समाज

‘सफा सोलुखुम्बु’ अभियान सुरु

सफा सोलुखुम्बु अभियानको क्रममा दुधकुण्ड नगर क्षेत्रमा सरोकारवालाहरु सरसफाई गर्दै । तस्बिर : राधा ढुंगाना

सोलुखुम्बु – सोलुखुम्बुमा क्लिन सोलुखुम्बु अभियानको सुरुवात भएको छ । जिल्ला प्रशासन कार्यालयको संयोजनमा सोलुदुधकुण्ड नगरपालिका ४ फाप्लबाट अभियानको शुरुवात गरिएको हो। स्वच्छ सफा हराभरा सोलुखुम्बुको नामबाट शुरु गरिएको अभियानको शुभारम्भ प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले गरे। 

शुत्रबारदेखि सुरुवात गरिएको अभियानमा प्रजिअ थापाले भने, ‘सरसफाईमा नागरिक चेतना प्रवाह गर्नका लागि क्लिन सोलुखुम्बुको अभियानलाई अघि सारिएको हो ।’ उनले थपे ‘चर्चाको लागि अभियानको थालनी नभएकाले आमनागरिकको सहभागिताको लागि स्थानीय जनप्रतिनिधिहरूले विशेष भूमिका खेल्न आग्रह गर्दछु।’  

सोलुदुधुकण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले फोहोरमैला नै रोगव्याधिको स्रोत भएकाले क्लिन सोलुखुम्बुको अवधारणा प्रसंशनीय भएको बताए । शेर्पाले भने ‘क्लिन सोलुखुम्बुका लागि जनप्रतिनिधिहरूले सघाउन तयार रहेको बताए। मेयर शेर्पा सरसफाई अभियानमा नागरिक सहभागिता बढाउन, टोल सुधार समितिलाई सक्रिय पार्न आवश्यक रहेको छ ।’ स्थानीय टिकाराम विश्वकर्मा सरसफाई अभियान सफल पार्नका लागि नागरिक सहभागिता जरुर रहेको बताउँछन्।

'तत्कालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकाल हुँदा सदरमुकाममा सरसफाईको साप्ताहिक अभियान चालिएपनि सो अभियान ढकाल रहुन्जेल सम्म मात्र रह्यो । सरसफाईको अभियानलाई न उनी पछि आएका प्रमुख जिल्ला अधिकारीले निरन्तरता दिन सके, न नागरिकको तवरबाट। तत्कालीन प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको कार्याकालमा प्रत्येक हप्ता आइतबार सल्लेरी सरसफाई गरिने भए पनि उहाँको सरुवासँगै अभियान स्थगित भएको थियो। नियमित सरसफाई हुँदा बजारको मुहार फेरिएको भए पनि अभियान स्थगित हुँदा पुन फोहोर बढ्दै गएको छ । लामो समयसम्म रोकिएको सरसफाई अभियान पुन सुचारु भएको छ', शेर्पाले भने । 

प्रकाशित: १० भाद्र २०७४ १०:५७ शनिबार

सोलुखुम्बु अभियान सुरु