समाज

पर्सामा १० वर्षयताकै ठूलो बाढी

वीरगन्ज- तिन दिनदेखिको अविरल वर्षाका कारण पर्साका विभिन्न नदीमा आएको बाढीले सयौं घर डुबानमा परेका छन्। 'शुक्रबार रातिसम्म बाढी गाउँमा पुगेको थिएन, शनिबार बिहान झिसमिसेदेखि बढ्दै गएर बिहान आठ बजे बाढी गाउँमा पसेको हो, दर्जनौं घर डुबानमा छन्,' पर्सा, केहुनियाका अजमत मियाँले भने, 'करिब १० वर्षपछि यसरी पानी र बाढी आएको हो।'

वीरगन्ज माहानगरपालिकाका धेरै क्षेत्र सिर्सिया र  सिंगहा नदीको बाढीले डुबानमा परेको छ। बाढीग्रस्त ठाउँको जनजीवन नराम्ररी प्रभावित भएको अमरपट्टीका राजेन्द्र साह कानूले बताए। घरमा पानी पसेपछि सर्वसाधारण विद्यालय र मठमन्दिरमा आश्रय लिन बाध्य छन्।

भलुवाही खोलाको बाढीले जगरनाथपुर गाउँपालिकाको हरपुर टोलका करीब ८५ घर डुबानमा परेका छन्। ठोरीमा झिंगे, सरस्वती, ठुटे र ढेडु खोलाको बाढीले जनजीवन प्रभावित बनेको छ। भेडाहा खोलामा आएको बाढीका कारण बेलवा गाउँपालिकाको बगहीमा दर्जन बढी घर डुबानमा परेका छन्। गंगोल नदीको बाढीले मसिहानी गाउँपालिकाको मदुवाहा टोलका ३ दर्जन घर डुबेका छन्। मसिहानी, झकरा, धर्मपुर, निचुटाको मोटर टोललगायत गाउँबस्तीमा बाढी पसेको छ।

पर्सा जिल्लामा बाढीले पारेको प्रभाव र राहत वितरणका लागि अनुगमन तथा उद्धारका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिको आकास्मिक बैठक बसेको छ। प्रमुख जिल्ला अधिकारी केश्ावराज घिमिरेको अध्यक्षतामा बसेको बैठकले सहायक प्रमुख जिल्ला अधिकारी दुर्गादत्त पौडेलको नेतृत्वमा बाढी प्रभावित क्षेत्रमा स्थलगत अनुगमन टोली खटाउने निर्णय गरेको छ।

प्रकाशित: २९ श्रावण २०७४ ०२:१५ आइतबार

पर्सामा १० वर्षयताकै बाढी