समाज

महिलाको पेटबाट २० किलोको ट्युमर निकालियो

शल्यक्रिया गरी पेटबाट २० किलो ट्युमर निकालिएपछि मोडेल अस्पतालमा उदयपुर मौवासीकी रीता राई सहित चिकित्सक। तस्बिर: नागरिक

काठमाडौं- महिलाको पेटबाट चिकित्सकले २० किलोको ट्युमर निकालेका छन्। बिहीबार काठमाडौं मोडेल अस्पतालमा उदयपुर मौवासीकी ४१  वर्षीया रीता राईको पेटबाट २० किलोको ट्युमर चिकित्सकले निकालेका हुन्।

स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा. गणेश दंगालको नेतृत्वमा डा. हेमा प्रधान, डा. उदय कोइराला, डा. शैलजा खड्का, डा. मिश्मा वज्राचार्य , एनेस्थेसिस्ट डा. रिकल श्रेष्ठ, डा. लुना शर्मा, डा. विप्लव, डा. सुनिता गुरुङसहित १२ जनाको समूहले चार घन्टा लगाएर शल्यक्रिया गरेका थिए।

२० किलोको ट्यमुर झिकिएको नेपालमै पहिलो भएको हुन सक्ने उपचारमा संलग्न डा. दंगालले बताए। ‘हामीले यस्तो पहिलोपटक नै देखेका हौं र सम्भवत नेपालमै पहिलो हुनुपर्छ’, उनले भने।

राईको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. दंगालले बताए। ‘अहिले बिमारीले हल्का महसुस गर्नुभएको छ,’ उनले नागरिकसँग भने । सो ट्युमर राईको पाठेघरको अण्डाशयसँगै जोडिएर पेटमा फैलिएको थियो।

डा. दंगालका अनुसार ट्यमुरमा कतै दाँत जस्तो अंग, कतै रौं पलाएको जस्तो देखिन्छ। शल्यक्रियाका क्रममा चिकित्सकले १२ लिटर जति पिप जस्तो पदार्थ पनि निकालेका थिए।

पेटमा हुर्किरहेको गर्भ जस्तो ट्युमर निकालेपछि राईले स्वस्थ भएको अनुभव गरेकी छन्। ‘अब म पहिलाकै जस्ती भएँ, काम गरी खान सक्छु’, उनले  भनिन्।

राईका अनुसार उनका पति डेढ वर्षदेखि वैदेशिक रोजगारीमा थिए । ट्युमर बढ्दै गएपछि गाउँलेले गर्भवती भएको आशंका गर्नसमेत भ्याए। ‘गाउँलेले गर्भवती छेस् पनि भने, श्रीमान् विदेशमा हुनुहुन्थ्यो कसरी गर्भवती हुनु ?’ उनले भनिन्।

सुरुमा उनले उदयपुर जिल्ला अस्पतालमा उपचार गराइन् । त्यहाँ जचाउँदा पेटमा गर्भ हैन ट्युमर रहेको देखियो। चिकित्सकको सल्लाहमा उनी उपचारार्थ काठमाडौं आइन्।

राईका अनुसार १२ वर्षदेखि उनको नाइटोमुनि सानो गाँठो थियो । त्यो विस्तारै बढ्दै गयो । दुख्ने, पोल्ने नगरे पनि चार महिनायता अस्वाभाविक रूपमा बढेर गर्भवती जस्तै देखिन थालेपछि मात्र उनी उपचारमा लागेकी हुन् ।

 

प्रकाशित: ३० श्रावण २०७४ ०७:३२ सोमबार

महिलाको पेटबाट २० किलोको ट्युमर निकालियो