समाज

नदीमा डुबेर एक बालिकाको मृत्यु, दुई बाँच्न सफल

काठमाडौं— पर्साको ओरीया खोलामा डुवेका तीन जना बालिकामध्ये हराएकी एक जना बालिकाको बिहीवार बिहान शव फेला परेको छ। बुधबार दिउसो घास काट्न गएका छिपहर माई गाउँपालिका ३ पर्ने जयमंगलापुरको झलमैयाका तीन जना बालिकाहरु नदी तर्ने क्रममा बगेका थिए।

प्रहरीका अनुसार उनीहरुमध्ये दुई जनाको भने लगतै स्थानीयले उद्धार गरेका थिए भने झलमैयाका मनु भनिने शिव साह कानुकी १० वर्षिया छोरी सुनिता कुमारीको शव पानीको भेलमा हराएकी थिइन्।

ओरिया नदीमा खोजतलासको क्रममा हराएकी बालिकाको विहीवार बिहान शव फेला परेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बेश क्याम्प बोर्डर आउट पोष्ट भिस्वा बन्जारीका सशस्त्र प्रहरी निरीक्षक चन्द्र सिँह महराको कमाण्डमा खटिएको १५ जना सुरक्षाकर्मीको टोलिले ओरिया खोलामा खोजतलास  गर्दा गाउँदेखि एक किलो मिटर दक्षिणतर्फको बगरमा सुनीताको शव फेला परेको थियो।

खोलामा डुबेका मध्ये झलमहिया गाउँ कै कोरा साहकी छोरी सुमित्रा साह र प्रभु यादवकी छोरी पार्वती यादवलाई तुरुन्तै उद्धार गर्न सकएकोले उनीहरु बाँच्न सफल भए । मृतक बालिका सुनीताको शव पोष्टमार्टमका लागि वीरगन्जको नारयणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको छ।

प्रकाशित: ८ भाद्र २०७४ १४:०३ बिहीबार

नदीमा डुबेर बालिकाको मृत्यु दुई बाँच्न सफल