समाज

जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड

आज जनैपूर्णिमा एवं रक्षा बन्धन। देशभरका शक्तिपीठ र घरघरमा ब्राह्मण पुरोहितद्वारा मन्त्रिएको यज्ञोपवीत र दिदी बहिनीहरूले राखी बाँधिदिने प्रचलन छ। प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षा बन्धन (ऋषि तर्पणी) पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षा बन्धन धारण गरेर मनाइँदै छ।

पूर्णिमाका दिन बिहानैदेखि वैदिक सत्य सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षा सूत्र बाँध्छन्। सो अवसरमा काठमाडौंमा पशुपतिनाथ लगायतका देवालय र ललितपुरको कुम्भेश्वर लगायतका मन्दिरमा भक्तजनको भीड रहेको छ।

तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षा सूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षा बन्धनको परम्परा हालसम्म पनि प्रचलित छ।

प्रकाशित: १४ भाद्र २०८० ०६:४६ बिहीबार

जनैपूर्णिमा कुम्भेश्वर पशुपति जनैपूर्णिमामा कुम्भेश्वर र पशुपतिमा भक्तजनको भीड