समाज

अनौठो कारलाई जम्मा तीन हजार पाउन्ड!

यस्ताे पनि!

जोन ब्रेजर सन् १९६० ताका रोल्स रोयल्स कम्पनीमा काम गर्दाताका के सनक चढ्यो कुन्नि, उनले ६ पांग्रे हस्लर कार आफ्नै हातले बनाए। यो कारको रोचक पक्ष भन्नु नै यसको ‘बडी’ हो। बडी पूरै काठले बनेको छ। त्यसपछि दह्रो सिसाको उपयोग गरिएको छ। सन् १९८० को दशकमा तीन वर्ष लगाएर जोनले यो कार बनाएका थिए। तर अब यो कार उनको घरबाट बाहिरिँदैछ।

७६ वर्षका उनी शारीरिकरूपमा अस्वस्थ भएपछि कार चलाउन नसक्ने भएकाले बेच्दैछन्। बेच्नका लागि उनले कुनै पारम्परिक शैली अपनाएका छैनन् बरु डाक बढाबढ गर्दैछन्। यो कारमा प्रयोग गरिएको काठमा प्लाइउड प्रयोग गरिएको छ। जसका कारण यसमा पानी जम्ने र काठलाई हानि पु¥याउँदैन। चर्को घामले पनि यो काठलाई असर पु¥याउँदैन। त्यसो त यो कार ज्यादै तीव्र गतिमा दौडदैन। बढीमा ९६ किमि प्रतिघण्टा मात्र यसले दिन्छ। अन्य कार र यसमा सबैभन्दा ठूलो फरक के छ भने कुनै कारले यसलाई ठक्कर दियो भने कुच्चिँदैन। काठ भाँच्चिने र फुट्ने गर्छ। त्यसलाई तुरुन्तै परिवर्तन गर्न सकिने भएकाले अन्य स्टिल वा फलामे कारजस्तो धेरै समय लगाएर मर्मत गर्नु नपर्ने जोनको भनाइ छ।

‘अब यो कार मसँग रहने छैन,’ जोन भन्छन्, ‘यो सम्झँदा मात्र पनि मेरो मन कटक्क खान्छ। बरु मेरो ग्यारेजमै भएको भए हुन्थ्यो भन्ने नलागेको पनि होइन। तर यो कार देख्दा जसरी अन्य मानिसका आँखा चम्कन्थे, मेरो ग्यारेजमा थन्काएर राख्दा चम्कँदैन। त्यसैले अरूका आँखा खुसीले चम्कियोस् भनी बेच्न लागेको हुँ।’ यो कारले धेरै यात्रा गरिसकेको छ। खासगरी पारिवारिक यात्रा र बिदा मनाउने क्रममा यसको सबैभन्दा बढी उपयोग भएको थियो। यसलाई २ देखि ३ हजार पाउन्ड स्टर्लिङमा बेच्ने अपेक्षा गरिएको छ। के थाहा, कोही सौखिनले बढी पैसा पनि तिर्न सक्छन् कि !

प्रकाशित: १० भाद्र २०८० ०१:५६ आइतबार

यस्तो पनि ! अनौठो कारलाई जम्मा तीन हजार पाउन्ड !