समाज

बाढी र डुबान चुनावी मुद्दा

तिलाठी (सप्तरी)- साउन २८ गते सप्तरीका नदीमा आएको भीषण बाढीले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिकालाई हदैसम्म प्रभावित गर्‍यो। स्थानीय प्रशासनका अनुसार बाढीले पछिल्लोपटक सबैभन्दा बढी प्रभावित भएको तिलाठी कोइलाडी नै हो।

 यो गाउँपालिकाका लागि बाढी नौलो होइन। बर्सेनिजसो डुबानमा पर्ने पीडा खेप्न यहाँका बासिन्दा अभ्यस्त भइसकेका छन्। जिल्लाको दक्षिणी सिमानामा पर्ने तिलाठी, लौनियाँ, बेल्ही, सकरपुरा, कोइलाडी, को.बर्साइन, बनरझुला, कुसहा, तोपा, मन्सापुर, बभनगामा कट्टीलगायतका गाउँ मिलाएर तिलाठी कोइलाडी गाउँपालिका बनाइएको हो। यी गाउँ बाढीको उच्च जोखिममा रहँदै आएका छन्।

विगतका चुनावमा सही जनप्रतिनिधि छनोट गर्न नसक्दा हाम्रो यस्तो दुरवस्था भएको हो। हाम्रो चाहना बाढी र डुबानको स्थायी समाधान हो। यी समस्यालाई अजेन्डा बनाउनेलाई हामीले भोट दिने हो।- मिश्रीलाल मुखिया, स्थानीय, तिलाठी–कोइलाडी।

यस गाउँपालिकाको पूर्वतिर कोसी नदी छ। बस्तीको पूर्वी छेउ हुँदै कोसी पश्चिमी तटबन्ध छ। जसमा रहेका आधा दर्जनभन्दा बढी स्लुस गेटबाट वर्षायाममा कोसीको पानी बस्ती पस्ने गर्छ।

 खाँडो र जिता नदी यस गाउँपालिकाको बीचबाट बग्ने गर्दछन्। तर, दशगजा नजिकमा भारतीयले बनाएका बाँधका कारण ती दुवै नदीको दक्षिणतर्फको बहाव दशकौंदेखि थुनिएको छ। असारदेखि असोजसम्मको वर्षा र बाढीका बेला नदीको पानी सहजै दक्षिणतर्फ बग्न नसक्दा दुवै नदीका तटबन्ध भत्किएर भलपानीले यस गाउँपालिकाका विभिन्न बस्ती तहसनहस हुने गरेका छन्।

 पछिल्लो बाढीले यस गाउँपालिकाका ५ हजारभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएको गाउँपालिकाका प्रमुख सरोज झाको भनाइ छ। करोडौं मूल्यबराबरका भौतिक संरचना बाढीले क्षतिग्रस्त भएको उनको भनाइ छ।

 'बाढीले गाउँपालिकाका झन्डै ८५ प्रतिशतभन्दा बढी क्षेत्र डुबानमा परेको थियो, ९० प्रतिशतभन्दा बढी जनसंख्या प्रत्यक्ष प्रभावित भएका छन्', उनले भने, 'सडक, कलभर्ट, पुल, नाला, तटबन्धलगायतका पूर्वाधार क्षतविक्षत भएका छन्।'

 लामो समयदेखि स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि नहुँदा बाढी र डुबानबाट जोगिने स्थायी समाधान खोज्नेतर्फ केन्द्रित हुन नसक्दा यस्ता खालका पीडा भोग्नुपर्ने बाध्यता रहेको अधिकांश गाउँलेको भनाइ छ। स्थानीय तहको आसन्न निर्वाचनमा आफूहरूको मुख्य अजेन्डा डुबान र बाढी समस्याको दीर्घकालीन समाधान नै रहने स्थानीय युवा उदयकान्त झा बताउँछन्।

 'बाढी हाम्रो साझा समस्या हो, कुनै एक गाउँ वा एक बस्तीमात्रै बाढीले प्रभावित हुँदैन, सिंगो गाउँपालिकाको उस्तै अवस्था छ', उनले भने, 'बाढी तथा डुबान समस्याको स्थायी समाधानका लागि भरपर्दो योजना भएका उम्मेदवारलाई नै हामीले भोट हाल्छौं।'

 पार्टी, जातपात, समुदाय, पैसाभन्दा पनि वास्तविक मुद्दाका आधारमा यसपटक मतदान गर्ने अर्का युवा गजेन्द्र मण्डल बताउँछन्। 'वर्षायाममा राति चैनले निदाउँन सक्ने अवस्था हुँदैन, कति बेला खाँडोको तटबन्ध भत्किने हो र कतिखेर बाढीले घर बगाउने हो भन्ने पिरलोका बीच बाँच्नुपर्ने बाध्यता छ', तिलाठी कोइलाडी–२ लौनियाँ घर भएका मण्डलले भने, 'पूर्वतर्फ हाम्रो बस्तीछेउबाटै खाँडो नदी बग्ने गर्दछन्, तटबन्धको नाममा बर्सेनि ब्रह्मलुट हुनेगर्छ।' भोट माग्न आउनेलाई आफूहरूले पहिलो प्रश्न डुबान तथा बाढी समस्या सामाधानका लागि उनीसँग भएका योजनाबारे नै हुने गरेको मण्डलको भनाइ छ।

 'विकासको दृष्टिले यो गाउँपालिकाको अवस्था निकै जर्जर छ, एउटा पनि सडक, तटबन्ध, नाला, पुल वा कलभर्टको अवस्था २/४ वर्षसम्म धान्न सक्ने छैन', तिलाठी कोइलाडी–३ सकरपुराका मिश्रीलाल मुखियाले भने, 'एक त बजेटको सदुपयोग छैन, त्यसमाथि बर्सेनि आउने बाढीले ती भौतिक पूर्वाधारलाई तहसनहस पार्नेगर्छ।'

 बाढी र डुबान समस्याको स्थायी समाधान नभए सम्म यस गाउँपालिकामा विकास निर्माण गर्न नसकिने बताउँदै मुखियाले अजेन्डाका आधारमा स्थानीय तहमा नेतृत्व चयन गर्न सकिए गाउँठाउँको अवस्थामा सुधार आउने बताउँछन्। उनी भन्छन्, 'विकासका मुख्य आधार बाढी नियन्त्रण योजना भएका उम्मेदवारलाई मात्रै भोट हाल्छु।'

 तिलाठी–कोइलाडी ऐतिहासिक ठाउँ हो। सप्तरीमात्रै नभई मुलुककै राजनीतिमा यस ठाउँको उल्लेख्य योगदान रहेको छ। मधेशवादका जनक स्वर्गीय गजेन्द्रनारायण सिंह, गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंह, गणतन्त्रका लागि ज्यान गुमाएका साकेतचन्द्र मिश्र, पञ्चायती व्यवस्थाविरुद्ध लामो संघर्षमा ज्यान गुमाएका प्रजातन्त्र सेनानी कुशेश्वर पाठक, कमानन्द मिश्र, पहिलो संविधानसभाका सदस्य शिवचन्द्र मिश्रदेखि लिएर राजपुरोहित स्व. यदुनन्दन मिश्रलगायतका जन्मथलो तिलाठी–कोइलाडी नै हो।  यसबाहेक वर्तमान राजनीतिक र प्रशासनिक निकायमा उच्च ओहोदामा पुगेका थुप्रै नाम जोडिएका छन् यस गाउँपालिकासँग।

 प्रजातन्त्रका लागि भएको संघर्षका बेला यो गाउँपालिकाभित्रका बस्ती बिपी कोइराला, कृष्णप्रसाद भट्टराई, सुवर्ण शमशेर, गणेशमान सिंहजस्ता प्रजातन्त्रवादीको आश्रयस्थल हुने गर्थ्यौ। भारतीय स्वतन्त्रता संग्रामका बेला जयप्रकाश नारायण, रामनोहर लोहियाजस्ता ठूला भारतीय नेतालाई पनि यस ठाउँले आश्रयमात्रै दिएको थिएन, तत्कालीन समयमा राणा शासकले समातेर जेल हाल्दा यहीँका बासिन्दा जयमंगल सिंह, कमानन्द मिश्रलगायतले हनुमाननगर जेलमा आक्रमण गरी उनीहरूलाई जेल मुक्त गरी भारत पुर्‍याइदिएका थिए।

 बदलिँदो राजनीतिक परिवेशमा यी गाउँबस्तीमा विकास नभएको स्थानीयको गुनासो छ। 'राजनीतिक संघर्षका बेला हामीले निकै योगदान दियौं तर उपलब्धि भने पाउन सकेनौं', ६५ वर्षीय अञ्जनीकुमार दासले भने, ' विगतका चुनावमा सही जनप्रतिनिधि छनोट गर्न नसक्दा हाम्रो यस्तो दुरवस्था भएको हो। हाम्रो चाहना बाढी र डुबानको स्थायी समाधान हो। यी समस्यालाई अजेन्डा बनाउनेलाई हामीले भोट दिने हो।'

 'गाउँपालिकाको बीचबाट बग्ने खाँडो र जिता नदीलाई कसरी नियन्त्रण गर्ने?', 'दशगजामा थुनिएका नदीलाई कसरी निकास दिने?', 'बाढीबाट जोगिन कस्ता भौतिक संरचना निर्माण गर्नुपर्ने?' , 'बाढीले क्षति पुर्‍याएका गाउँपालिकाभित्रका सडक, पुल, कलभर्ट, नालालगायतका व्यवस्थापन कसरी गर्ने?', 'ढलनिकास संरचनाका अभावमा बस्तीमा जम्ने पानी निकासका लागि के गर्ने?' जस्ता प्रश्नका उत्तर लिएर मात्रै भोट माग्न आउन उम्मेदवारलाई गाउँलेको आग्रह छ।

प्रकाशित: १० भाद्र २०७४ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App