समाज

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत

रौतहट- धुर्मुस सुन्तली फाउण्डेशनले रौतहट सदरमुकाम गौरमा बुधवार ८० परिवारलाई एक महिना सम्म पुग्ने गरी राहत सामग्रीहरु वितरण गरेका छन्।      

दलित, मुसहर बस्तीका परिवारका साथै गौर नगरपालिका र राजदेवी नगरपालिकामा घर भत्किएर विस्थापित भएका करिव ८० परिवारलाई बाल मन्दीरमा बोलाएर राहत सामग्री वितरण गरेका हुन्। फाउण्डेशनका धुर्मुस अर्थात सिताराम कट्टेलले गरिब असहाय एवं मुसहरहरुलाई मानवीयताको नाताले राहत वितरण गर्न आएको बताए।

उनले ३० केजी चामल, ५ केजी दाल, सिरक, डस्ना, झुल, टर्च, चाउचाउ, विस्कुट, महिलालाई सेनेटरी प्याड, मसला, टिसर्ट लगायतका एक महिना सम्म पुग्ने गरी खाद्यान्न सामग्री वितरण गरेका थिए। राहत पाउने असंख्य छ तर बास्तविक रुपमा एक छाक खान धौ धौ परिरहेका तथा ओछ्याउने साधन नहुँदा भुईमै सुतिरहेका करिव ८० परिवारलाई राहत विरतण गरिएको जानकारी दिए।

गौर नगरपालिका ३ मुसहर बस्तिकी ६० वर्षीया धरहोरी देवी माझी घर भत्किएर रुखमुनी भुईमै सुतिरहँदा धुर्मुस सुन्तली फाउण्डेशनबाट राहत पाएकोमा निकै खुशी लागेको बताइन्।

यस्तै गौर ८ मुस्लिम बस्तिका करिब २५ जनाले राहत पाएका छन्। अहिले सम्म कहीँ कतैबाट राहत नपाएको जेनतेन गुजारा चलाउँदै आएको र अहिले राहत पाउँदा खुशी लागेको ६५ बर्षिया अमना खातुनले बताइन्।

गौर स्थित वाल मन्दिर निमाविमा धुर्मुस-सुन्तली फाउन्डेसनले बाढीको कारण घरवार विहिन भएका ८० परिवारलाई फुल प्याकेज राहत सिरक, डसना, तकिया, दरी, त्रिपाल, दाल, चामल, तुथपेस्ट, सावुन, तौलिया, औषधी लगायतका दैनिक अत्यावस्यक सामग्री वितरण गरेको थियो।

 

प्रकाशित: ७ भाद्र २०७४ १४:३२ बुधबार

रौतहटका बाढीपीडितलाई धुर्मुस-सुन्तलीको राहत