सुर्खेतको भेरीगंगा नगरपालिका ३ का मानबहादुर खड्का घरमा काम गर्दै थिए। २०६२ साल मंसिर ४ गते दिउँसो माओवादी कार्यकर्ता चन्दा माग्न घरमा आइपुगे। उनले चन्दा दिन मानेनन्। माओवादी कार्यकर्ता रित्तै फर्किए। मध्यराति फेरि मानबहादुर घर्ती, विनोद घर्ती, मानबहादुर बिसीसहितका माओवादी कार्यकर्ता उनको घरमा आए ।
‘चन्दा नदिएको भन्दै मेरो छोरालाई रातभर कुटपिट गरेर भोलिपल्ट (मंसिर ५) डोरीले दुवै हात पछाडि बाँधेर माओवादीले लगेका हुन्’, ६५ वर्षीया आमा चन्द्रकली खड्काले भनिन्, ‘त्यसयता छोराको न लास देखेका छौं, न सास आइपुगेको छ।’
छोरालाई कुटपिट गर्ने र हात बाँधेर लिने सबैलाई उनले चिनेकी छन्। ‘उतिबेलै मैले प्रहरीमा छोरा अपहरण गर्नेहरूको नामसहित किटानी जाहेरी दिएँ, अधिकारवादी संघसंस्था गुहारें, उनले भनिन्, ‘छारो बेपत्ता भएको १८ वर्ष भयो, अपहरण गर्नेहरू गाउँघरमै छन्, न मैले न्याय पाउन सकें, न छोरालाई पाउन सकें।’
छोरा बितेको तीन वर्षपछि बुहारीले आत्महत्या गरिन्। सरकारले दुईपटक गरेर १० लाख रूपैयाँ राहत दियो। त्यो राहत रकम पनि चन्द्रकलीका हातमा परेन। ‘छोरो बेपत्ता भयो, न्यायका लागि भौंतारिरहेकी छु’, उनले भनिन्, ‘सरकारले दिएको राहत रकम भने माइतीतिरकाले लगे।’
उनले छोरो बेपत्ता पार्नेहरूको नामै किटेर सत्य निरूपण तथा मेलमिलाप आयोगमा पनि उजुरी दिएकी छन्। ‘म आफैं डुब्न लागेकी घाम भइसकें, छोरा बेपत्ता पार्नेहरूलाई सजाय नदिएरै मर्छु कि भन्ने चिन्ता हुन्छ’, उनले प्रश्न गरिन्, ‘हामीजस्ताले न्याय कहिले पाउँछौं?’
छोरालाई कुटपिट गर्ने र हात बाँधेर लिने सबैलाई उनले चिनेकी छन्। ‘उतिबेलै मैले प्रहरीमा छोरा अपहरण गर्नेहरूको नामसहित किटानी जाहेरी दिएँ, अधिकारवादी संघसंस्था गुहारें, उनले भनिन्, ‘छारो बेपत्ता भएको १८ वर्ष भयो, अपहरण गर्नेहरू गाउँघरमै छन्, न मैले न्याय पाउन सकें, न छोरालाई पाउन सकें।’
दैलेखको भैरवी गाउँपालिकाको रावतकोटकी इन्द्रकला विष्टले पतिको अनुहार नदेखेको २० वर्ष भयो। २०६० साल भदौ १३ गते बिहानै भाइ नाता पर्ने माओवादी कार्यकर्ता गगन विष्ट बालारामलाई बोलाउन घर आइपुगे। बालाराम गगनसँगै छिमेकी गाउँतिर लागे। ‘मैले कहीं जानु पर्दैन, मकै भाँच्नु छ भनेकी थिएँ’, पतिसँग भएको अन्तिम संवाद सम्झँदै उनले भनिन्, ‘बेलुका आइपुग्छु भनेर जानुभएको हो, २० वर्ष भयो फर्कनुभएको छैन।’
इन्द्रकलाले आफ्ना पतिलाई घरबाट लगेर जाने माओवादी कार्यकर्ता गगनविरुद्ध दिएको जाहेरी प्रहरीले दर्ता गर्न मानेन। ‘विभिन्न अधिकारवादी संघसंस्थाको पहलमा प्रहरीले मुद्दा दर्ता गरे पनि कुनै कारबाही प्रक्रिया अघि बढाएन’, उनले भनिन्, ‘हामी न्यायको पर्खाइमा छौं, अहिलेसम्म न्याय पाएका छैनौं।’
पति बेपत्ता भएदेखि इन्द्रकलाका दुःखका पहाड सुरु भए। पति बेपत्ता भएको एक वर्षपछि उनले जेठो छोरा नगेन्द्रलाई गुमाइन्। तत्कालीन शाही नेपाली सेनामा कार्यरत नगेन्द्र २०६१ पुस ७ गते कैलालीको चिसापानीमा विद्रोही माओवादीसँग भएको भिडन्तमा मृत्यु भयो। जापान गएको कान्छो छोराले फर्केर आउनेबित्तिकै तीन वर्षअघि आत्महत्याको बाटो रोज्यो। उनी अहिले सुर्खेतको वीरेन्द्रनगरमा विवाह गरेकी छोरीका घरमा बस्दै आएकी छन्।
पूर्वी सुर्खेतको धारापानीका कृपासिंह घर्ती ३५ वर्षका भए। उनी १३ वर्षको छँदा बुबा पुष्करलाई तत्कालीन विद्रोही माओवादीले अपहरण गर्यो। त्यसयता उनको अत्तोपत्तो छैन। कमाउने घरमूली माओवादी अपहरणमा परेपछि कृपासिंहका दुःखका दिन सुरु भए। ‘सानै उमेरमा पारिवारिक जिम्मेवारी आइलाग्यो पढ्न पाइएन’, कृपासिंहले भने, ‘त्योभन्दा ठूलो पीडा बुबाको सास वा लास नदेख्दा भइरहेको छ।’
२०५८ जेठ २८ गते मालारानीको गैरीबजार जानेक्रममा पुष्करलाई माओवादीले अपहरण गरेका थिए। तत्कालीन शाही नेपाली सेनाको सुराकीको आरोप माओवादीले पुष्करमाथि लगायो। ‘अपहरणकर्ताले न मार्यौं भने, न अहिलेसम्म बुबा यहाँ हुनुहुन्छ भनेर भनेका छन्’, कृपासिंहले भने, ‘एउटा परिवारका लागि त्योभन्दा ठूलो पीडा के हुन्छ?’
पति बेपत्ता भएदेखि इन्द्रकलाका दुःखका पहाड सुरु भए। पति बेपत्ता भएको एक वर्षपछि उनले जेठो छोरा नगेन्द्रलाई गुमाइन्।
२०५८ फागुन १७ गते सेनाले कालकोटको सान्नीत्रिवेणी गाउँपालिका ६ का चारजना सर्वसाधारणलाई माओवादी आरोपमा बेपत्ता पार्यो। ‘मर्याका छन् कि बाँच्या छन्, केही थाहा नाइँ’, बेपत्ता रामे लुवारकी पत्नी सुपारीले भनिन्, ‘अवस्था सार्वजनिक गर्नका सबैसँग भन्यौं अहिलेसम्म कसैले पनि हाम्रा कुरा सुन्यानन्।’
१० कक्षामा पढ्दै गरेका २० वर्षीय रामे अपहरणमा पर्दाको दिन घरमै थिए। छोरी खेलाउँदै गरेका रामेलाई गस्तीमा आएको सेनाले पिट्दै घरबाट लग्यो। ‘माओवादी होस् भन्दै पिट्दै लगेको दिनदेखि अत्तोपत्तो छैन, जिउँदा छन् कि मर्या छन्, सार्वजनिक गरिदिया हामी ढुक्क भई बस्दा हौं’, लुवारले भनिन्। पतिलाई छुटाउन जाँदा सुपारीले पनि मरणासन्न हुने गरी कुटाइ खाइन्। सेनाको कुटाइबाट उनी एउटा कान सुन्दिनन्।
रामेसँगै अपहरणमा परेका पञ्चे, दले र धनसुरेको अवस्था पनि उस्तै छ। परिवारले सास आउँदैन भन्ने थाहा नपाएका होइनन्, तर पनि आशा नमर्दो रहेछ। ‘बाँचेको भए अहिलेसम्म पत्ता लागिसक्थ्यो’, पञ्चका दाइ नौले सार्कीले भने, ‘तर, पनि आशा नपर्दो रहेर कहीं आइहाल्छ कि जस्तो लाग्छ।’
सशस्त्र द्वन्द्वका क्रममा नेपालभर तीन हजार २२३ बेपत्ता हुँदा कर्णालीका तीन सय २३ जना बेपत्ता भएका छन्। राज्यले केहीबाहेक अहिलेसम्म बेपत्ताको पहिचानसमेत दिन सकेको छैन। कर्णालीबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा सशस्त्र द्वन्द्वमा पीडित भएकाहरूको १६ हजार २०९ उजुरी परेको थियो। आयोग निस्क्रिय हुँदा पीडितहरू न्याय नपाइएला कि भन्ने चिन्तामा छन्।
सशस्त्र द्वन्द्वमा बेपत्ता भएका आफन्त खोजीकै क्रममा धेरैको मृत्यु भइसकेको छ। तीमध्येकै एक थिइन्, सुशीला वली। २०६० साल साउन २३ गते तत्कालीन शाही नेपाली सेनाले वीरेन्द्रनगरकी दीपा वलीलाई पक्राउ गर्यो। सेनाको छिन्चुस्थित ब्यारेकबाट दीपाले असोज ९ गते लेखेको चिठी उनको परिवारले कात्तिक १२ गते प्राप्त गर्यो। आठ कक्षा पढ्दै गरेकी दीपा तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी हुँदा १४ वर्षकी मात्रै थिइन्।
२०५८ फागुन १७ गते सेनाले कालकोटको सान्नीत्रिवेणी गाउँपालिका ६ का चारजना सर्वसाधारणलाई माओवादी आरोपमा बेपत्ता पार्यो। ‘मर्याका छन् कि बाँच्या छन्, केही थाहा नाइँ’, बेपत्ता रामे लुवारकी पत्नी सुपारीले भनिन्, ‘अवस्था सार्वजनिक गर्नका सबैसँग भन्यौं अहिलेसम्म कसैले पनि हाम्रा कुरा सुन्यानन्।’
छोरी छुटाउन सुशीलाले आफ्नो पूरै समय लगाइन्, तर पनि उनले आफ्नी छोरीको न सास देख्न पाइन् न त लास नै। छोरीको खोजी गर्दागर्दै सुशीलाले पनि प्राण त्यागिन्। सुशीलाले छोरीको खोजीमा दशक बढी संघर्ष गरिन्।
आफूजस्तै द्वन्द्वपीडितलाई न्याय दिलाउन भएका आन्दोलनमा स्थानीय स्तरदेखि संघीय राजधानी काठमाडौंसम्म सहभागी भइन्। तिनै सुशीला प्यारालाइसिसले थलिइन् र उपचार अभावमै बितिन्। ‘अन्तिम समयसम्म पनि आमा दिदी आउने आशामै हुनुहुन्थ्यो’, छोरी राजकुमारीले भनिन्, ‘दैनिक फोटो र चिठी हेर्नुहुन्थ्यो, आँसु बगाउनुहुन्थ्यो।’
‘मृत्युु’ वा ‘मुक्ति’ का लागि भन्दै चौधबर्से बालखैमा युद्धमा होमिएकी दीपाको अहिलेसम्म ‘सास’ वा ‘लास’ को अवस्था अज्ञात छ। ‘सशस्त्र युद्धले हाम्रो सम्पूर्ण परिवार तहसनहस भयो’, राजकुमारीले भनिन्, ‘छोरीकै पिरले बुबाआमा बित्नुभयो, त्यही युद्धको बलमा सत्तामा रहेकाहरूले हाम्रा दुःख देखेनन्।’
छोरी छुटाउन सुशीलाले आफ्नो पूरै समय लगाइन्, तर पनि उनले आफ्नी छोरीको न सास देख्न पाइन् न त लास नै। छोरीको खोजी गर्दागर्दै सुशीलाले पनि प्राण त्यागिन्। सुशीलाले छोरीको खोजीमा दशक बढी संघर्ष गरिन्।
सशस्त्र द्वन्द्व सकिएको १६ वर्ष बितिसक्दा पनि पीडितले बेपत्ता आफन्तको अवस्था थाहा पाउन सकेका छैनन्। घरमुली बेपत्ता हुँदाको पीडा त छँदै छ, राज्यको ढिलो न्याय प्रणालीले थप पीडा दिएको छ। मानव अधिकारका लागि एकल महिला समूह कर्णालीका अध्यक्ष शीतलसिंह राठौरले सशस्त्र द्वन्द्वका बेला तत्कालीन द्वन्द्वरत पक्षबाट बेपत्ता पारिएकाका परिवार ठूलो पीडामा रहेको बताइन्। ‘लास लेख्नेहरूले त मर्यो भनेर चित्त बुझाएका छौं, लास नदेख्नेहरूको पीडा कस्तो होला अनुमान लगाउनै गाह्रो हुन्छ।’
प्रकाशित: १४ भाद्र २०८० ०४:०२ बिहीबार