समाज

६ किलो सुनसहित एक जना पक्राउ

नुवाकोट- अवैधरुपमा लुकाईछिपाई ल्याएको ६ किलो सुनसहित एक जनालाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ। विदुर नगरपालिका वडा नम्बर १० सिमुटारबाट नुवाकोट प्रहरीले ६ किलो सुनसहित रसुवाको उत्तरगया गाउँपालिकाका दिपक घलेलाई पक्राउ गरेको हो। 

चीनको केरुङबाट राजश्व छलेर मोटरसाइकलको फल्स बटम बनाई लुकाई ल्याएको अवस्थामा ६ किलो सुन भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बिशेष सुराकीको आधारमा चेकजाच गर्दा मोटरसाइकलको तेल ट्याङ्कीमा फल्स बटम बनाई लुकाएको अवस्थामो अवैध ६ किलो सुन भेटिएको हो। बा५५प ८०६७ नम्बरको पल्सर बाइकमा सुन ल्याइँदैछ भन्ने थाहा पाएसँगै बिशेष निगरानी गरी पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक ऋषिराम कंडेलले बताए।

चेकजाचको क्रममा सुरुवातमा सुन नभेटिए पनि फेरि चेकजाच गर्दा  मोटरसाइकलको तेल ट्याङकीमा फल्स बटम बनाएको भेटेपछि त्यसमा नै सुन रहेको पाइएकोले घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ। 
 

प्रकाशित: २८ श्रावण २०७४ १०:०७ शनिबार

किलो सुनसहित जना पक्राउ