समाज

रोल्पाका स्वास्थ्य संस्थामा औषधीको अभाव

रोल्पा- रोल्पाको एक मात्र अस्पताल लगायत गाउँका स्वास्थ्य संस्थामा औषधीको अभाब भएको छ। सरकारले निशुल्क दिने भनिएका औषधी पनि अस्पतालमा छैनन्।

केहि दिन यता जिल्ला अस्पताल लगायत प्राय सबै स्वास्थ्य संस्थामा ज्वरोका बिरामिको चाप छ। तर जिल्ला अस्पताल मै ज्वरो रोक्न प्रयोग गरिने सिटामोल नै छैन। बिरामि हुनेमा बालबालिकाको संख्या धेरै छ तर उनिहरुलाई आबस्यक पर्ने झोलमा सिटामोल अस्पतालमा नहुँदा थप समस्या परेको छ।

‘हामीले स्टोरलाई जानकारी गराएको धेरै भयो तर सुनुवाई भएको छैन', निशुल्क औषधी बितरण कक्षकी दिब्या थापाले बताईन। ‘स्टोरमा पनि धेरै औषधि सकिन थालेको छ । झोलमा सिटामोल यहाँ पनि छैन।’ जिल्ला स्वास्थ्य कार्यालयका स्टोरकिपर मनिराम बुढाले भने।

औषधि सकिएको बिषयमा जानकार भए पनि जिल्ला स्वास्थ्य कार्यालय मौन रहेको छ। ‘हिजो मात्र ६ लाखको कार्यक्रम आएको छ। त्यो पनि महामारीका लागी हो। अब हामीले औषधी सप्लाई गर्दैनौ। औषधी सप्लाईको सबै जिम्मा नगरपालिका र गाउँपालिकाको हो । अस्पतालको समस्या उनैले हेर्छन।’ जिल्ला अस्पताल तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. भबानी प्रशाद शर्माले भने।

भर्खरै नगर परिषद सकाएको रोल्पा नगरपालिका लगायत अन्य गाउँपालिकालाई आफ्नो मातहतको स्वास्थ्य संस्थामा औषधी सकिएको जानकारी समेत छैन। ‘केहि बजेट त हामीले नगर परिषदबाट छुट्टाएका छौ। टेन्डर प्रकृयामा जानु पर्ने छ । अझै केहि समय लाग्छ’, रोल्पा नगरपालिकाका मेयर पूर्ण केसिले भने।

उता थवाङ, लुङग्री, सुकिदह, सुनछहरी, सुबर्णावती लगायत गाउँपालिका भित्रका स्वास्थ्य संस्थामा पनि औषधी अभाब रहेको छ। ‘हाम्रोमा त सिटामोल सकिएको धेरै भयो। झोल, चक्कि केहि छैन । पखाला लाग्दा प्रयोग गरिने मेट्रो पनि सकिएको छ। एन्टीबायोटीक पनि छैन। सबै किन्नुस भन्छौ।’ थवाङ स्वास्थ्य चौकी ईन्चार्ज रामाकान्त चौधरीले भने।

प्रकाशित: ६ भाद्र २०७४ ०९:५२ मंगलबार

रोल्पाका स्वास्थ्य संस्थामा औषधीको अभाव