समाज

पैसा कमहुँदा लुम्बिनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम बन्द

पाल्पा-  सुत्केरी गराए वापत पाउने रकम कम हुँदा जिल्लाको एकमात्र मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम सुचारु हुन सकेको छैन। सरकारसँग लुम्बिनी मेडिकल कलेजको सम्झौता असार मसान्तमा सकिए पनि नविकरण हुन सकेको छैन। २५ बर्थिङ्ग सेन्टर रहेको पाल्पामा अधिकांश गर्भवती महिला युनाईटडेड मिशन अस्पताल र लुम्बिनी मेडिकलमा सुत्केरी हुन पुग्ने गरेका छन् । दुवै नीजि अस्पतालमा आमा सुरक्षा कार्यक्रम सञ्चालन नहुँदा गर्भवती आमाहरु थप आर्थिक भार बोक्न बाध्य छन्। जिल्लाको एकमात्र नीजि अस्पतालमा पाँच वर्षदेखी चल्दै आएको सेवा बन्द भएको छ। लुम्बिनी मेडिकल कलेजमा चलिरहेको यो सेवा साउन १ गतेदेखी बन्द भएको हो। युनाईटेड मिशन अस्पतालले भने सरकारले उपलब्ध गराउने रकम कम हुने भन्दै अहिलेसम्म यो कार्यक्रम सुरु गर्नै नमानेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

अस्पतालले साधारण सुत्केरी गराउँदा तीन हजार र जटील सुत्केरीको सात हजार रुपैयाँ सरकार मार्फत प्राप्त गर्छ। सरकारले दिने रकममा महिला सुत्केरी गराउन नसकिने भन्दै सेवा सूचारु गर्न आनाकानी गरेका हुन्। सुत्केरी आमाले आमा सुरक्षा कार्यक्रम लागु भएको स्वास्थ्य संस्था मार्फत् सेवा लिँदा एक हजार रुपैयाँ यातायात खर्च पाउने गर्दछन्। यसमा नियमित गर्भ परीक्षण गराए बापत थप चार सय रुपैयाँ पनि सरकारले यसै कार्यक्रम मार्फत् प्रदान गर्दै आएको छ।

लुम्बिनी मेडिकल कलेजका सूचना अधिकारी कृष्ण पराजुलीले २०६७ सालदेखी एउटै रकममा अहिलेसम्म सुत्केरी गराउँदै आउँदा घाटा भएको बताए। उनी भन्छन्, ‘सरकारको कार्यक्रम लागु गर्नुपर्छ भन्ने बाध्यकारी होईन। त्यै पनि बाध्यताले सेवा बन्द भएको छ । हामीले घाटा भयो भनेर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालयलाई ध्यानाकर्षण गराएता पनि खासै चासो नभएका कारण सेवा बन्द भयो।’ सरकारको सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रम लागु भैरहेको छ। यो कार्यक्रम लागु गर्न प्रक्रिया संवादहरु अगाडी बढिरहेको छ, पराजुलीले भने। वार्षिक दुई हजार पाँच सय जना गर्भवती महिलाहरुले औसतमा यो सेवा लिँदै आएको लुम्बिनी मेडिकल कलेजले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जिल्ला स्वास्थ्य कार्यालय र मेडिकल कलेज बीच सम्झौता सकिए पनि तानसेन नगरपालिकासँग समन्वय गरेर सेवा निरन्तर गर्न सकिने बताए। उनी भन्छन्, ‘सरकारले मेडिकल कलेजलाई पठाउने रकम तानसेन नगरपालिकाको खातामा पठाएको छ । अब स्थानीय तहले नै उक्त सम्झौता गर्नुपर्छ।’

तानसेन नगरपालिका प्रमुख अशोककुमार शाहीले आमा र बच्चाको स्वास्थ्य जस्तो विषयमा लुम्बिनी मेडिकल कलेजले खेलवाड गर्न नहुने बताए। मेडिकल कलेजले रकम कम भयो यो रकममा गर्न सक्दैनौ भनेर लिखित रुपमै जानकारी गराएको छ । उनी भन्छन्, ‘अस्पताल सञ्चालन गर्नेले सरकारको काम गर्दैनौ भन्न पाईदैन। साँच्चै रकम कम भएको भए त्यस विषयमा छलफल गनुपर्छ । गर्भवती महिलालाई सरकारले दिएको सुविधा पाउनुपर्छ।’

युनाईटडेड मिशन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा पाल्पासँगै स्याङ्जा, गुल्मी, अर्घाखाँची, रुपन्देही, पर्वत र बाग्लुङ्ग जिल्लाबाट समेत सुरक्षित सुत्केरी हुन भन्दै महिलाहरु आउने गरेका छन् । जसका कारण पहिलो पटक गर्भ परीक्षण गराउनेको संख्या जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कमा सत प्रतिशतभन्दा बढी देखिएको छ । दोस्रो, तेस्रो र चौथो परीक्षण गराउने भने ६१ प्रतिशतमात्र रहेका छन्। महिला गर्भवति हुँदा ४, ६, ८ र ९ महिनामा स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनुपर्छ । ८८ प्रतिशत गर्भवति महिला संस्थागत सुत्केरी हुने गरेका छन्।

 

प्रकाशित: ७ भाद्र २०७४ १०:२८ बुधबार

पैसा कमहुँदा लुम्बिनी मेडिकल कलेजमा आमा सुरक्षा कार्यक्रम