समाज

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण

महेन्द्रनगर(धनुषा)- कलाकार सीताराम कट्टेल (धुर्मुस)ले जनकपुरका बाढी प्रभावित ८८ घरपरिवारलाई राहत बाँडेका छन्। जनकपुर उपमहानगरपालिका–१ मा रहेको दलित बस्तीमा आज बिहान उनले राहत बाँडेका हुन्।

उनले चिउरा, दालमोट, मुरह, चाउचाउ, बिस्कुट, पानीलगायतको खाद्यान्न वितरण गरेका छन्। अविरल वर्षापछि छेउको जलाद नहरमा आएको बाढीले आइतबार मेस्तर, मुसहर, पासवानलगायतको संयुक्त दलित बस्ती जलमग्न भई एक सयभन्दा बढी घरपरिवार विस्थापित भएका छन्।

राहत बाँड्दै धुर्मुस सुन्तली फाउण्डेशका अध्यक्षसमेत रहेका कट्टेलले विपद्को समयमा सहयोगी मनले बाढी प्रभावितलाई सहयोग गर्नुपर्ने बताए।

धुर्मुसले आइतबार महोत्तरीको भंगहामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गरेका थिए। आज जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा गरेका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहतका प्याकेज प्रदान गरेका थिए।

त्यसैगरी जनकपुर उद्योग वाणिज्य संघद्वारा जानकीनगर स्कुलस्थित ५० जना घरधुरी बाढीपीडितलाई राहत खाद्यान्न सामग्री वितरण गरिएको छ।
खाद्यान्न सामग्रीमा चामल, दाल, आलु, प्याज, नुन, तेल, सोयाबिन, मसालालगायतको सामग्री रहेको छ । त्यस्तै मिल्सएरिया धर्मसंस्थामा बस्दै आएका बाढीपीडितलाई खानानास्ता समेतको व्यवस्था गरिएको छ। रासस

 

प्रकाशित: ३० श्रावण २०७४ १२:१४ सोमबार

धुर्मुस–सुन्तली फाउण्डेशद्वारा धनुषाका बाढीपीडितलाई राहत वितरण