समाज

वीरको सर्जिकल भवनबाट हामफालेका युवाको मृत्यु, मृतकको सनाखत हुन सकेन

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको सर्जिकल भवन छैठो तलाबाट हामफालेका युवाको मृत्यु भएको छ।

आईतवार विहान साढे ३ बजेर ४५ मीनेट जाँदा हामफालेका उनको घटना स्थलमै मृत्यु भएको हो।

प्रहरीले वीर अस्पतालको आकस्मिक कक्षमा पुर्‍याएपछि चिकित्सकले विहान ४ बजेर ४० मीनेट जाँदा मृत्यु भएको घोषणा गरेका थिए।

जनसेवा प्रहरी नयाँ सडकका डिएसपी भेषराज रिजालका अनुसार मृतक युवकको अहिलेसम्म परिचय खुल्न सकेको छैन। वीर अस्पताल वरपरका मानिसहरुले यतै देखिइरहने युवक रहेको बताएपनि औपचारिक परिचय खुल्ने गरी कसैले बताउन नसकेको बताए।  ‘स्थानीयले वेवारिसे रुपमा हिंडेको देखिरहेको बताएका छन्,तर नाम ठेगाना नखुलेपछि हामीले उनको हुलिया सहित परिपत्र जारी गरेका छौ’ उनले भने।

उनी बिरामीको आफन्त जस्तो गरी वीर अस्तालको छैठो तलामा पुगेका थिए। विहान पख उनी हामफालेका थिए। घटना लगत्तै वीर अस्पतालका सुरक्षा गार्डले देखेपछि जनसेवा प्रहरीलाई खवर गरेका थिए। करिव ३५ वर्षजस्तो देखिने गहुँगोरो बर्ण, हल्का दारी पालेको र करिव पाँच फीट उच्चाइ रहेको प्रहरीले जनाएको छ। उनको शव टिचिङ अस्पतालमा राखिएको छ।

प्रकाशित: १८ भाद्र २०८० ०७:५१ सोमबार

वीर अस्पताल