समाज

अपहरणको नाटक गर्दा प्रहरीको फन्दामा !

आफैं लुकेर अपहरणमा परेको नाटक गर्ने मकवानपुरका एक जना प्रहरीको फन्दामा परेका छन्।

मकवानपुरको राक्सिराङ गाउँपालिका-५ का ४६ वर्षका कुमार प्रजा प्रहरीको फन्दामा परेका हुन्। स्थानीय निर्मल भन्ने सानुबाबु रुम्बासँगको लेनदेनको विषयमा विवाद भएपछि प्रजा भदौ ३ गतेबाट लुकेर बसेका थिए।

प्रजाको श्रीमतीले आफ्नो श्रीमान् हराएको र रुम्बाले बेपत्ता पारी अपहरण गरेको हुनसक्ने भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्। खोजतलास एवम् अनुसन्धानको क्रममा कुमार प्रजा निरन्तर उनको श्रीमती तथा परिवारको सम्पर्कमा रहेको पाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए।

‘लेनदेनको विषयमा विवाद भएपछि श्रीमतीले अपहरणमा परेको भन्दै उजुरी दिएको आवश्यक अनुसन्धानको क्रममा निरन्तर परिवार तथा श्रीमतीसँगको सम्पर्कमा रहेको पाएपछि हामीले कुमार प्रजालाई नियन्त्रणमा लिएका छौं’, प्रवक्ता कार्कीले भने, ‘प्रजालाई मनहरी गाउँपालिका ४ नयाँ बस्ती स्थित सूर्यबहादुर प्रजाको घरबाट नियन्त्रणमा लिएका हौं।’

श्रीमान् अपहरणमा परेको भन्दै प्रजाको श्रीमती आइतीमाया चेपाङले उजुरी दिएकी थिइन्। उनलाई इलाका प्रहरी कार्यालय मनहरीको टोलीले नियन्त्रणमा लिएको हो। किन लुकीछिपी बसेर अपहरणको झुटो अफवाह फैलाएको भनेर सोध्दा उनले प्रहरी टोलीलाई नै अश्लील शब्दहरु बोल्दै दुर्व्यवहार गरेको डिएसपी कार्कीले बताए।

प्रजामाथि आवश्यक अनुसन्धान एवम् कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

प्रकाशित: १० भाद्र २०८० १४:०१ आइतबार