समाज

बाढीले राजमार्गका पुल क्षतविक्षत

लहान- शुक्रबारदेखिको अविरल वर्षासँगै आएको बाढीले पूर्वपश्चिम राजमार्गका थुप्रै पुल क्षतिग्रस्त बनायो। सप्तरीको भारदहदेखि सर्लाहीसम्म एकदर्जन पुलमा क्षति पुगेको छ। यीमध्ये सप्तरी, महोत्तरी र सर्लाहीका तीनवटा पुलको ‘एप्रोच’ बगाएको सम्बन्धित सडक डिभिजन कार्यालयले जनाएका छन्।

 सप्तरीको कुसहास्थित बेधार्ना पुलको एप्रोच स्ल्याब बाढीले भत्काएको छ। कल्याणपुरनजिकको खड्गपुलको प्रोटेक्सन र कालोपत्रेसमेत भत्केको छ। खाँडो पुलको एप्रोच स्ल्याब (पुल र कालोपत्रेबीचको ढलान) र प्रोटेक्सन (तारजालीभित्रको ढुंगा) भत्केर कालेपत्रे उप्केको डिभिजन सडक कार्यालय लहानका इन्जिनियर शोभिलाल ठाकुरले बताए। भारदहनजिकको कोसीघाट पुलको डाउन प्रोटेक्सन भत्केको छ।

सप्तरीका अधिकतर पुलमा बाढीले क्षति पुर्‍याए पनि यातायात भने अवरुद्ध भएको छैन। आइतबार बिहानबाट वर्षा रोकिएपछि ती पुल मर्मत तीव्र बनाइएको डिभिजन प्रमुख रामकुमार देवले बताए। 'बाढीको पानी बगेको पुलमाथिको कालोपत्रे क्षति भएको छ', उनले भने, ‘प्रोटेक्सन धेरै ठाउँमा बगाएको छ।’

धनुषाको बरहरी पुलको पश्चिम २० मिटरजति बाढीले कटान गरेको छ। महोत्तरीको रातु नदीको पुल भाँसिदा मध्यभाग धसिएको छ। जँगा पुलको पश्चिपट्टिको एप्रोच स्ल्याबसँग कालोपत्रेसमेत भत्किँदा शनिबारबाटै सवारीसाधन चल्न सकेका छैनन्। राजमार्गका यी तीन पुलमा बढी क्षति पुगेको डिभिजन सडक कार्यालय मुझेलिया धनुषाका प्रमुख राजेश दासले बताए। 'हामीकहाँ नबिग्रिँदासम्म बनाउने चलन छैन', उनले भने, ‘पुरानो भइसकेका यी पुल मर्मतको जरुरी छ।’

नदी किनारको जमिन अतिक्रमण, बाढीसँगै बगेर आउने रुख पुलको पिलरमा ठोकिएर अड्किँदा पानीको बहाव मोडिई पुलका प्रोटेक्सन बगाउने उनले बताए।

चुरेमा भइरहेको अनियन्त्रित दोहनले पनि पुलको संरचना कमजोर बनाएको उनले बताए।

बाढीले सर्लाहीको अमुवा पुलको एप्रोच (सडक र पुलबीचको भाग) बगाएको छ। यसै कारण सवारीसाधन केही घण्टासम्म रोकिन पुगेका थिए। डिभिजन सडक कार्यालय चन्द्रनिगाहपुरका प्रमुख सुमन योगेशले भने, ‘शनिबार साँझबाट पुलको एकछेउ मर्मत गरी एकतर्फी सवारीसाधन चलाएका छौं।’ यो पुलमा भएका अन्य क्षति हेर्न नभ्याएको उनले बताए।

बाढीसँग बगरे आएको रुख पिलरमा ठोक्किएर पानीको बहाव किनारतिर मोडिएकाले एप्रोच कटान भएको योगेशको भनाइ छ। ‘पुलको दुस्मन नै जंगलबाट बगेर आएको रुख र गेग्रान हो', उनी भन्छन्, ‘सबै बिगारेको यसैले हो।’

 चुरे मुहान भएका यी नदीको पुल क्षतिग्रस्त हुनुमा चुरे विनाशको प्रभाव छैन भन्न मिल्दैन',  योगेशले नागरिकसँग भने, ‘नदीजन्य पदार्थको उत्खनन, चुरेको विनाश, मर्मतको अभाव, यी सबै कारण मिसिएर पुलमा क्षति पुग्ने हो।’ पुल क्षति हुनुमा नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन र चुरेको विनाश प्रमूख कारण रहेको यस क्षेत्रका सडक डिभिजन प्रमुखको ठहर छ।

नदीमा अनियन्त्रित उत्खनन

आइतबार दिउँसो राजमार्गका पुलमा बाढीले पुर्‍याएको क्षतिबारे समाचार संकलनका लागि लहानबाट महोत्तरीको बर्दिबाससम्मको यात्रामा धनुषा र महोत्तरीका अधिकांश खोलानदीमा ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन गरिरहेको दृष्य देखियो।

 प्रत्येक वर्ष असारदेखि भदौ महिनासम्म नदीजन्य पदार्थ उत्खनन, संकलन र निकासी गर्न पाइँदैन। तर, धनुषा र महोत्तरीका खोलानदीमा उत्खनन तथा संकलन कार्य बेरोकटोक चल्दैछ। बाढीले क्षति पुर्‍याएको रातु नदीको पुलमा हलुका सवारीसाधनमात्र सञ्चालन गर्न दिइएको छ। तर, यो नदीमा दिउँसै दर्जनौं ट्रयाक्टर नदीजन्य पदार्थ संकलन गर्दैगरेको भेटिए। पुलमा बसेर सवारीसाधनलाई दिशानिर्देश गरिरहेका सुरक्षाकर्मीले यो दृश्य देखेनदेखेझैं गरिरहेका थिए।

 एक प्रहरी जवानसँग यसबारे जिज्ञासा राख्दा उनले जवाफ फर्काए, ‘यहाँ लहरै सञ्चालनमा रहेका क्रसर त बन्द हुन्नन् भने क्रसरको खुराक (गिटी, ढुंगा) संकलन कसरी बन्द हुन्छ?’ 'यहाँ यस्तै हो सर', उनले थपे, ‘०७१ सालमा यही पुल (रातु) भासिँदा मुखमै सञ्चालित क्रसर बन्द हुन्छ भनिएको थियो, खै अहिलेसम्म चलेकै छन्।’

प्रकाशित: ३१ श्रावण २०७४ ०३:३१ मंगलबार

बाढीले राजमार्गका पुल क्षतविक्षत