समाज

किस्ट बैंकको १२ करोड डुबाउने पक्राउ

काठमाडौं— बैंकिङ् कसूर मुद्दामा पुनरावेदन अदालत पाटनले दोषी ठहर गरेका जम्को प्रकाशन अनामनगरका सञ्चालक देवकी बस्ताकोटीलाई मोरङको टंकीसिनवरीबाट प्रहरीले पक्राउ गरेको छ। बैंक ठगी प्रकरणमा अदालतले २०७३ जेठ १३ गते फैसला सुनाउँदै उनलाई दोषी ठहर गरेको थियो।

साविक भक्तपुर, दुवाकोट गाबिस–३ की ४२ वर्षीया वस्ताकोटीलाई ४ बर्ष कैद र ४ करोड २६ लाख ८३ हजार ५ सय ११ रुपैयाँ जरीवानाको सजाय अदालतले सुनाएको थियो। त्यसपछि उनी लुकुछिपी फरार रहँदै आएकोमा बिहीबार पक्राउ परेकी हुन्।

वस्ताकोटीले व्यबसायिक कारोबार बिस्तार गर्ने प्रयोजनको लागि किष्ट बैंकबाट बैंकका तत्कालिन सिईओ कमलप्रसाद ज्ञवालीको सहयोगमा कर्जा स्वीकृति गराएकी थिइन्। स्टकमा रहेका पुस्तकको मुल्य बराबरको रकम ६ करोड ६ लाख ४६ हजार ५ सय ९० रुपैयाँ उधारोमा गएका पुस्तकको उठाउन बाँकी रकम ५ करोड ५० लाख ४८ हजार र भक्तपुरको साविक दिब्यपुरी गाबिस–१६ का बिभिन्न स्थानका कुल क्षेत्रफल १–५–१–० को जग्गाहरुको मुल्य समेत गरी कुल १७ करोड ५ लाख हुने गरी कमसल धितोको अधिक मुल्याङ्कन गराई उनले २०६७ असार ३१ गते १२ करोड कर्जा लिन सफल भएकी थिइन्। सो कर्जा दुरुपयोग गरी बैंकलाई ठगी गरेपछि अदालतमा मुद्दा परेको थियो।

बस्ताकोटीलाई फैसला कार्यान्वयनको लागि मोरङ्ग जिल्ला अदालतमा पेश गरेको र निजलाई अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय मोरङ्गमा पठाइएको उक्त सिआइबीले जनाएको छ।
 

प्रकाशित: ८ भाद्र २०७४ १४:२९ बिहीबार

किस्ट बैंकको १२ करोड डुबाउने पक्राउ