समाज

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान

चितवन- जंगली हात्तीबाट जोगिन खोज्दा आमाको बाढीले बगाएर मृत्यु भएपछि वीरबहादुर चेपाङ अहिले आमाको किरियामा छन्। उनकी ७४ वर्षीया आमा फूलमती प्रजा चेपाङको बाढीका कारण साउन २९ गते शनिबार मध्यरातमा ज्यान गएपछि उनको पीडा थपिएको छ। राप्ती नगरपालिका–६ प्यारीधापमा सामुदायिक वनका नजिक वीरबहादुरको घर छ। वनभन्दा लगभग चार सय मिटर तल राप्ती खोला छ। राप्ती तरेपछि चिवन राष्ट्रिय निकुञ्ज सुरु हुन्छ।

 बाढी भन्दा निकुञ्जबाट निस्कने जंगली जनावरको त्रासमा बस्नुपर्ने वीरबहादुरको घरमा बाढीले खासै ठूलो क्षति पुर्‍याएको छैन। सामान्य खालको कच्ची घरको एउटा पाखो केही भत्किएको छ। त्यो पनि बाढीलै हैन। 'निकुञ्जबाट जंगली हात्ती आएर भत्काएको हो,' वीरबहादुरकी श्रीमती श्रीमाया चेपाङले भनिन्। हात्तीले घर भत्काउन थालेपछि वीरबहादुर डराए। हात्तीले कतै बूढीआमालाई मार्ने पो हो कि त्रासले आफ्नो घरदेखि अलि पर लगेर आमालाई सुरक्षितरूपमा राख्न खोज्नु नै उनका लागि दुःखद बन्न पुग्यो।

 उनले आफ्नो छाप्रोदेखि केही पर चिनजानको मान्छेको घरमा लगेर राखेको केही दिनमा नै सोही घर बाढीले भत्काएपछि बूढीआमैको ज्यान गयो। 'हात्तीले घर भत्काउन थालेपछि आमालाई त्यहाँ लगेको तीन दिन भएको थिएन लगातार पानी आएर वरपर ठूलो बाढी आयो। आमा बसेको घरमा एक्कासी बाढी पसेछ। घर गर्ल्यामगुर्लुम्मै भत्कियो। च्यापिएर आमा बित्नु भो,' वीरबहादुरले सुनाए। हात्तीले दुःख नदिएको भए आफ्नी आमाले अनाहकमा ज्यान गुमाउनु नपर्ने उनको भनाइ छ।

 'सुरक्षित राख्न खोज्दा यस्तो घटना भएछ,' शनिबार पीडित भेट्न पुगेकी राप्ती नगरपालिकाका मेयर प्रभा बरालले भनिन्। मेयर बरालसँग स्थानीयले हात्तीले दुःख नदिने व्यवस्था गर्न अपिल पनि गरे। 'अस्ती बाढी गएपछि त आजसम्म बत्ती पनि आएको छैन। राति अध्याँरो हुन्छ अनि हात्तीको डर अर्कोतर्फ छ। हामी त साह्रै पीडित भइयो,' स्वास्तिका चेपाङले भनिन्।

 प्यारीढापमा जंगलकै आडमा लगभग ८० घर छन्। सबै घर चेपाङ समुदायका हुन्। 'हामीलाई बाढीको भन्दा जंगली हात्तीकै ठूलो डर छ। यो पटक लगातार पानी परेका कारण एक्कासी बाढी आएर दुःख दियो। तर हात्ती त बेला बेलामा आइरहन्छ। कुनदिन कसलाई मार्ने हो भन्ने डर छ,' स्वस्तिकाल भनिन्। जंगली हात्ती छेक्न लगाएको विद्युतीय तारबार पनि कमजोर सावित भएको छ।

 जंगल आडमा बाक्लो बस्ती छ र हात्ती आउने खतरा पनि छ भने त्यस्तो ठाउँमा कंक्रिटकै पर्खाल लगाएर हात्ती रोक्ने गरिएको छ। प्यारीढापका बासिन्दाले त्यस्तै पर्खाल लगाउन मेयर बरालसँग माग गरेका छन्। मेयर बरालले आउँदो नगर परिषद्मा उपयुक्त विधि अपनाएर हात्ती रोक्ने आश्वासन दिएकी छन्।

जोगिन खोज्दा नै गुम्यो ज्यान

 बाढीले राप्ती नगरपालिका–६ कै ३४ वर्षीया गुमनकुमारी रानाको पनि ज्यान लिएको छ। उनी स्थानीय पम्पा खोलाम बगेकी थिइन्। पानी लगातार बढेपछि गुमनकुमारी दाइ बुद्धिबहादुर र भाउजुसँगै सुरक्षित ठाउँको खोजीमा घर छाडेर हिँडेकी थिइन्।

 'पानी लगातार आएको थियो। खोलाको आडमा नै घर थियो। यहाँ बसे बाढी आउने हो कि भनेर श्रीमती, म र बहिनी सुरक्षित हुन राजमार्गतिर निस्कियौं' बुद्धिबहादुरले भने। पम्पा खोलो नजिकबाट उनी जाँदै थिए। तर, पानी खोलाभन्दा वरै आएको रहेछ। उनले श्रीमती र बहिनीको पनि हात समाएका थिए।

 'तर एक्कासी ठूलो खाल्डोमा परियो। बैनी र श्रीमती दुवैको हात छुट्यो। खोलो निकै बढेको रहेछ। पछि म पनि पाखामा उत्रिए, श्रीमती पनि आइन तर बहिनी बगेको बग्गै भइन,' बुद्धिबहादुरले भने। खोलामा बाढी आए पनि उनको घरसम्म खासै पुगेन। घरमै बसेको भए सबै जोगिने अवस्था रहेछ। घर छाडे सुरक्षित भइन्छ कि भन्दा बहिनीसँग बिछोड हुनु परेको पीडा सुनाउँछन बुद्धिबहादुर।

 बाढीपहिरोका कारण चितवनमा चारजनाको ज्यान गएको छ। तीमध्ये तीनजना राप्ती नगरपालिकाकै छन्। चितवनमा डुवानका कारण माडी, सौराहा, पटिहानी, मेघौली जस्ता क्षेत्रमा भौतिक संरचनामा धेरै नै क्षति भएको देखिएको छ। तर मानवीय क्षतिका हिसाबले राप्ती नगरपालिका धेरै पीडित बनेको मेयर प्रभा बरालले बताइन्।

प्रकाशित: ५ भाद्र २०७४ ०२:३९ सोमबार

जंगली हात्तीबाट जोगिन खोज्दा बाढीले लियो ज्यान