समाज

भूकम्प पीडितसँग घुस लिँदैगर्दा सव–इन्जिनियर पक्राउ

गोरखा- भूकम्पको दोस्रो किस्ता सिफारिस गर्न र घरको नक्सापास गर्न सेवाग्राही सँग घुस लिँदैगर्दा पालुङटार नगरपालिकाका सव–इन्जिनियर सुनिल देवकोटालाई अख्तियारले आइतबार पक्राउ गरेको छ।
तीन सातादेखि एक जना पीडितको भूकम्पपछि पुनःनिर्माण भएको घर सिफारिस गर्न आलटाल गर्दै पैसा मागेपछि ती पीडितले अख्तियारमा खबर गरेका थिए। पिडितको गुनासो आएपछि अख्तियार टोली पालुङटार पुगेर घुस लिँदालिँदै नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रोक्ता रमेश ढकालले बताए। उनले भने, ‘साथमा भेटिएको पैसा र घुस लिने प्राविधिक नियन्त्रणमा छन्।’
अख्तियारको टोली आइतबार पालुङटार आएर पीडितलाई पैसा दिएपछि पीडितले सव–इन्जिनियरलाई दिएका हुन्। देवकोटाले घुस लिन होटल विनितामा पुगेका थिए। सोही समयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराको टोलीले देवकोटालाई पक्राउ गरेको हो।
पैसा लेनदेनमा अन्य प्राविधिक र कर्मचारीको पनि आशंका रहेको भन्दै केहीबेर नगरपालिकाका कार्यकारी अधिकृत राकेश गुरुङलाई अख्तियार टोलीले सोधपुछ गरेको थियो। पालुङटार नगर प्रमुख दीपक कँडेलले घुस लिन अपराध भएको भन्दै अख्तियारले पक्राउ गर्नु ठीक भएको बताए।

प्रकाशित: ११ भाद्र २०७४ ११:५४ आइतबार

भूकम्प पीडितसँग घुस लिँदैगर्दा सव–इन्जिनियर पक्राउ