समाज

सौराहाका होटलमा सेवा सञ्चालन छिटै

चितवन- डुबानमा परेको सौराहाका होटलहरुले तत्कालै सेवा सञ्चालनको तयारी सुरु गरेका छन्। शुक्रबारदेखि लगातार परेको पानीका कारण खोलाहरुमा आएको बाढीले गर्दा शनिबारदेखि नै सौराहामा डुबान सुरु भएको थियो। आइतबार पूरै सौराहा क्षेत्र जलमग्न थियो। तर पानी पर्न रोकिएसँगै डुबान पनि सुकेको छ। सोमबार बिहानैदेखि होटल व्यवसायीहरु सरसफाइमा जुटेका छन्।

चितवन निकुञ्ज देशको प्रमुख तेस्रो पर्यटकीय गन्तब्य हो। निकुञ्ज घुम्न बर्सेनि दुई लाखको हाराहारीमा स्वदेशी तथा विदेशी पर्यटक आउँछन्। निकुञ्ज घुम्न आउनेमध्ये लगभग ९० प्रतिशत पर्यटक सौराहामा बस्छन्। सौराहामा एक् सय १० पर्यटकीय होटल र रिसोर्ट छन्। प्राय होटलहरु डुबानमा परेका थिए। महŒवपूर्ण पर्यटकीय क्षेत्र भएका कारण तत्कालै सेवा सञ्चालन गर्न व्यवसायी अग्रसर भएका हुन्।

'डुबानमा परेकामध्ये ५० प्रतिशत होटल बुधबारबाटै सञ्चालनमा आउने अवस्था छ,' क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष सुमन घिमिरेले भने। सोमबार र मंगलबार सरसफाइ सकिने अवस्था रहेको उनले बताए। जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीलाई होटल वरपरको वातावरणले स्वास्थ्यमा समस्या पर्ने वा नपर्ने निर्क्यौल गर्न र पर्ने सम्भावना रहेमा निराकरणका उपाय सिकाउन अनुरोध गरेको उनले बताए।

सौराहाको दक्षिणमा राप्ती नदी बग्छ भने उत्तरमा बुढी राप्ती खोला छ। पूर्वमा ढुंग्रे खोला छ। सबै खोलामा पानी बढेका कारण सौराहामा कल्पना नै गर्न नसक्ने डुबान भएको व्यवसायी बताउँछन्। डुबानका कारण खोला छेउका होटलमा धेरै नै समस्या परेको छ। केही होटलमा डुबानको समस्या नपरेको र तत्कालै पर्यटक आएमा पनि खान बस्न सक्ने अवस्था रहेको व्यवसायी बताउँछन्।

क्षेत्रीय होटल संघका अध्यक्ष घिमिरेका अनुसार चितवन निकुञ्ज कार्यालयले मंगलबारबाट निकुञ्ज प्रवेश टिकट बिक्री गर्न सुरु गर्ने छ। हात्ती सफारी पनि मंगलबारबाटै सुरु हुने घिमिरेले बताए। जंगली जनावर हेर्न हात्ती वा जिप चढेर जंगल घुम्ने चलन छ। जसलाई हात्ती वा जिप सफारी भन्ने गरिन्छ। सफारीबाट फर्केकाहरु साँझपख राप्ती किनारमा आएर सुर्यास्तको आनन्द लिने गर्छन्।

सुर्यास्त हेर्न राप्ती किनारमा आउने पर्यटकलाई परिकार र पेय पदार्थ बिक्री गर्न दर्जनौं पबहरु खुलेका थिए। राप्ती किनारका ती सबै पब पूर्ण रुपमा क्षतिग्रस्त भएका छन्। पबका घरहरु भत्केका छन्। सामान पनि केही निकाल्न नपाएको व्यवसायी बताउँछन्। ती पबहरु भने तत्काल बन्न सक्ने अवस्था छैन। आउँदो पर्याटकीय याम अर्थात भदौ १५ सम्ममा पबहरु पनि तयार हुने सम्भावना रहेको घिमिरेले बताए।

'पब र नदी किनारका केही होटल बाहेक आउँदो एक हप्ताभित्र सौराहा क्षेत्रका लगभग सबै होटल रेस्टुरेन्टले पर्यटकलाई पहिलेको जस्तै खाने बस्ने सेवा दिन सुरु गर्ने छन्,' क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले भने। राप्ती नदी नजिक रहेका केही रिसोर्ट भने तत्काल सञ्चालनमा आउन कठिन नै छ।

'दि राइनो रेसिडेन्सी' होटलका सबै २४ वटा कोठामा खोलाको लेदो पानी पसेको छ। 'हाम्रो होटलमा तला छैन। भएका सबै रुममा पानी पस्यो, बिस्तारादेखि पर्दा, कार्पेट सबै क्षतिग्रस्त भए। सफा गरेर मात्रै पुग्दैन मर्मत पनि गर्नुपर्छ। लगभग एक महिनायता सञ्चालनमा आउन कठिन नै छ,' होटलका निर्देशक टीकाप्रसाद बरालले भने। आउँदो पर्यटकीय यामका लागि भने होटल तयार रहने उनले बताए।

पर्यटक आवागमन ह्वात्तै बढ्दै गएको समयमा २०७२ वैशाख १२ मा विनासकारी भूकम्प गएपछि यहाँको पर्यटन लगातार खस्कदो छ। भूकम्पपछि सुरु भएको मधेस आन्दोलन, नाकाबन्दी र इन्धन संकटले पनि सौराहा आउने पर्यटकको संख्यामा भारी मात्रामा कटौती भयो। पछिल्लो समय नारायणगढ–मुग्लिन सडकको दुरवस्थाले पनि पर्यटक आवागमन प्रभावित भएको छ।

मारमाथि मार खेप्दै आएका बेला बाढीका कारण पनि समस्या थपिएको व्यवसायीको भनाइ छ। क्षेत्रीय होटल संघ सौराहाको सोमबार सम्पन्न आकस्मिक बैठकले वित्तीय संस्थाबाट ऋण लिएका व्यवसायीको ऋणको किस्ता र ब्याज बुझाउने समय केही समय थप गर्न माग गरेको छ। संकट परेका बेला व्यवसायीले गरेको आशा पूरा हुने विश्वास रहेको अध्यक्ष घिमिरेले बताए।

शनिबार राती सौराहामा लगभग ६ सय पर्यटक थिए। बाढी पस्न थालेपछि उनीहरुलाई सुरक्षित स्थानमा राखिएको थियो। आइतबार उनीहरु सबैको उद्दार गरिएको थियो। उद्दारमा हात्तीसमेत प्रयोग भएको थियो। बाढी र डुबानका कारण त्रासको अवस्था भए पनि पर्यटक, सौराहाका स्थानीय, व्यवसायी र कामदारलाई कुनै पनि खालको शारिरिक हानी नोक्सानी भएको थिएन।

प्रकाशित: ३१ श्रावण २०७४ ०५:१९ मंगलबार

सौराहाका होटलमा सेवा सञ्चालन छिटै