चितवन—अविरल वर्षापछि ठाउँ ठाउँमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ।
शनिबार दिउँसो २ बजेपछि वर्षात्सँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए। ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए। सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन्।
यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ। डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ।
शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन्। गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले जनाए। तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले उल्लेख गरे। रासस
प्रकाशित: २९ श्रावण २०७४ ०७:११ आइतबार