समाज

१४ वर्षे बालिकाको बलात्कारपछि हत्या

जनकपुर- जनकपुर –१, मुसहर बस्तीकी १४ वर्षीया एक बालिकालाई घरमै डेरा गरी बस्ने  को ३५ वर्षीय पुरुषले हत्या गरेका छन्। घरमा कोही नभएको मौका छोपेर मंगलबार अपराह्न करिब पाँच बजे कृष्णदेव साहकी छोरी विविकाकुमारीलाई सोही घरमा डेरागरी बस्ने धनुषा, बहेडाबेलाका रामचन्द्र महतोले बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घरका सदस्य बजार निस्केको बेला महतोले विविकालाई बलात्कारपछि घाँटी थिचेर हत्या गरी आफ्नै कोठामा भएको टिनको बाकसमा लुकाएका थिए ।

मजदुरी गर्ने महतो तीन वर्षदेखि श्रीमती पवितासँगै साहको घरमा डेरामा बस्दै आएका थिए । घरबेटी कृष्णदेव साहको छ महिनाअघि हृदयघातले मृत्यु भएको थियो । त्यसयता घरमा विविका, उनकी आमा विमला, नौ वर्षीया बहिनी पुष्पा र २ वर्षीय भाइ तथा महतो बस्दै आएका थिए ।

मंगलबार मुसहर बस्ती नजिकै लागेको कृष्णजन्माष्टमीको मेला हेर्न विमला कान्छो छोरा र  महतोकै श्रीमती पवितालाई लिएर गएकी थिइन् । घरमा महतो, विविका र बहिनी पुष्पा मात्रै थिए । पुष्पाका अनुसार महतोले किराना पसलबाट सामान किनेर ल्याइदिन पुष्पालाई पैसा दिई पठाए । पुष्पा फर्केर घर आउँदा मूल ढोका बन्द थियो । पुष्पाले ढोका ढक्ढक्याइन् । ढोको खोल्न कोही आएनन् । घरभित्र उनले दिदी चिच्याइरहेको आबाज सुनिन् । निकै बेरसम्म ढोका नखुलेपछि पुष्पाले हारगुहार माग्न थालिन् । छिमेकका सबै जम्मा भए । आमा विमला पनि आइपुगिन् ।

बल्लतल्ल महतोले ढोका खोले तर, विविका घरमा भेटिइनन् । पुष्पाले केही मिनेटअघि मात्रै बाहिर निस्किँदा विविका घरमै रहेकी र फर्केर आउँदा पनि चिच्याएको आवाज सुनेकिले दिदी घरमै रहेको बताइरहिन् ।

भित्रबाट ढोका बन्द रहेको र विविका चिच्याएकिले उनलाई मारेर लुकाइएको हुनसक्ने सबैले शंका गरे । कतै पनि नभेटिएपछि सबैको आँखा महतोको कोठामा रहेको टिनाको बन्द बाकसमा पुग्यो । बाकस खोल्न खोज्दा महतोले रोके । तर, जबरजस्ती खोलिएपछि सिरकमा बेरेको अवस्थामा बाकसभित्रै विविका मृत अवस्थामा भेटिएपछि महतोमाथि स्थानीयले कुटपितट थाले ।

प्रहरी घटनास्थल आइपुग्दा कुटाइले उनी अचेत भइसकेको थिए । मदिरा सेवन गरेको अवस्थामा बालिकाको हत्या गरेपछि अस्थिर भएका महतोलाई स्थानीयको कुटपिटपछि झनै डर पसेकोले सिकिस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी लालमणि आचार्यले जनाए ।

घटनापछि विविकाको शव पोस्टमार्टमको लागि जनकपुर अञ्चल अस्पतालमा ल्याइएको छ । महतोको सोही अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । यता, घटनाको अनुसन्धानको लागि महतोकी पत्नी पवितालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ‘पुष्पाको कुरो सुनेर बलात्कार गरी हत्या गरेको हुनसक्ने आशंका छ’ एसपी आचार्यले नागरिकसँग भने, ‘रिसइबीको कारण पनि विविकाको हत्या गरेको हुनसक्छ । त्यसैले तत्काल उनको श्रीमतीलाई नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेका छौं ।’ प्रहरीको अनुसार पविता नातामा भाउजु पर्छिन् । उनलाई भगाएर ल्याएको र समाजको डरले जनकपुरमै मजदुरी गरी बसिरहेको आचार्यले जनाए । उनले घटना गम्भीर प्रकृतिको भएको बताउँदै तत्काल प्रहरी नियन्त्रणमै उपचार गराइरहेका उनको अपराधबारे सुक्ष्म अनुसन्धान अगाडि बढाइसकेको बताए ।

 

 

प्रकाशित: ३२ श्रावण २०७४ ०२:३३ बुधबार

१४ वर्षे बालिकाको बलात्कारपछि हत्या