समाज

बाढीका कारण तिर्थालु बिहारको मुजफ्फरपुरमा अलपत्र

रौतहट- बाढीले भारतको बिहारलाई प्रभावित पारेपछि रौतहटका सयौँ मानिस मुजफ्फरपुरमा फसेका छन्। बोलबममा झारखण्डको देवघर जिल्लास्थित वैद्यनाथ धामको दर्शन गरेर घर फर्किनेहरु बाढीले बाटो छेकेपछि सयौजना मुजफ्फरपुरमा अलपत्र परेका छन्।

मुजफ्फरपुरबाट रौतहट फर्किने मुख्य दुई बाटामा अत्यधिक पानी जमेर सडकमा आवागमन बन्द भएकोले तीन दिनदेखि सयौँजना अलपत्र परेको एकजना बोलबम कामेश्वर सहनीले बताएका छन् । मुजफ्फरपुरबाट मोतिहारी हुँदै वीरगंज आउने बाटो र सीतामढी हुँदै गौर आउने दुवै बाटो जलमग्न रहेकाले सबारी साधन चल्न नसकेपछि सयौँजना अलपत्र परेको सहनीले बताए।

बाटोमा अलपत्र परेकाहरुसित खानेकुरा र पैसा दुवैको अभाव भएको छ। तीर्थ यात्राबाट घर फर्किन नसकेकोमा घरपरिवारमा पनि चिन्ता छाएको छ। जिल्लामा बाढीले तहसनहस पारेको खबरले आहत भएका बोलबमहरु सयौँको संख्यामा मुजफ्फरपुरमा तीन दिनदेखि अलपत्र पर्नुपर्दा झन् पीडित भएको सहनीले बताए।

अलपत्र परेकाहरु रौतहटको विभिन्न गाउँका रहेका छन्। निजी सवारी साधन लिएर बोलबम गएका समनपुर, संग्रामपुर, गोनाही, रघुनाथपुर, विर्ता, गौर लगायतका सयकडौँ मानिसहरुले परदेशमा पनि बाढीले पीडाको अनुभूति गरेका छन्। सडक र रेलसेवा दुवै अवरुद्ध रहेकाले बोलबमहरुले झन् बढी सास्ती बेहोर्नु परेको छ।

मंगलवारदेखि विस्तारै पानी कम हुन थालेकोले साँझसम्म गन्तव्यतिर जाने आशा पलाएको सहनीको भनाइ छ।  

प्रकाशित: ३१ श्रावण २०७४ ११:१३ मंगलबार

बाढीका कारण तिर्थालु बिहारको मुजफ्फरपुरमा अलपत्र