समाज

वागमती नदिमा र्‍याफ्टिङ गरिने

पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले वागमती नदिमा र्‍याफ्टिङ कार्यक्रम हुने भएको छ।

जिल्ला समन्वयन समिति, काठमाडौंको आयोजना तथा नेपाल र्‍याफ्टिङ एण्ड क्यानोइङ संघको प्राविधिक सहयोगमा र्‍याफ्टिङ कार्यक्रम यहि भदौ १६ गते हुन लागेको हो।

जिल्ला समन्वयन समिति काठमाडौंले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै सबै स्थानीय निकायको सहकार्यमा हामी सँगसँगै सहकार्य गरौं भन्ने नारा लिएर ऐतिहासिक बागमति नदिमा र्‍याफ्टिङ र्‍याली गर्ने जानकारी दिएको हो। गोकर्णेश्वर नगरपालिकास्थित सुन्दरीजलदेखि शुरु भएको र्‍याफ्टिङ कीर्तिपुर नगरपालिकाको चोभार पुगेर समापन हुनेछ।

जिल्ला समन्वयन समिति, काठमाडौंका प्रमुख सन्तोष बुढाथोकीले काठमाडौं जिल्लाभित्र रहेको काठमाडौं महानगरपालिकासहित दश वटै स्थानीय निकायले वागमती सभ्यतालाई जोगाउने अभियानमा साथ दिने बताए। कुल ४५ वटा डुङ्गाले सुन्दरजलदेखि चोभारसम्म २५ किलोमिटरको दूरी पार गर्नेछ। प्रत्येक ढुङ्गामा एउटा गाइडसहित जनप्रतिनिधि र स्थानीय गरी छ जना हुने नेपाल र्‍याफ्टिङ एन्ड क्यानोइङ संघका अध्यक्ष राजीव श्रेष्ठले जानकारी दिए।

बिहान ७ः३० देखि शुरु भएको यात्रा साँझ ५ः३० सम्म सञ्चालनमा हुनेछ। यस अवधिमा सुन्दरीजलबाट उत्तर गयासम्म ८ किलोमिटर यात्रा गरेपछि पहिलो चेक पोइन्ट अन्त्य हुनेछ। त्यसपछि उत्तर गयाबाट गोकर्णेश्वर मन्दिरसम्म पाँच किलोमिटर र्‍याफ्टिङ हुनेछ। सोही मन्दिरबाट एल्लो ब्रिजसम्म चार किलोमिटरको यात्रा गरेपछि तेस्रो चेक पोइन्ट सकिनेछ।

त्यस्तै अन्तिम चेक पोइन्ट एल्लो ब्रिजदेखि ८ किलोमिटरको यात्रा चोभारमा गएर टुङ्गिङने आयोजक जिल्ला समन्वयन समिति, काठमाडौंकले जनाएको छ।  

प्रकाशित: १४ भाद्र २०८० ११:३९ बिहीबार

र्‍याफ्टिङ