समाज

मुग्लिनमा पहिरो, बाटो बन्द

चितवन- अबिरल वर्षाका कारण ठाउँ ठाउँमा पहिरो जाँदा नारायणगढ मुग्लिन सडकमा पनि गाडी चल्न सकेको छैन। शनिबार दिउँसो दुई बजेदेखि गाडी बन्द भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालले जानकारी दिए। यो सडक राजधानी काठमाडौंलाई पूर्व र पश्चिम नेपालसँग जोड्ने मुख्य मार्ग हो।

                ‘मुग्लिन, सेति दोभन, भालु ढुंगा र चोर खोला भन्ने ठाउँमा पहिरो खसेको छ। पहिरो ठूलो त छैन तर पानी भयङ्कर परेका कारण गाडी खोल्न सकेनौ’ सुचना अधिकारी खनालले भने। नारायणगढ मुग्लिन सडक खण्ड एसियाली मापदण्ड अनुरुपको दुई लेनको बनाउने काम सुरु भएको छ। सडक फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काट्नु परेको छ। पहाड काटेको ठाउँमा पहिरो गएर दुख्ख दिने गरेको छ।

                सडक विस्तारको काम सुरु भएपछि गएको पहिरोमा परेर पाँचजना यात्रुको निधन भएको छ। एकजना यात्रु वेपत्ता छन् । खतरा हुने भएका कारण असार २५ देखि सो सडकमा रातमा गाडी चलाउन रोक लागेको छ। शनिबार पानी पर्न थालेपछि पहिरो गएका कारण बीच बाटोमा रोकिएका गाडीहरुलाई सुरक्षित ठाउँमा राखिएको खनालले जानकारी दिए।

प्रकाशित: २८ श्रावण २०७४ १३:३२ शनिबार

मुग्लिनमा पहिरो बाटो