समाज

रोपवेले किसानलाई सहज

रुकुम (पूर्व)मा ग्राभिटी गुड्स रोपवेले गर्दा किसानलाई आफ्नो उत्पादन बजारमा पुर्‍याउन सहज भएको छ। जिल्लाको भूमे गाउँपालिका-४ र ८ मा बनाइएको रोपवेले स्थानीय किसानलाई सहज बनाएको हो। विगतमा एक डोको तरकारी बिक्री गरेर घर फर्कन एक दिनभरि लाग्ने गरेकामा रोपवेका कारण अचेल किसानको आधाभन्दा बढी समय बचत हुने गरेको छ।

अहिले भूमे-८ कुचिबाङका किसानले आफूले बारीमा उत्पादन गरेको तरकारी रोपवेमार्फत दुई मिनेटमा भूमे-४ को काँडाबगरमा पुर्‍याउँछन्। जुन ठाउँबाट डोकोमा बोकेर काँडा बगरसम्म पुर्‍याउँदा पहिले पैदल तीनदेखि चार घन्टा हिँड्नुपरेको कुचिबाङका किसान धनबहादुर बुढाले बताए।

‘सडक सुविधा छैन, हाम्रो गाउँमा भर्खर ट्रयाकओपन गरिएको छ’, उनले भने, ‘ट्रयाकओपन गरिएको बाटामा गाडी नजाने भएपछि हामीले बिहान खाना खाएर एक डोको तरकारी बोकी पैदल खाबाङ, रुकुमकोट लगायतका ठाउँमा जाने गर्थ्याैं।’ तरकारी बजार पुर्‍याएर फर्कँदा बाटामै झमक्कै रात पर्ने गरेको उनले बताए।

कुचिबाङकै अर्का किसान झलक रोकाले तरकारी प्रशस्त उत्पादन हुने सम्भावना रहँदारहँदै पनि बजार पुर्‍याउन कठिन हुने भएकाले त्यहाँका किसानले तरकारी खेती नगरेको बताए।

कुचिबाङका किसानलाई लक्षित गरेर रोपवे निर्माणको काम सुरु गरेपछि भने त्यहाँका किसानले तरकारी खेती गरेको र अहिले प्रशस्त मात्रामा तरकारी उत्पादन भएको रोकाले बताए।

‘कुचिबाङमा बन्दा, काउली, मुला, काँक्रा प्रशस्त मात्रामा उत्पादन भएको छ’, उनले भने, ‘बारीबाट तरकारी टिपेर प्याक गरी रोपवेमार्फत अचेल दुई मिनेटमा काँडाबगर पुर्‍याउने गरेका छौं।’

काँडाबगरमा पुगेको तरकारी खाबाङ, रुकुमकोट लगायतका ठाउँमा जाने गरेको उनको भनाइ छ। उनीहरू जस्तै भूमे-८ नं वडाका कुचिबाङ, मैबाङ, झिम्का, हाडी लगायतका ठाउँका दुई सय ४२ घरधुरीका किसानलाई रोपवेले आफूले उत्पादन गरेको उपजलाई बजारसम्म पुर्‍याउन निकै राहत मिलेको त्यहाँका स्थानीयले बताएका छन्।

यस्तै मावि कुचिबाङका लेखापाल डिल्ली बुढाक्षेत्रीले विगतका वर्षको बर्खाको समयमा दिवाखाजा कार्यक्रमको सामान बोकेर विद्यालयसम्म पुर्‍याउन मुस्किल हुने गरेको बताउँदै यस वर्ष भने सजिलै रोपवेमार्फत आवश्यक सामान विद्यालयमा पुर्‍याएको बताए।

रुकुम (पूर्व)को भूमे-४ को काँडाबगरबाट भूमे-८ को कुचिबाङसम्म एक हजार एक सय ४४ मिटर लामो रोपवे निर्माण गरिएको छ। युके एडको आर्थिक सहयोग, विकास सरोकार समाज र प्राक्टिकल एक्सनको समन्वयमा ग्राभिटी गुड्स रोपवेको निर्माण गरिएको छ। युके एडको ४३ लाख ३२ हजार तीन सय ९१ रुपैयाँ र बाँकी श्रमदान गरी जम्मा ४८ लाख ६८ हजार छ सय ४७ रुपैयाँ लागतमा रोपवे निर्माण गरिएको हो।

गत वर्ष माघ २३ मा सुरु भएको रोपवे निर्माणको काम गएको वैशाख २९ मा सम्पन्न भएको रोपवे नेपालका प्राविधिक शोभाकान्त काफ्लेले बताए।

प्राक्टिकल एक्शन नेपाल समुन्ति परियोजनाका प्रमुख देवदत्त भट्टले लुम्बिनी प्रदेशमा निर्माण गरेको ग्राभिटी गुड्स रोपवे यो दोस्रो भएको बताए।

पहिलो रोपवे पाल्पामा निर्माण भएको छ। ‘जिरो इनर्जी’मा चल्ने रोपवे निर्माण गर्ने कार्य मात्र ठूलो नभई यसलाई निरन्तर रूपमा सञ्चालन गर्न सक्नु नै ठूलो कुरा भएकाले यसको सञ्चालनलाई निरन्तरता दिन यहाँको स्थानीय सरकार सँगसँगै किसानको महत्त्वपूर्ण भूमिका हुने बताए।

अहिले रोपवेबाट सामान उकाल्दा र ओराल्दा प्रतिकिलोको दुई रुपैयाँ लिने गरिएको छ। यसमा ७५ प्रतिशत अपरेटरलाई र २५ प्रतिशत रोपवेको मर्मतमा खर्च गर्ने गरी निर्णय गरिएको छ। यस रोपवेमा कुचिबाङबाट ९० किलो सामान काँडाबगर ओराल्दा काँडाबगरबाट ३० किलो सामान कुचिबाङ पुग्ने गरेको छ।

सामान लोड गरी उकाल्दा र ओराल्दा काँडाबगर र कुचिबाङमा बस्ने अपरेटरले रोपवेको तारमा लठ्ठीले हान्ने गरेका छन्। एकपटक लठ्ठीले तारमा हान्दा रोक्ने र दुई पटक हान्दा सामान पठाउने सङ्केत रहेको छ।

रोपवे सञ्चालनमा आएसँगै भूमे गाउँपालिकाले कुचिबाङलाई कृषि नमूना गाउँ बनाउने गरी योजना बनाइरहेको भूमे गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए।

रोपवे सञ्चालनका लागि काँडाबगरबाट बजारीय सामान ३० किलोमाथि उकाल्दा अब कुचिबाङवासीले एकपटकमा ९० किलो उत्पादन काँडाबगर झार्न सक्ने कि नसक्ने भन्ने चुनौती थपिएको जनाउँदै अध्यक्ष श्रेष्ठले त्यस चुनौतीलाई सामना गर्ने गरी कृषिमा काम गर्ने बताए।

साथै त्यहाँको उत्पादनलाई बजारीकरणका लागि भूमेमै रहेको मारिङ बहुउद्देश्यीय सहकारी संस्थासँगै अन्य बजारमा सहकार्य गर्ने भूमे गाउँपालिकाले जनाएको छ। जिल्लामै पहिलोपटक रोपवे निर्माण भएपछि किसान उत्साहित भएका छन्।

प्रकाशित: ८ भाद्र २०८० ०५:५१ शुक्रबार

रोपवेले किसानलाई सहज जिल्लामै पहिलोपटक रोपवे निर्माण