समाज

नदी कटानले बस्ती जोखिममा, स्थानीय त्रासमा

बकैया नदीले तीव्र कटान गरिरहेको छ। केही दिनदेखि निरन्तर परेको पानीले बकैया नदीमा बाढी आउँदा कटान गरिरहेको देखिएको छ।

बकैया नदीमा तीव्र गतिमा बगिरहेको बाढीको भेलले मौलापुर नगरपालिका-१ मर्यादपुर नजिक तटबन्ध कटान गर्न थालेपछि स्थानीयवासी त्रासमा छन्। गत केही दिनदेखि कटान गरिरहेको बकैयाको बाढीले नदीको तटबन्धलाई कटान गर्न थालेपछि मर्यादपुर बस्तीलाई जोखिम बढेको छ।

बकैयाले तटबन्ध कटान गरेमा बाढी बस्तीमा प्रवेश गर्दा ठुलो क्षति हुने सम्भावना रहेको स्थानीयको भनाइ छ। मौलापुर नगरपालिकाले विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायलाई नदी कटान रोकी बस्तीलाई जोखिमबाट जोगाउन आग्रह गरेको छ।

केही दिनदेखि परिरहेको पानीमा बागमती, बकैया, लमाहा, चाँदी लगायतका नदी तथा खोलाहरुमा बाढी आएको छ। बाढीले नदी किनारका बस्तीहरुमा त्रास फैलिएको छ। निरन्तर पानी परिरहँदा धान तथा तरकारी बालीलाई क्षति पुग्न थालेको किसानहरुको भनाइ छ।

प्रकाशित: ९ भाद्र २०८० १४:२७ शनिबार