समाज

सर्वोच्च अदालतमा भोलिबाट ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु हुने

सर्वोच्च अदालतले भाद्र ११ गते (भोलि) देखि ‘पेशी तारेख अटोमेशन सिस्टम’ सुरु गर्ने भएको छ।

नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालय भित्र हुने अनियमिततालाई कम गर्न पनि आफूले भोलीदेखि सो सिस्टम सुरु गर्न लागेको जानकारी दिएका हुन्।

आइतबार आफूलाई बधाई दिन कार्यकक्षमा पुगेका संवैधानिक तथा न्यायिक पत्रकार मञ्चमा आवद्ध पत्रकारहरुसँगको सामुहिक भेटमा उनले अदालत भित्र हुने अनियमितता हुनै नदिन पनि आफूले प्रविधिको प्रयोगमा जोड दिएको स्पष्ट पारे।

प्रधानन्यायाधीश श्रेष्ठले तारेख तोक्ने काममा कर्मचारीहरुको हस्तक्षेप हुन नदिने पनि आफूले सो अटोमेशन सिष्टमको शुरुवात गर्नुपरेको बताए। उनले प्रविधिकै माध्यामबाट न्यायालयमाथि हुने जनगुनासो सम्बोधन गर्न आफूले चाहेको जिकिर गरे।

सर्वोच्च अदालत पछि काठमाडौं जिल्ला अदालतमा तत्काल सो सिस्टम लागू गर्ने प्रधानन्यायाधीश श्रेष्ठको योजना छ। उनले न्याय सेवामा हुने अनियमितताको भने न्याय परिषद्बाट छानबिन हुने भएकाले त्यसमा चिन्ता गरिरहनु नपर्ने बताए।

प्रधानन्यायाधीश श्रेष्ठले न्यायाधीश नियुक्ति प्रक्रिया आफूले सुरु गरिसकेको उल्लेख गर्दै त्यसको नतिजा छिट्टै आउने विश्वास समेत व्यक्त गरे। 

उनले न्यायाधीश नियुक्ती नगरी नहुने भएकाले आफू त्यसमा लागि परेको सुनाए। मुद्दाको बोझ धेरै भएको तर दरबन्दी अनुसारको न्यायाधीशहरु समेत नहुँदा अप्ठ्यारो भइरहेको प्रधानन्यायाधीश श्रेष्ठको भनाई थियो।

प्रकाशित: १० भाद्र २०८० ११:०१ आइतबार

सर्वोच्च अदालत विश्वम्भरप्रसाद श्रेष्ठ