समाज

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा

खोटाङ– ठेकेदार कम्पनीले सडकको भित्ता खनेर मनोमानी रोडा झिक्दा खोटाङको नुनथलास्थित दुई सामुदायीक वन जोखिममा परेको छ। ठेकेदार कम्पनी लामा–नागार्जुन जेभीले सडकको भित्ता खनेर ग्राभेल गर्ने रोडा झिक्दा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी सडकको नुनथलास्थित हुर्लुङपाखा सामुदायीक वन र रुवालुङ सामुदायीक वन पहिरो र भू–क्षयको जोखिममा परेको हो । मापदण्ड मिचेर सडकको भित्ता कटिङ गरेर ढुंगा र रोडा झिक्दा नुनथलाको पानीट्याङकी भञ्ज्याङदेखी हुर्लुङवीचको जंगलका विभिन्न ठाउँमा पहिरो खसेको छ । भित्ता काटिएको ठाउँबाट खस्न थालेको पहिरो नरोकिँदा वन जोखिममा परेको हुर्लुङपाखा सामुदायीक बन उपभोक्त समितिका अध्यक्ष टिकाराम तामाङले बताए । सडक मुनिका कतिपय रुख र बोटविरुवा ढुंगामाटोले पुरिएका छन्।

हुर्लुङपाखाका जंगल क्षेत्रमा रोडा र ढुंगाको खानी भएकाले ठेकेदारले कालोपत्रे गर्नुअघि सडकमा ओछ्याइने सव–वेसका लागि ढुंगा र रोडा झिक्न थालेका हुन्। जंगलवीचमा रहेको सडकको भित्ताबाट स्काभेटर प्रयोग गरेर मापदण्ड विपरित सडकको भित्ता काटिँदा हुर्लुङपाखा सामुदायीक वन पहिरो र भु–क्षयको उच्च जोखिममा परेको छ । यस्तै, रुवालुङ सामुदायिक वनमा रहेको खानेपानीको मुहानमा सडकले निकालेको ढुंगामाटो थुप्रिएको स्थानीय बताउँछन्। सडकको भित्तामाथिबाट खसेको कतिपय ठाउँमा सल्ला र कटुसका रुख नै ढलेका छन्। पहिरोसंगै झरेका रुखले विजुलीको पोल लडाउँदा र सडकमै तेस्र्याउँदा सवारी साधन आवतजावतमै वाधा उत्पन्न हुने गरेको छ। सडकको भित्ता खोतलिँदा ढिस्को खस्ने, सुख्खा पहिरो जाने समस्या पनि निम्तिएको अध्यक्ष तामाङले बताए।

बन समुहका अनुशार ठेकेदार कम्पनीले सडकको भित्ता र जोखिमयुक्त स्थानमा डिलमुनि सपोर्ट पर्खाल लगाउने भने पनि सम्झौता अनुशारको काम गरेको छैन। अनुगमनकाक्रममा मापदण्ड विपरित सामुदायीक वन क्षेत्रको सडक भित्ता काटिएको र वनलाई जोखिममा पारेको पाइए पछि जिल्ला वन कार्यालयले सामुदायीक वन उपभोक्ता समितिलाई कारबाही गरेको छ। सो स्थानबाट निकालिएको ढुंगा भने क्रसरमा लगेर गिटी बनाउने गरेको पाइएको छ । सामुदायिक वन र सडक विभागसँग भएको सम्झौता अनुरुपको क्षतिपुर्ती समेत वन समुहले नपाएको हुर्लुङपाखा सामुदायीक बन उपभोक्ता समितिका अध्यक्ष तामाङले बताए ।

सडक कालोपत्रे सुस्त

ठेकेदारको लापरबाहीका कारण दिक्तेल–हलेसी सडक कालोपत्रे सम्पन्न भइसक्नु पर्ने बेलामा दिक्तेल–हलेसी सडक कालोपत्रेका काम आधाभन्दा केही प्रतिशत वढि मात्र सकिएको छ। ठेकेदार कम्पनीले दिक्तेल–हलेसी सडक कालोपेत्रका विभिन्न चरणका काम १२ जुन २०१६ मा सम्पन्न गर्नेगरी १४ जुन २०१४ मा सुरु गरेको थियो । हलेसी–विजुले (१२ किलोमिटर), विजुले–हुर्लुङ (१२ किलोमिटर) र हुर्लुङ–दिक्तेल (११.४३ किलोमिटर) खण्डमा विभाजन गरेर कालोपत्रेका लागि स्तरोन्नती सुरु गरेको ठेकेदारले कालोपत्रेका काममा चरम लापरवाह गरेको पाइएको छ । हलेसी–विजुले सडक खण्डको काम सन्तोषजनक देखिए पनि दिक्तेल–हलेसी सडकखण्ड अन्तरगत विजुलेदेखि हुर्लुङसम्मको सडक कालोपत्रेको जिम्मा लिएको ठेकेदार कम्पनी लामा–नागार्जुन जेभी तथा हुर्लुङदेखि दिक्तेलसम्मको कामको जिम्मा लिएको लामा–नागार्जुन–त्रिसुली जेभीले सुस्त र गुणस्तरहिन काम गरिरहेको स्थानीयको गुनासो छ । लामा–नागार्जुन जेभीको कार्यक्षेत्रमा महिनौंदेखि कामदार समेत देखिन्नन् । कतिपय सडक खण्डमा पर्खाल, ड्रेन, नाली निर्माण र वेस लगाउने काम समेत भएको छैन ।

विजुले–हुर्लुङ र हुर्लुङ–दिक्तेल सडक कालोपत्रे गर्नुअघि राखिएको सव–वेस मापदण्ड अनुशार नराखिएको र वेसका लागि तयार पारेको गिटी समेत गुणस्तरहिन पूष्टि हुनुले ठेकेदारको टालटुल पार्ने नियत देखिएको खोटाङ उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष खुसनारायण शैंजूले बताए । एसियाली बिकास बैंक एडिबिको ५२ करोडमा दुई वर्षभित्र कालोपत्रे गर्नेगरी २०७१ साउनको अन्तिम साता सडक स्तरोन्नतिको काम थालिएको थियो।

प्रकाशित: १० भाद्र २०७४ ०७:३६ शनिबार

मादपण्ड मिचेर ढुंगा रोडा झिक्दा सामुदायिक वन जोखिममा