समाज

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै

तेह्रथुम – पछिल्लो समय जिल्लामा छोरीसहित महिला बेपत्ता हुनेको संख्या बढ्दै गएको छ । एक महिनाको अबधिमा महिला हराएकोले खोजी गरि दिन भन्दै प्रहरीमा उजुरी आउनेको  संख्या समेत बढेको छ । 

म्याङलुङ नगरपालिका– ७ की एक युवती छोरी सहित विगत दुई सातादेखि बेपत्ता भएकी छिन्। मोरङ जिल्ला स्थित बिराटचोक आफन्तमा जाने भन्दै ३३ वर्षीया राम कुमारी तामाङ बेपत्ता भएकी हुन् । उनी सगै ७ वर्षीया छोरी सुसना तामाङ साउन २८ गते देखि परिवारको सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । 

आफन्तको घरमा हिडेकी तामाङ घर नफर्किए पछि परिवार चिन्तामा परेका छन् । पति वैदेशिक रोजगारीमा रहेको बेला उनले घरबाट निस्किएर पुनः नफर्किएकोले वैदेशिक रोजगारबाट फर्किएर पत्नी र छोरीको खोजी गर्दा पनि फेला नपरेको पति जित बहादुर तामाङले बताएका छन् । 

यस्तै एक महिना अघि म्याङलुङ नगरपालिका १० बस्ने ३० वर्षीया सरिता खड्का पनि ८ वर्षीया छोरी सँग बेपत्ता भएकी छिन् । असार २६ गते विराटनगर उपचारका लागि जाने भन्दै घरबाट निस्किएकी सरिता र उनका ८ वर्षीया छोरी प्रेमिका खड्का बेपत्ता भएकोले खोजी गरिदिन प्रहरीमा उजुरी दिएको ससुरा हर्क बहादुर खड्काले बताए । उनका अनुसार सबै आफन्तमा खोजी गर्दा समेत फेला नपरेको हो । उनका पति पनि वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । 
 

प्रकाशित: १४ भाद्र २०७४ ११:२४ बुधबार

तेह्रथुममा बेपत्ता हुने महिलाको संख्या बढ्दै