनमा उभिनु पर्छ।

यही डर नहुँदा हरेक वर्ष दुर्घटना बढ्दो छ। १६ वर्षयताको तथ्यांक हेर्दा सडकमा हुने सवारी दुर्घटनाको दिनहुँ सरदर संख्या ७० छ। सोही अवधिमा सडक दुर्घटनाकै कारण दिनहुँ आठभन्दा बढी व्यक्तिको ज्यान जाने गरेको छ। आव २०७९÷८० मा मात्र २३ हजार पाँच सय ९७ वटा सवारी दुर्घटनाहुँदा दुई हजार तीन सय ६८ जनाले ज्यान गुमाएको प्रहरीको तथ्यांक छ।

प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष २०६४–६५ देखि २०७९–८० सम्म दुई लाख ६२ हजार ५३ वटा सवारी दुर्घटना हुँदा ३३ हजार एक सय ९३ जनाले ज्यान गुमाएका छन् । सवारी दुर्घटनामा परी ७१ हजार एक सय ७ जना गम्भीर र एक लाख ७२ हजार एक सय ९३ जना सामान्य घाइते भएका छन्।  

सार्वजनिक सवारीको चापभन्दा बढी यात्रु राख्ने, सवारी जाँच नगराउने, सार्वजनिक यातायात सहज नहुने र पर्याप्त अनुगमन नहुँदा नेपालमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको विज्ञको बुझाइ छ।  

प्रकाशित: १९ भाद्र २०८० ०१:४६ मंगलबार

नियम मिच्दा पेप्सिकोला दुर्घटना